राष्ट्रिय राजमार्गको सञ्जालमा जोडियो पिपलडाँडा–गैंडाकोट
What you should know
पाल्पा — कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक योजना पाल्पाअन्तर्गत पिपलडाँडा–गैंडाकोट र रानीमहल–अर्गली सडकखण्ड सडक डिभिजनलाई हस्तान्तरण गरिएको छ ।
करिडोर योजना कार्यालयका प्रमुख कल्पना अधिकारी सुवेदीका अनुसार आर्थिक वर्ष २०८२/८३ बाट पिपलडाँडा–गैडाकोटअन्तर्गत सडक डिभिजन पाल्पा र भरतपुरलाई आ–आफ्नो क्षेत्र हस्तान्तरण गरिएको हो । कालिगण्डकी करिडोर सडक योजना पाल्पाअन्तर्गत सडक डिभिजन पाल्पामा ६७.९३ किलोमिटर सडक हस्तान्तरण गरिएको छ । यसैगरी ७७.९७ किलोमिटर सडक डिभिजन भरतपुरमा हस्तान्तरण गरिएको छ । पिपलडाँडादेखि रामपुर हुँदै गैंडोकोटसम्मको दुरी १३१.७ किलोमिटर कालोपत्र भएको छ । १४.२ किलोमिटर रानीमहल–अर्गलीसमेत सडक डिभिजन पाल्पालाई हस्तान्तरण गरिएको छ ।
यससँगै कालिगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) को करिब ६० प्रतिशत सडक खण्डको हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको कालीगण्डकी करिडोर सडक आयोजनाका सूचना अधिकारी अरुण खत्रीले बताए । यस खण्डको सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी इकेके इन्फ्राइस्ट्रक्चरले ठेक्का लिएको थियो । जसको कुल लागत साढे ५ अर्ब ५२ करोड ९४ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
भारत सरकारको एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा कालोपत्र गर्ने कार्य भएको हो । २०७५ मा सुरु भएको यो सडक निर्माण व्यवसायीले आर्थिक वर्ष २०८०/८१ सालमा सकेको हो । त्रुटि सच्चाउने अवधि सकिएपछि २०८१ को फागुनको अन्तिममा हस्तान्तरण गरेको थियो । गैंडाकोट–राम्दी पिपलडाँडा सडक खण्डका विभिन्न ८ स्थानमा गरी दुई हजार दुई सय मिटर खण्डमा पहिरो र निर्माणाधीन पुलका कारण कालोपत्रको काम गर्न बाँकी छ । यही खण्डमा ठूला पाँच र साना तीन पहिरो रहेकाले यहाँ पहिरो रोकथामसँगै कालोपत्र हुन नसकेको हो । यस खण्डकै पूर्व नवलपरासीमा चार वटा पुल निर्माणाधीन रहेको छ ।
रानीमहल–अर्गलीको कुरुङखोला (गाईघाट) पुल निर्माणको काम बाँकी छ । तीन स्थानमा पहिरोग्रस्त क्षेत्र छ । निर्माण कम्पनी सडक कालोपत्र गर्ने काम सम्पन्न गरेर एक वर्षको मर्मत समयपछि सो सडकखण्ड सडक डिभिजनलाई हस्तान्तरण गरेको उनले बताए । सडकमा ट्राफिक संकेतअन्तर्गत साइनबोर्ड, जेब्रा क्रसिङ, सडक बोर्ड मार्किङ राख्नेलगायत सबै काम मापदण्डअनुसार सम्पन्न गरेको छ । पाल्पा खण्डकै राम्दीदेखि रानीमहलसम्मको १७ किलोमिटर सडक भने निर्माणाधीन छ ।
