गत आर्थिक वर्षमा १३ करोड रुपैयाँ विनियोजन भए पनि स्वास्थ्य सेवा विभागले समयमा खरिद गर्न नसक्दा देशभर भ्याक्सिन अभाव
What you should know
काठमाडौं/पर्सा/चितवन — सरकारले समयमै खरिद गर्न नसक्दा कुकुर, बिरालोलगायत जनावरबाट टोकेका बिरामीलाई दिइने रेबिजविरुद्धको ‘भ्याक्सिन’ अभाव भएको छ । सरकारले निःशुल्क दिने यो भ्याक्सिन लगाउन काठमाडौं उपत्यकामा बिरामीले सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमै पुग्नुपरेको छ । अन्य जिल्लामा पनि आवश्यक मात्रमा भ्याक्सिन आपूर्ति हुन सकेको छैन ।
टेकु अस्पतालमा कुकुर, बिरालोलगायत जनावरले टोकेपछि उपचार गराउन आउनेको संख्या बढ्दो छ । अस्पतालको तथ्यांकअनुसार गत जेठमा कुकुरलगायत जनावरको टोकाइबाट घाइते भएर १४ हजार ८ सय १४ जनाले एन्टिरेबिज भ्याक्सिन लगाए । भ्याक्सिन लगाउने संख्या असारमा बढेर १७ हजार १ सय ९४ जना पुगेको छ । दैनिक सरदर ५ सयदेखि ५ सय ५० जनासम्म उपचार गराउन आउने गरेको टेकु अस्पतालको तथ्यांक छ । अस्पतालका अनुसार कुकुरले टोकेर परामर्श लिनकै लागि मात्र दैनिक १० देखि १५ जना आउने गरेका छन् ।
कुकुरलगायत जनावरको टोकाइबाट घाइते हुनेको संख्या बढ्दो भएका बेला जिल्ला र प्रादेशिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रलगायत मुलुकभरका स्वास्थ्य संस्थामा एन्टिरेबिज भ्याक्सिनको अभाव देखिएको छ । भक्तपुर सूर्यविनायक नगरपालिकी अस्मिता थापा अघिल्लो बिहीबार छोरालाई कुकुरले टोकेपछि एन्टिरेबिज भ्याक्सिन लगाउन भक्तपुर जिल्ला अस्पताल पुगिन् । त्यहाँ पनि नपाएपछि टेकु अस्पताल पुगेकी थिइन् । ‘यसअघि भ्याक्सिन लगाउनुपरेमा जिल्ला वा नगर अस्पताल गए पुग्थ्यो,’ उनले भनिन्, ‘अहिले सास्ती भोग्नुपर्यो ।’
भक्तपुर अस्पतालका निमित्त निर्देशक डा.सुरेन्द्रप्रसाद भट्टले स्वास्थ्य सेवा विभागले पछिल्लो समय पर्याप्त मात्रामा एन्टिरेबिज भ्याक्सिन नपठाउँदा अभाव भएको बताए । ‘कुकुरलगायत जनावरको टोकाइबाट दैनिक ३–४ जना उपचार गराउन आउनेछन्,’ उनले भने, ‘सबैलाई टेकु अस्पताल रेफर गरिरहेका छौं ।’
चितवनस्थित भरतपुर अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन लगाउन दैनिक १ सय ८० देखि २ सय जना आउने गरेका छन् । अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट (मेसु) डा.कृष्णप्रसाद पौडेलका अनुसार पछिल्ला दिन अस्पतालमा रेबिजविरुद्ध भ्याक्सिन अभाव भइरहेको छ । अस्पतालमा हालै ४ सय भाइल भ्याक्सिन आपूर्ति भएको पौडेलले बताए । उनले विभागबाट आपूर्ति भएका बेला निःशुल्क लगाइदिने र नआएको बेला व्यक्तिले किनेर ल्याउने गरेको जानकारी दिए ।
चितवन जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीले स्थानीय तहअन्तर्गतका स्वास्थ्य केन्द्रमा पठाउन तत्कालका लागि रेबिजविरुद्धको २ सय ४० भाइल भ्याक्सिन व्यवस्थापन गरेको बताए । ‘केही समयभित्रै प्रदेशबाट थप आउने सम्भावना छ । अहिले ठूलो समस्या परिहालेको छैन,’ उनले भने । यस्तै, मधेश प्रदेशको वीरगन्जस्थित नारायणी अस्पतालमा दैनिक १०/१५ जना कुकुरले टोकेका बिरामी रोबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् । असार दोस्रो सातादेखि रेबिज भ्याक्सिन सकिएपछि बिरामीले निजी फार्मेसीबाट किनेर लगाइरहेका छन् । यो अस्पतालले वार्षिक २२ सय जनासम्मलाई रेबिजविरुद्धको खोप दिइरहेको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए ।
एन्टिरेबिज भ्याक्सिन खरिद गर्न गत आर्थिक वर्षमा १३ करोड रुपैयाँ विनियोजन भए पनि स्वास्थ्य सेवा विभागले समयमा खरिद गर्न नसक्दा देशभर भ्याक्सिनको अभाव भएको हो । विभागले यसअघि गत फागुनमा भ्याक्सिन खरिदका लागि गरेको टेन्डर रद्द भएको थियो । विभागका अधिकारीहरूका अनुसार आपूर्तिकर्ताहरूको मिलेमतोमा एउटै मात्र कम्पनीले लागत मूल्यभन्दा बढाएर टेन्डर हाल्दा रद्द गर्नुपरेको थियो ।
विभागले फेरि एन्टिरेबिज भ्याक्सिन खरिद गर्न इन्डियन इम्युनोलोजिकल्स कम्पनीसँग गत २१ जेठमा सम्झौता गरेको छ । सम्झौताअनुसार कम्पनीले ९० दिनभित्र भ्याक्सिन उपलब्ध गराउन ३ असारमा प्रतीत पत्र (लेटर अफ क्रेडिट) प्राप्त गरेको थियो । हालसम्म कम्पनीले ०.५ एमएलको ६० हजार भाइलमात्र उपलब्ध गराएको छ । सम्झौताअनुसार कम्पनीले १ एमएलको ९० हजार भाइल र ०.५ एमएलको १ लाख ७४ हजार भाइल भ्याक्सिन उपलब्ध गराउनुपर्नेछ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा.पवनजंग रायमाझीले रेबिज भ्याक्सिन जिल्लामा पुर्याउने फ्रिज जडित भ्यान एउटा मात्र भएकाले जिल्लामा आपूर्ति गर्न ढिलाइ भएको बताए । ‘अहिले पश्चिमी क्षेत्रका जिल्लातिर भ्याक्सिन पठाएका छौं । त्यसपछि पूर्वमा पठाउँछौं,’ उनले भने, ‘सप्लायर्स कम्पनीलाई भ्याक्सिन चाँडै उपलब्ध गराउन पत्राचार गरेका छौं ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कुकुर, बिरालो तथा अन्य जनावरको टोकाइबाट लाग्ने प्राणघातक रोग रेबिजबाट वार्षिक १ सय जनाभन्दा बढीको मृत्यु हुने गरेको छ । देशभर वार्षिक करिब ३ लाख जना कुकुरलगायत जनावरको टोकाइबाट प्रभावित हुने गरेका छन् । सरकारले सन् २०३० सम्म रेबिजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले कुकुरलगायत जनावरले टोकेमा प्रायःले उपचारमा लापरबाही गर्ने गरेको बताए । ‘अस्पतालमा कुकुरलगायत जनावरले टोकेको ४ देखि ७ महिनाको बीचमा मात्र आउँछन् । रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्ने ठाउँमा टीटी खोप लगाउँछन्,’ उनले भने, ‘रेबिजले मांसपेशी हुँदै गिदीमा पुगेपछि लक्षण देखा पर्छ ।’
