रुपन्देही-३ उपचुनाव : ०७९ मा कांग्रेस र एमालेलाई गठबन्धनको भर, ०८२ मा रास्वपाको डर

‘कांग्रेस र एमालेले जसले जित्दा पनि केही फरक पर्दैन, तर रास्वपाले जितेमा भने त्यसको प्रत्यक्ष असर ०८४ को चुनावमा पर्ने देखिन्छ ।’

श्रावण २३, २०८२

कुलचन्द्र न्यौपाने, गंगा बीसी

Rupandehi-3 by-election: Congress and UML alliance in 079, fear of RSVP in 082

What you should know

काठमाडौँ — कात्तिक १७ गते हुने रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ को उपनिर्वाचनलाई राजनीतिक दलहरूले ‘मिनी जनमतसंग्रह’का रूपमा हेर्न थालेका छन् । २०८४ सालमा हुने आमनिर्वाचनमा कस्तो परिणाम आउँछ भन्ने उपनिर्वाचनले नै संकेत दिने दाबी दलहरूले गर्न थालेका छन् । यस निर्वाचनलाई मूलतः सत्तारुढ कांग्रेस, एमाले र  प्रतिपक्षी रास्वपाले प्रतिष्ठाको विषयसमेत बनाएका छन् । 

सत्तारुढ कांग्रेस र एमाले मात्रै होइन, विपक्षी दलहरूबीचमा पनि यस निर्वाचनमा तालमेलको सम्भावना न्यून देखिएको छ । यसै कारण पनि दलहरू आफ्नो प्रभाव र जनमत परीक्षण गर्ने अवसरका रूपमा उपयोग गर्न रणनीतिका साथ आन्तरिक मोर्चाबन्दीमा जुटेका छन् । राप्रपाका सांसद दीपक बोहोराको निधनका कारण यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । ०७९ को निर्वाचनमा एमालेको समर्थनमा बोहोराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए । बहालवाला गृहमन्त्री खाँणलाई हराउनु चानचुने कुरा थिएन । 

अघिल्लो पटक कांग्रेस नेतृत्वमा माओवादीसहितका पाँच राजनीतिक दलको गठबन्धन थियो भने एमाले नेतृत्वमा उपेन्द्र यादव नेतृत्वको जसपा र राप्रपासहितको जिल्ला र निर्वाचन क्षेत्रअनुसारको गठबन्धन बनेको थियो । प्रत्यक्षतर्फ भने रास्वपाले उम्मेदवार उठाएको थिएन । 

एमालेसँगको गठबन्धनमा राप्रपाका बोहराले निर्वाचन जिते पनि विगतमा यस क्षेत्रका मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै देखिएका छन् । संगठनभन्दा पनि व्यक्तिको प्रभाव र गठबन्धनको बलले राप्रपा नेता बोहोराले ७० र ०७९ को निर्वाचन जितेका थिए । त्यसबाहेकका निर्वाचनमा कांग्रेस र एमालेले आलोपालो जित्दै आएका छन्।

सत्तारुढ कांग्रेसले हालसम्म औपचारिक रूपमा उम्मेदवारको घोषणा गरिसकेको छैन । तर, कांग्रेसभित्र प्रमोद यादव, रामचन्द्र ढकाल, सुशील गुरुङलगायतका नेताहरूको नाम आकांक्षीका रूपमा चर्चामा छन् । उम्मेदवार छनोट गर्नुअघि केन्द्रबाटै नेताहरू निर्वाचन क्षेत्र पुगेर आम मतदाताको मनोविज्ञान बुझेर फर्किएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा र पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायतका नेताहरू निर्वाचन क्षेत्रका नागरिकसँगको जनमत बुझेर केही दिनअघि फर्किएका हुन् ।

प्रचार विभाग प्रमुख विश्वकर्माले नयाँ अनुहारलाई उम्मेदवार बनाउने प्रयास भइरहेको बताए । ‘हामी जनआकांक्षाअनुसार नयाँ, लोकप्रिय र चुनाव जित्न सक्ने उम्मेदवार ल्याउने तयारीमा छौं,’ उनले भने,‘यो उपनिर्वाचनलाई ०८४ कै जनमतका रूपमा त हेरेका छैनौं तर यो एउटा सिटले देशभरको वर्तमान अवस्थाको जनलहर कता छ भन्ने कुराको संकेत गर्ने भएकाले कांग्रेसले यसलाई प्रतिष्ठाको विषय बनाएको छ ।’

एमालेले अनौपचारिक तहमा राष्ट्रिय सभाका पूर्वसांसद खिमलाल भट्टराईलाई उम्मेदवार बनाउन खोजेको छ । तर, घोषणा भएको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई रुपन्देही-३ को उपनिर्वाचनका लागि तयारी गर्न निर्देशन नै दिएको एमाले नेताहरू बताउँछन् । ‘रुपन्देही-३ मा खिमलाल भट्टराईलाई तयारी गर्न भनिएको छ,’ एमालेका एक नेताले भने, ‘औपचारिक निर्णय गर्न अझै केही समय बाँकी नै छ ।’

भट्टराई २०७८ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा केन्द्रबाट रुपेन्देही-५ मा भट्टराई र वासुदेव घिमिरेलेलाई टिकट दिइएको थियो । भट्टराई राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार हुन गएका थिए ।

एमालेले सुरुमा घिमिरेलाई टिकट दिए पनि अन्तिम समयमा भट्टराईलाई आधिकारिक उम्मेदवार बनाएको थियो ।  घिमिरेले भट्टराईभन्दा अघि उम्मेदवारी दर्ता गराएकाले आयोगले उनको उम्मेदवारीलाई मान्यता दिएको थियो । घिमिरे रुपन्देही-५ बाट निर्वाचित भएका थिए ।

एमाले सचिव एवं लुम्बिनी इन्चार्ज पद्मा अर्यालले रुपन्देही-३ को उम्मेदवारका लागि नाम सिफारिस गर्न जिल्लामा ‘सर्कुलर’ जारी गरिएको बताइन् । ‘तीन जनाको नाम सिफारिस गर्न पत्र पठाएको छ,’ उनले भनिन्, ‘जिल्लाबाट सिफारिस आएपछि उम्मेदवारको टुंगो लाग्छ ।’

माओवादीले भने आगामी पदाधिकारी बैठकले मात्रै उम्मेदवारीको विषय टुंगो लगाउने बताएको छ । समाजवादी मोर्चा (माओवादी, एकीकृत समाजवादी, नेकपा ) को साझा उम्मेदवार बनाउने कि माओवादीको एक्लै बनाउने विषयमा अनौपचारिक छलफल जारी छ । ‘अबको पदाधिकारी बैठकमा रुपन्देही-३ को उपनिर्वाचनसम्बन्धी छलफल हुन्छ,’ माओवादी उपाध्यक्ष अग्नि सापकोटाले भने,‘साझा उम्मेदवार उठाउने कि माओवादी एक्लै भन्ने त्यसबेला छलफल होला ।’ विगतको निर्वाचन परिणाम हेर्दा माओवादी चौथो स्थानमा आएको छ ।

वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले रुपेन्देही-३ को उपनिर्वाचनलाई ०८४ को निर्वाचनको 'जनमतसंग्रह'का रूपमा हेरेको छ । अहिले पार्टीका अधिकांश नेताहरूको मुख्य ध्यान नै उपनिर्वाचनतिर मोडिएको छ । रास्वपाले साउन ५ गते उम्मेदवार आह्वान गरी खुला प्रतिस्पर्धा गराएको थियो । सो आह्वानमा ९ जनाले नाम दर्ता गरेका छन् । उम्मेदवारी दाबी प्रस्तुत गर्नेमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन् । उम्मेदवार छनोट प्रक्रिया रास्वपाले पारदर्शी बनाउँदै पार्टीभित्र प्रतिस्पर्धात्मक अभ्यासलाई बढावा दिन खोजेको छ ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले आकांक्षी ९ जना उम्मेदवारहरूबीचमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार छनोट गरिने बताए । अघिल्लो निर्वाचनमा प्राप्त समानुपातिक मतले रास्वपा यस क्षेत्रका तेस्रो शक्ति देखिएको थियो  । ०७९ को निर्वाचनमा प्राप्त समानुपातिक मतको हिसाबले कांग्रेस पहिलो, एमाले दोस्रो र रास्वपा तेस्रो शक्तिका रूपमा देखिएका छन् । कांग्रेसले २० हजार २ सय ७८, एमालेले १६ हजार ९ सय ८६, रास्वपाले १४ हजार १ सय ५४ र राप्रपाले ९ हजार १ सय ८३ मत ल्याएका थिए ।

‘पक्कै पनि यो निर्वाचनले ०८४ को जनलहर कता जाँदैछ भन्ने मार्गनिर्देशन गर्छ, त्यसैले पनि सबै पार्टीलाई जस्तै हामीलाई पनि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ,’ रास्वपा नेता पराजुलीले भने । उनले रास्वपाले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए । रास्वपाले उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपीनकुमार आचार्यलाई दिइसकेको छ ।

समानुपातिक मतलाई आधार मान्ने हो भने कांग्रेस, एमाले र रास्वपा नै यस क्षेत्रका मुख्य शक्ति हुन् । सत्ता सहकार्यमै रहेका कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् तर उनीहरुका लागि रास्वपा नै मुख्य चुनौती बनिरहेको छ । ‘कांग्रेस र एमालेले जसले जित्दा पनि केही फरक पर्दैन, तर रास्वपाले जितेमा भने त्यसको प्रत्यक्ष असर ०८४ को चुनावमा पर्ने देखिन्छ,’ कांग्रेसका अर्का एक नेताले भने,‘सत्तामा रहेका दुवै दलका लागि मुख्य चुनौती नै रास्वपा हो ।’

राप्रपाले भने दीपक बोहराकै दुई छोराहरू क्याप्टेन गौरव बोहरा र इन्जिनियर प्रज्वल बोहरासहित ६ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै राप्रपाले जिल्ला अध्यक्ष तथा पूर्वनगरप्रमुख सागरप्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही,  सदस्य स्वाती थापा र अधिवक्ता दिलीपकुमार मल्लिकको नाम पनि सिफारिस गरेको छ । 

अघिल्लो चुनावमा राप्रपाका नेता बोहोराले कांग्रेसका शक्तिशाली नेता खाँणलाई २ हजार ६ सय ८१ मतले पराजित गरेका थिए । बोहराले ३६ हजार ७ सय १७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत पाएका थिए । रुपन्देही–३ भौगोलिक, सामाजिक र राजनीतिक हिसाबले विविधता बोकेको क्षेत्र हो । तराईको भूगोल, मधेशी र पहाडीमिश्रित जनसांख्यिक संरचना र पुराना दलहरूको संगठनात्मक गढको हिसाबले यो उपनिर्वाचनलाई  नेपालकै प्रतिनिधिमूलक जनमतका रूपमा हेर्न सकिने एमालेका अर्का एक नेताले भने । ‘यही कारणले राजनीतिक दलहरूले यस उपनिर्वाचनलाई ०८४ मा हुने चुनावको सर्वेक्षणका रूपमा हेरेका छन्,’ उनले भने,‘रुपन्देही-३ मा हुन लागेको यो उपनिर्वाचन परम्परागत मतको गणित मात्र नभएर जनआकांक्षाको संकेत पत्ता लगाउने अवसर पनि हो ।’

अघिल्लो चुनाव जितेको राप्रपाले मधेशकेन्द्रित दल र अरु साना क्षेत्रीय दलहरूसँग मोर्चाबन्दी गर्ने प्रयास गरिरहेको छ । मधेशबाट नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले पनि कसैसँग गठबन्धन नगर्ने घोषणा गरेको छ । आफ्नो पार्टीप्रतिको जनआकांक्षा बुझ्नका लागि पनि उसले गठबन्धनमा नजाने निर्णय लिएको हो । राउतले रुपन्देहीको उपनिर्वाचन मात्रै नभएर आगामी ०८४ को आम निर्वाचनमा समेत मेचीदेखि महाकालीसम्म एकल रूपमा उम्मेदवार दिने योजना रहेको बताए ।

‘०७९ को चुनाव र त्यसपछिको उपनिर्वाचनमा पनि कांग्रेस वा एमालेको गठबन्धनमा सामेल भई चुनाव लड्दा जनमत पार्टी एक्लै नै चुनाव लडदै आएको छ र गठबन्धनको अनुभव छैन,’  उनले भने,‘जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन र अधिकार तथा पहिचानको आन्दोलनमा खडा नै छ तर यो चुनावी मोर्चा होइन भनेर हामीले घोषणा गरी प्रस्ट भन्दै आएका हौं ।’ 

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

गंगा

Link copied successfully