एक वर्षअघि बाढीले भत्काएको बीपी राजमार्ग बनाउन जापानसँग २.६१ अर्ब अनुदान सहायता लिने

भकुण्डेबेंसीदेखि नेपालथोकसम्मको ३०.५ किमि सडक दुई लेनमा निर्माण गर्न तीन प्याकेजमा ठेक्का सम्झौता सम्पन्न भएको छ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Taking 2.61 billion grant aid from Japan to build the BP highway which was destroyed by flood a year ago

काठमाडौँ — एक वर्षअघि बाढीले भत्काएको बीपी राजमार्ग बनाउन जापानसँग सरकारले २.८ अर्ब येन(२ अर्ब ६१ करोड नेपाली रुपैयाँ) अनुदान सहायता लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले भत्काएको बीपी राजमार्गको सिन्धुली खण्ड बनाउनका लागि जापानसँग अनुदान सहायता लिने निर्णय गरेको हो । 

२०८१ असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइसकिएको छ । भकुण्डेबेंसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमिमा दुई लेन सडक निर्माण गर्न लागिएको हो । अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । 

दुवै ठेक्काको सम्झौता गत असारमा भएको र सम्झौता भएको मितिले दुई वर्षभित्र काम सकिसक्नुपर्ने सडक विभागले जनाएको छ । यही राजमार्गको ५ किमि खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने भनेर विभागले यसबाहेकको खण्डमा मात्र ठेक्का आह्वान गरेको थियो ।

पछि जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक बनाउन तयार भएको हो, जुन खण्डको अहिले जाइकामार्फत फाइनल सर्भेको काम भइरहेको छ । उक्त खण्ड जापान सरकारको अनुदानमा बन्न लागेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully