बीपी राजमार्गको २५ किलोमिटरमा लाग्यो ठेक्का, ३.२ किमि खण्ड बनाउँदै जाइका

सम्झौता भइसकेको २५ किमि खण्डमा ठेक्का लिने निर्माण कम्पनीले बर्खाभर सडक सुधारको काम गर्ने

श्रावण ११, २०८२

विमल खतिवडा

Contract awarded for 25 km of BP highway, 3.2 km section under construction

What you should know

काठमाडौँ — २०८१ असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ । भकुण्डेबेंसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमिमा दुई लेन सडक निर्माण गर्न लागिएको हो । अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । 

भकुण्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डमा ठेक्का सम्झौता भइसकेको छ । उक्त खण्डको ठेक्का लामा–नव कान्तिपुर जेभीले लिएका हुन् । जुन खण्डमा भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँमा सम्झौता भएको हो । चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको छ । 

दुवै ठेक्काको सम्झौता गत असारमा भएको र सम्झौता भएको मितिले दुई वर्षभित्र काम सकिसक्नुपर्ने सडक विभागले जनाएको छ । यही राजमार्गको ५ किमि खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने भनेर विभागले यसबाहेकको खण्डमा मात्र ठेक्का आह्वान गरेको थियो । पछि जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक बनाउन तयार भएको हो, जुन खण्डको अहिले जाइकामार्फत फाइनल सर्भेको काम भइरहेको छ । उक्त खण्ड जापान सरकारको अनुदानमा बन्न लागेको हो । 

जापानको २ अर्ब ६३ करोड रुपैयाँ (नेपाली रुपैयाँ) अनुदान सहयोगमा बनाउन लागिएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । ‘हामीले निर्माण थालेको सडक कालोपत्र हुने बेलासम्म जापानले गर्ने खण्ड सन् २०२७ जुलाईसम्म एउटै तहको बनाई सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाउन भनेका छौं,’ उनले भने, ‘त्यसपछि लगत्तै उक्त खण्डको कालोपत्र हुनेछ ।’ 

बीपी राजमार्ग अहिले ‘इन्टरमिडिएट’ लेनको छ । अब भने दुई लेनको बनाइने अर्यालको भनाइ छ । काम सुरु हुनुअघि जाइकासँग निर्माण सम्झौता हुने उनले सुनाए । ठेक्का आह्वान जापानले नै गर्नेछ । त्यस्तै यही खण्डमा पर्ने पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का भइसकेकाले सम्झौता हुने प्रक्रियामा छ । ठेक्का सम्झौता भएको खण्डमा निर्माणको जिम्मा लिएका व्यवसायी परिचालित भइसकेको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले जनाए । 

बर्खेखोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । जुन खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएका हुन् । भ्याटबाहेक ५५ करोड रुपैयाँमा असार दोस्रो सातामा ठेक्का सम्झौता भएको हो । जापानले गर्ने खण्डमा सन् २०२५ अन्तिमसम्म निर्माणका लागि सम्झौता भइसक्ने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले बताए । 

‘ठेक्का भएको खण्डमा निर्माणको जिम्मा लिने कम्पनीका प्रतिनिधि फिल्डमा गइसकेका छन्, जसले जुन खण्डको ठेक्का लिएका छन्, त्यस खण्डमा बाढी बर्खामा समस्या हुन नदिने गरी अस्थायी रूपमा काम सुरु गरीसकेका छन्,’ उनले भने, ‘कामदार र मेसिन परिचालन गर्न लगाइसकिएको छ ।’ अहिले २५ किमि खण्डमा बाढी बर्खाले सडक अवरोध भए ठेक्का लिने कम्पनीले नै मर्मत सम्भारको काम गरी सडक खुलाउनेछन् । 

‘बर्खापछि मात्र डिजाइनअनुसारको काम हुनेछ,’ उनले भने, ‘बर्खाको बेला सडक अवरोध हुन नदिने गरी मात्र काम हुनेछ ।’ बर्खा कम भएपछि भदौ अन्तिमबाट मात्र स्थायी निर्माणको काम सुरु हुने उनले सुनाए । ‘निर्माण व्यवसायीलाई परिचालन गरिसकेका छौं,’ उनले भने, ‘हामीले समन्वय मात्र गर्छौं, एक–एक जना इन्जिनियर र सव इन्जिनियर बर्खाभर फिल्डमै बस्ने व्यवस्था मिलाएका छौं ।’ 

३० किलोमिटर खण्डमै दुई लेनको स्ट्यान्डर्डअनुसार सडक निर्माण गरिनेछ । बीपी राजमार्गको स्थायी निर्माण र मर्मत गर्नलाई गत असोजमा बर्खालगत्तै सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको थियो । यसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएको हो ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully