प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइन्छ ।
What you should know
काठमाडौँ — गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिन संघर्ष समिति गठन, कैलाली जिल्ला कारागारमा ६ सय ९९ जना कैदीबन्दी, काठमाडौं उपत्यकासहित देशभर मनाइयो गाईजात्रा, गाजामा इजरायली गोलीबाट ३७ जनाको मृत्युदेखि यू–२० वुमेन्स एसियाकप नेपालमाथि उत्तर कोरियाको सजिलो जितसम्मका खबर चर्चामा रहे ।
०००
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सरकारलाई दबाब सिर्जना गर्न सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । नगरपालिकाको पहलमा आइतबार भैरहवामा आयोजित निजी क्षेत्र र संघसंस्थाबीचको छलफलपछि खाँको संयोजकत्वमा ‘गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि संघर्ष समितिु गठन गरिएको हो ।
०००
कैलाली जिल्ला कारागारमा आइतबारदेखि कैदीबन्दीको गणना सुरु भएको छ । गत शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएपछि गणना हुन सकेको थिएन । आइतबारको गणनामा कैदीबन्दीको संख्या ६ सय ९९ जना पाइएको जेलर जालन्धर भुसालले जानकारी दिए । ७ सय कैदीबन्दी रहेको कैलाली कारागारमा शुक्रबार राति एउटा समूहले अर्को समूहलाई सांघातिक आक्रमण गर्दा धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । झडपमा ४८ जना घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ ।
०००
काठमाडौं उपत्यकासहित देशभर आज गाईजात्राको रौनक छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइन्छ । काठमाडौं उपत्यकाका अलवा बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ यो पर्व मनाइन्छ ।
०००
गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार इजरायली गोलीबाट कम्तीमा ३७ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये सहायता लिन पर्खिरहेका ३० नागरिक समावेश छन् । नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले इजरायली सेनाले उत्तरी गाजामा सहायता वितरणका लागि प्रयोग गरिएको सीमा नाका नजिकै भेला भएका मानिसहरूमाथि गोली चलाउँदा १२ जनाको मृत्यु भएको र करिब दुई सय जना घाइते भएको बताए ।
०००
तीनपल्टको विश्व तथा दुईपल्टको एसियाली च्याम्पियन उत्तर कोरिया सन् २०२६ को यू-२० वुमेन्स एसियाकपका लागि छनोट भएको छ । लगातार तेस्रो जितका लागि उसले आइतबार नेपाललाई ११-० ले हराएको हो । भुटानको थिम्पुमा भएको खेलमा उत्तर कोरिया एकपक्षीय रुपमा हाबी रह्यो । यससँगै उसको ९ अंक भयो र समूह ‘ए’ विजेता बन्यो ।
