What you should know
काठमाडौँ — सोमबार इकान्तिपुरमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमाले अध्यक्षले राष्ट्रपतिको गरिमा सम्झाएको विषयदेखि ढाकामा बंगलादेशी सेनाको विमान दुर्घटनासम्मका खबर छापिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको गरिमा सम्झाएको बताएका छन् । आइतबार भण्डारीसँगको भेटबारे पार्टी केन्द्रीय कमिटी बैठकमा सोमबार बोल्दै उनले राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेको जानकारी गराए ।
000
त्यस्तै ‘गोप्य घुस डिल’मा मुछिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि डाकेको छ । मालपोत र भूमि आयोगका अधिकारीलाई हातमा लिएर पोखराको बाटुलेचौरस्थित लिची बगैंचाको जग्गा हत्याउन गरिएको सेटिङको अडियो गत साता सार्वजनिक भएको थियो ।
000
त्यस्तै बाढीले भत्काएको रसुवा भन्सार क्षेत्रका भौतिक संरचना चीनले बनाइदिने भएको छ । सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा उक्त सम्झौता भएको हो । सिड्काका अध्यक्ष चेनले भौतिक संरचनाहरूको पुनःर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए ।
000
त्यस्तै अश्लील, अपाच्य र सांस्कृतिक मर्यादाविपरीत रहेको भन्दै उजुरी परेपछि ६ वटा लोकगीतहरुबारे साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले अमर्यादित, अश्लील, द्विअर्थी र सांस्कृतिक मर्यादाविपरीत रहेका ‘अपाच्य गीत’विरूद्ध नेपाल प्रहरीको साइबर ब्युरो पुगेर २९ असारमा उजुरी दिएका थिए ।
000
त्यस्तै आजको अन्तर्राष्ट्रिय खबरमा बंगालादेशी सेनाको जेट विमान दुर्घटनाबारे छ । बंगलादेशको राजधानी ढाकामा बंगलादेशी वायु सेनाको एफ-सेभेन जेट विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन क्याम्पस परिसरमा बंगलादेशी सेनाको जेट विमान खसेको हो ।
बंगलादेशी सञ्चार माध्यम द डेली स्टारका अनुसार दुर्घटनामा कम्तीमा १ सय ६४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार दिउँसो १:०६ मा उडेको उक्त विमान साढे १ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा उक्त विमानका पाइलट फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम सागरको समेत मृत्यु भएको छ ।
