सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएको घटनाको विरोध गरिरहेका प्रदर्शनकारीमाथि बुधबार दिउँसो अश्रुग्यास प्रहार भएको छ ।
What you should know
काठमाडौँ — दलहरूको मूल्यांकन, सञ्चालन र रेखदेख निर्वाचन आयोगका कर्मचारीले गर्ने !, विश्व व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्नु हुँदैन : प्रधानमन्त्री, सप्तरीमा प्रहरीको गोली लागी एक जनाको मृत्यु, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार, उत्तरकाशी पहिरो : भारतीय सेनाका ९ जवान बेपत्तादेखि एनपीएलको अक्सनमा १५० खेलाडी छनोटसम्मका खबर आज चर्चामा रहे ।
०००००
राजनीतिक दलहरूलाई मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्न निर्वाचन आयोगले सचिवको नेतृत्वमा समिति गठन गर्ने प्रावधान अगाडि सारेको छ । ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ मा राजनीतिक दलहरूलाई मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्नका लागि आयोगका सचिवको संयोजकत्वमा समिति गठन हुने व्यवस्था गरिएको छ ।
०००००
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिएका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत आज ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउन्ड टेबल’को सहअध्यक्षता गर्दै उनले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिए ।
०००००
सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएको घटनाको विरोध गरिरहेका प्रदर्शनकारीमाथि बुधबार दिउँसो अश्रुग्यास प्रहार भएको छ । मंगलबार राति तस्करी रोक्न त्यहाँ पुगेका प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले तीन राउन्ड गोली चलाएको थियो । गोली लागेर अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएपछि बुधबार बिहानैदेखि आफन्त र स्थानीयले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
०००००
उत्तराखण्डको उत्तरकाशीमा मंगलबार बादल फाट्दा आएको भीषण पहिरोमा परी भारतीय सेनाका ९ जवान बेपत्ता भएका छन् । भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवले बीबीसीसँग कुरा गर्दै धरालीको खीर गंगा नदीमा आएको विनाशकारी लेदोमा परी भारतीय सेनाका ९ जवान बेपत्ता भएका हुन् । भारतीय सेना उद्धार कार्यमा सक्रिय रहेको उनको भनाइ छ ।
०००००
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग सिजन २ का लागि १५० खेलाडी अक्सनमा छनोट भएका छन् । क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार साउन २४ गते हुने अक्सनमा १५० जना खेलाडी छनोट गरिएको हो । खेलाडी दर्ता प्रक्रियामा ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । ती मध्येबाट नेपाल क्रिकेट संघको प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार १५० जनालाई अक्सनका लागि छनोट गरिएको हो ।
