What you should know
काठमाडौँ — अश्लिल, अपाच्य र सांस्कृतिक मर्यादाविपरीत रहेको उजुरीपछि ६ वटा लोकगीतहरुबारे साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले अमर्यादित, अश्लील, द्विअर्थी र सांस्कृतिक मर्यादाविपरीत रहेका ‘अपाच्य गीत’विरूद्ध नेपाल प्रहरीको साइबर ब्यूरो पुगेर २९ असारमा उजुरी दिएका थिए ।
प्रतिष्ठानले पाँच र सञ्चारकर्मी नेपालले तीन गीतबारे उजुरी दर्ता गरेमा दुई गीत दुवै संस्थाले उजुरी गरेको सूचीमा दोहोरिएका छन् । प्रतिष्ठानले उजुरी गरेका गीत भने सार्वजनिक गरिएको छैन । ‘गाई कालो’, ‘सल्ला दमारमा’, ‘लुकी लुकी’ गीतविरुद्ध राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले उजुरी दिएका गीत हुन् ।
प्रतिष्ठानको टिमले गीत संगीतमा देखिएको विकृतिबारे गृह मन्त्रालय पुगेर गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै त्यस्ता गीतलाई प्रतिबन्ध लगाउन आग्रह गरेको थियो । त्यस क्रममा गृहमन्त्री लेखकले अपाच्य गीतमा सरकारले कडाइ गर्ने जनाएका थिए ।
गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति हेर्न प्रहरीको साइबर ब्यूरोमा छुट्टै फोकल पर्सन तोक्न समेत निर्देशन दिएका थिए । उनले गीतमा अश्लिलता, अपमानजनक व्यवहार, घृणा फैलाउने अभिव्यक्तिहरू भए त्यसमा साइबर ब्यूरोले एक्सन लिने प्रतिबद्धता जनाएका थिए ।
त्यस्ता गीतका बारेमा गृहमन्त्रीले साइबर ब्यूरोमा जानकारी गराउन आग्रह गरेपछि दुवै संस्था त्यस्ता गीतको नाम र ल्याउने कलाकारहरूको विवरणसहित कारबाहीका लागि निवेदन बोकेर साइबर ब्यूरो पुगेका हुन् ।
‘हामीले नेपालको कानुन अनुसार उजुरीको आधारमा अनुसन्धान सुरु गरेका छौं,’ साइबर ब्यूरोका सूचना अधिकृत प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने,‘उजुरीपछि केही गीत आफ्नो अफिसियल च्यानलमा सच्चाइएका छन् भने केही हटाइएको भन्ने बुझिएको छ ।’
प्रहरीले उजुरीपछि कसैलाई पनि पक्राउ गरेको छैन । यद्यपि अनुसन्धान पछि ब्यूरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत कसूरमा कारबाही अघि बढाउने अवस्थीले बताए । एक प्रहरी अधिकृतका अनुसार अनुसन्धान पछि त्यस्ता ‘अपाच्य गीत’ विरूद्ध साइबर ब्यूरोले मुद्दा नै चलाउने तयारी गरिरहेको छ ।
