आज देश-दुनियाँमा के-के भयो ? 

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

What you should know

काठमाडौँ — सरकारी कर्मचारीहरू मनसुन अवधिमा अत्यावश्यक काममाबाहेक बिदा बस्न नपाइने, भण्डारीलाई एमाले केन्द्रीय सदस्यहरूले भने – पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुस्, असारमा मात्र देशभर झन्डै ३ हजार सवारी दुर्घटना, २ सयभन्दा बढीको मृत्यु, कालीगण्डकी करिडोरको पिपलडाँडा–गैंडाकोट र रानीमहल–अर्गली सडक हस्तान्तरणदेखि बंगलादेशको स्कुलमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्योसम्मका खबर आज चर्चामा रहे । 

०००००

हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद्‌ व्यवस्थापनका लागि संयन्त्रहरू परिचालन गर्दै विपद्भरि कर्मचारीहरू अत्यावश्यक कामबाहेक अरू बेला बिदामा नबस्ने निर्णय गरेको छ। मन्त्रालय तथा निकाय, सुरक्षा निकाय, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय, रेडक्रस अभियान तथा गैरसरकारी र सामुदायिक संस्थाहरूले आवश्यक पूर्वतयारी तथा खोज, उद्धार र राहतका कार्यहरू गृह मन्त्रालय तथा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्रभावकारी ढंगले गर्ने व्यवस्था मिलाउने निर्णय भएको हो । 

०००००

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कन नहुने धारणा पार्टीका केन्द्रीय कमिटीका नेताहरूले राखेको जानकारी दिएका छन्। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले यस्तो बताएका हुन् । 

०००००

नेपाल प्रहरीका अनुसार असार महिनामा मात्र देशभर २ हजार ९२२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ४ हजार ४२८ सवारीसाधन संलग्न रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार ती दुर्घटनामा परेर २ सय ३९ जनाको मृत्यु भएको छ भने ४ हजार ११६ जना घाइते भएका छन्। तीमध्ये गम्भीर घाइतेको सङ्ख्या ६२५ रहेको जनाइएको छ । 

०००००

कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक योजना पाल्पाअन्तर्गत पिपलडाँडा–गैंडाकोट र रानीमहल–अर्गली सडकखण्ड सडक डिभिजनलाई हस्तान्तरण गरिएको छ । करिडोर योजना कार्यालयका प्रमुख कल्पना अधिकारी सुवेदीका अनुसार आर्थिक वर्ष २०८२र८३ बाट पिपलडाँडा–गैडाकोटअन्तर्गत सडक डिभिजन पाल्पा र भरतपुरलाई आ–आफ्नो क्षेत्र हस्तान्तरण गरिएको हो ।  

०००००

बंगलादेशको एक स्कुलमा प्रशिक्षण लडाकु जेट दुर्घटना हुँदा २५ बालबालिका र अन्य दुई जनासहित २७ जनाको मृत्यु भएपछि मंगलबार परिवारहरू र शिक्षकहरू भेला भएका छन् । यो दशकौँको सबैभन्दा घातक विमान दुर्घटना हो । चिनमा निर्मित एफ–७ बिजेआई विमान माइलस्टोन स्कुल एन्ड कलेजमा खसेको बेला अधिकांश पीडित विद्यार्थीहरू भर्खरै कक्षाबाट बाहिर निस्किएका थिए । 

कान्तिपुर

Link copied successfully