राजनीतिकर्मी र अध्यापक पनि बेपत्ता
What you should know
चितवन, विराटनगर — काठमाडौंका विभिन्न क्याम्पसमा पढाइरहेका तीर्थराज घिमिरेले निजामती कर्मचारीको प्रथम श्रेणीको पद सहसचिवमा नाम निकाले । नियुक्तिपत्र बुझेर कार्यालय जान सुरु गरेपछि तीर्थमात्रै हैन, उनको परिवार र आफन्त सबै खुसी भए । तर यो खुसी लामो समय कायम रहेन । सरकारी सेवामा लागेको पाँच महिना नपुग्दै तीर्थ कार्यालयबाट घर नफर्केको एक दशक हुँदै छ ।
चितवन सदरमुकाम भरतपुरबाट १० किलोमिटर दक्षिण पश्चिममा पर्छ, पटिहानी ब्रह्मपुरी गाउँ । भरतपुर–माडी–ठोरी हुलाकी सडकबाट थोरै भित्र लागेपछि आउँछ, ब्रह्मपुरीका मधुविलास घिमिरे र तीलकुमारी घिमिरेको घर । मधुविलास र तीलकुमारीका एक्ला सन्तान हुन् तीर्थराज । कोही नयाँ मान्छे घर ताकेर आउँदा यी दम्पतीलाई लाग्छ ‘छोरो पो आयो कि ! या छोराको खबर बोकेर पो कोही आयो कि !’
७६ वर्षका मधुविलास पीडा पोख्छन्, ‘यत्रो समय भयो, कि छोरो आउनुपर्ने या छोराको अवस्थाबारे खबर आउनुपर्ने तर केही आएन ।’ ६६ वर्षीया तीलकुमारीले आँगन काटेर पर नगएको कति भयो कति । ‘बाहिरफेर गए सबैले आ–आफ्ना सन्तानका कुरा झिक्छन्, मलाई झलक्क छोरो याद आउँछ । त्यसैले घरबाट बाहिर जान पनि छाडेकी छु, माइतसमेत कमै जान्छु,’ उनले भनिन् ।
चितवनमै स्नातक सकेपछि थप अध्ययनका लागि काठमाडौं गएका तीर्थराजले वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेपछि क्याम्पस पढाउन सुरु गरेका थिए । २०३२ मंसिर १५ मा जन्मेका तीर्थले खुला प्रतिस्पर्धामा लोक सेवाबाट सहसचिवमा नाम निकालेपछि २०७१ चैतदेखि सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको ललितपुरस्थित जावलाखेलमा रहेको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा काम सुरु गरेका थिए ।
काठमाडौं गएपछि चितवनमा भएका बाआमासँग फोनमार्फत हरदिन कुरा गर्थे । ‘राति सुत्नुअघि सधैं फोन हुन्थ्यो । २०७२ भदौ १६ को साँझ पनि मज्जैले कुरा भएको हो । तर भोलिपल्टबाट कुरा हुन पाएन, त्यसपछि अहिलेसम्म छोराको बोली सुन्ने आशा लिएर बसेका छौं,’ मधुविलासले भने ।
२०७२ भदौ १७ को बिहान तीर्थ श्रीमती राधासँगै कार्यालयकै गाडीमा ललितपुरको चुनीखेलस्थित घरबाट निस्केका थिए । राधा पाटनको एक विद्यालयमा पढाउँछिन् । तीर्थ कार्यालय अगाडि झरे, राधालाई त्यही गाडीले अलि परसम्म छाड्ने भयो ।
तीर्थ गाडीबाट झरेर फटाफट कार्यालयको गेटतर्फ लागेको राधाले अन्तिम पटक देखेकी हुन् । कार्यालय समय सकिएपछि साँझ साढे ५/६ बजेसम्म तीर्थ घर आइपुग्थे । तर त्यस दिन ८ बजिसक्दा पनि उनी नआएपछि राधाको मनमा चिसो पस्यो र सोधीखोजी सुरु गर्न थालिन् । तर त्यो खोजी एक दशक बित्दा पनि सकिएको भने छैन ।
राधाका अनुसार प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा योजना महाशाखाको जिम्मेवारीमा थिए, तीर्थ । उनलाई एकाउन्ट र फाइनान्सको जिम्मेवारी पनि थपियो । ‘जुन दिनदेखि हराउनुभयो, त्यसै दिनदेखि चेकमा उहाँको पनि हस्ताक्षर चल्ने भन्ने थियो,’ राधाले भनिन् । गाडीबाट झरेर कार्यालयतर्फ जाँदै गरेको देखेकी राधाले पछि थाहा पाइन्, तीर्थ त्यस दिन कार्यालय नै छिरेका रहेनछन् । ‘त्यही गेट आडको एउटा सानो पसलमा मोबाइल फोनको रिचार्ज कार्ड किनेको तर कार्यालय गएको भेटिएन । त्यस दिन हाजिर गरेको पनि पाइएन,’ तीर्थका ठूलो बुबाका छोरा सोमनाथ घिमिरेले भने ।
लमजुङ साइँलीटारबाट मधुविलासको परिवार चितवन ब्रह्मपुरीमा झरेको हो । मूल पेसा किसानी भएका मधुविलास जजमानीको काम पनि गर्छन् । लमजुङमै जन्मेका तीर्थ चितवन आउँदा दुई वर्षका थिए । हुर्केपछि तीर्थले ब्रह्मपुरीमै कक्षा ५ सम्म पढे । त्यसपछि पटिहानीको अमर माविबाट एसएलसी परीक्षा पहिलो श्रेणीमा उत्तीर्ण गरे ।
भरतपुर वीरेन्द्र क्याम्पसमा विज्ञान विषय पढ्न थाल्दा तीर्थ बिरामी परे । त्यसपछि उनी विज्ञान छाडेर नारायणगढको बालकुमारी कलेजमा व्यवस्थापन संकायमा भर्ना भए । बालकुमारीबाट स्नातक सकेपछि काठमाडौं कीर्तिपुरबाट स्नातकोत्तर गरे ।
‘हामी सामान्य किसान परिवार, छोरालाई दुःख गरेरै पढाएको हो । पढाइ पनि राम्रो थियो । छोराले पनि दुःख गरेरै पढ्यो । पछि क्याम्पसमा पढाउन सुरु गर्यो । सबै कुरा राम्रो हुँदै गइरहेको थियो,’ मधुविलासले भने, ‘सरकारी जागिर खाने रहर पनि उनको थियो ।’
चितवन, ब्रह्मपुरीस्थित घरमा छोराको पर्खाइमा रहेका तीर्थका बाआमा ।तस्बिर : रमेशकुमार/कान्तिपुर
खुला प्रतिस्पर्धाबाट सहसचिवमै नाम निक्लँदा सबै हर्षित भए । ‘क्याम्पस पढाउँदा राम्रै थियो । चुनीखेलमा घर पनि किनेको थियो । अवसर पाइन्छ भने सरकारी सेवा गर्छु, आफ्नो क्षमता देशका लागि लगाउन पाइन्छ भन्ने गर्थ्यो । देशकै लागि भनेर सरकारी सेवा रोजेको हो,’ मधुविलासले भने । यस्तो सोच बोकेको छोरा एकाएक घर नफर्केको सुन्दा उनी छाँगाबाट खसेझैं भए ।
छोराको खोजीमा मधुविलास १६ दिन काठमाडौं बसे । त्यो बेला देशमा संविधान जारी गर्ने तयारी चल्दै थियो । मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दीले धेरै खाले समस्यासँग सरकार जुँधिरहेको थियो । त्यस्तो बेलामा पनि उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर छोरा खोजिदिन अनुनय–विनय गरे ।
कोइरालाले पनि प्रहरी प्रमुखलाई तदारुकताका साथ काम गर्न निर्देशन दिएका थिए । तर उनी भेटिएनन् । हराएको दुई/चार दिनपछि उनको मोबाइल फोन ‘स्विच अन’ भएको र लोकेसन चितवन दासढुंगा देखायो । त्यसपछि दासढुंगा वरपर खोजी गरियो । मधुविलास हरखबर सुन्न मुटु दह्रो बनाएर बसेका थिए तर खबर केही आएन ।
एउटा सामान्य मान्छेले गर्ने हरप्रयास मधुविलासले जारी राखे । ‘एक्लो सन्तानको १० वर्षसम्म अत्तोपत्तो नहुँदा हामी आमाबाबुलाई कस्तो भएको होला ? बुहारीलाई उस्तै पीडा र दुःख छ । छोरो हराउँदा नातिहरू मात्र १२ र १० वर्षका थिए,’ मधुविलासले भने, ‘आँखाको नानी हो हाम्रो छोरो । साथीभाइ, इष्टमित्र सबै चिन्तित छन् ।’
यसरी कसैलाई खबरै नगरी एकाएक हराउनुपर्ने वा कतै लुक्नुपर्ने कारण आफूले नदेखेको मधुविलास बताउँछन् । ‘मेरो मात्र छोरो होइन, सरकारको उच्च तहको कर्मचारी पनि हो नि । उसको अवस्थाबारे सरकारले पनि सोधीखोजी गर्नुपर्ने हो जस्तो लाग्छ । यत्रो समय बित्दा पनि केही खबर नपाउँदा पीर बढेको छ तर एकदिन आउँछ भन्ने आशा जीवितै छ,’ मधुविलासले लामो श्वास फेरेर भने ।
परिवारले यतिबेला फेरि घटनाका बारेमा खोजी गर्न प्रहरीलाई गुहारेका छन् । ‘प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई खोज्न भनेका छौं,’ राधाले भनिन् । नातामा दाइ पर्ने तीर्थका ठूलो बुबाका छोरा सोमनाथ घिमिरेले सीआईबीले प्रविधिको सहयोग लिएर घटनाक्रमको विश्लेषण गर्ने बचन दिएका कारण आशावादी बनेको बताए ।
यसबीचमा तीर्थका बारेका केही सूचना पनि आएका छन् । ती सूचनाका आधार विश्लेषण गरेमा तथ्यमा पुगिन्थ्यो कि भन्ने आशा लागेको सोमनाथले बताए । सीआईबीका सूचना अधिकारी एसपी युवराज खड्काले पुरानो फाइल अध्ययन गरेर घटनाको प्रकृति केलाइरहेको बताए ।
२०७५ पुस ३ को बिहान । बाक्लो हुस्सुले झापाको मौसम एकाएक चिसिएको थियो । मेचीनगर–१० धुलाबारीका दीपक भण्डारी त्यो दिन पनि सधैंझैं घरबाट निस्किए, करिब बिहान १० बजेतिर । धुलाबारीमै रहेको हिमालयन कलेज, जुन भण्डारीकै लगानीमा सञ्चालित छ । उनी प्रायः सधैंजसो बिहान कलेज पुग्थे । राजनीतिमा पनि सक्रिय उनी साथीभाइहरूसँग गफिन रुचाउँथे । केही समय गफमा बिताउँथे अनि फर्किन्थे । तर त्यो दिनदेखि उनी अहिलेसम्म फर्किएका छैनन् ।
साँझसम्म भण्डारी घर नफर्किएपछि उनका भाइ प्रकाशले खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाए । स्थानीय टोलबासी, नातागोता हुँदै प्रहरी कार्यालयसम्म उनको बेपत्ताको खबर पुर्याइयो । अझ हैरान पार्ने कुरा के थियो भने, दीपकले दैनिक प्रयोग गर्दै आएको बाइक र मोबाइल फोन दुवै घरमै छाडेका थिए । यस्तो अस्वाभाविक व्यवहारले परिवारमा झनै चिन्ता बढायो ।
भोलिपल्ट बिहानसम्म सम्पर्कमा नआएपछि उनी हराएको खबर जिल्लाभरि फैलियो । नगरस्तरका नेता एकाएक बेपत्ता भएपछि प्रहरी प्रशासनले तत्कालै खोजीमा सक्रियता बढायो । सीमावर्ती क्षेत्रको निगरानी कडा पारियो । काँकडभिट्टा र आसपासका पूर्वी सीमामा राखिएका सीसीटीभी फुटेज जाँच गरियो ।
त्यहीबेला एउटा आश्चर्यजनक दृश्य क्यामरामा कैद भएको पुष्टि भयो । बेपत्ता भएका भण्डारी भारततर्फ जाने एक रिक्सामा चढिरहेका देखिए । भारत गएको पुष्टि भएपछि प्रहरीले भारतीय सुरक्षा निकायसँग समन्वय गर्दै खोजी कार्य थप तीव्र बनायो ।
सिलिगुडी, दार्जिलिङ, सिक्किमदेखि असम, मेघालय हुँदै दिल्ली–मुम्बईसम्मका स्थानमा उनको खोजी गर्दा पनि फेला परेनन् । भण्डारी बेपत्ता भएको साढे सात वर्ष बितिसकेको छ । पार्टी नेतृत्वमा कर्मठ कार्यकर्ता, सामाजिक वृत्तमा जिम्मेवार व्यक्तित्वका रूपमा चिनिएका भण्डारी अचानक बेपत्ता हुनु गहिरो रहस्य बनेको छ । ‘कहाँ हुनुहुन्छ ? हामी बेखबर छौं,’ श्रीमती गीता भण्डारी भन्छिन्, ‘धेरै खोजी गरियो, सबै उपाय अपनायौं, तर पत्ता लगाउन सकिएको छैन ।’
भिडियो फुटेजमा भण्डारी भारततर्फ हिँडेको स्पष्ट देखिए पनि उनी किन र कहाँ पुगे ? भन्ने प्रश्न अझै अनुत्तरित छ । उनले न परिवारलाई केही जानकारी दिएका थिए, न पार्टीलाई नै । पारिवारिक वा राजनीतिक रूपमा भारत जाने कुनै पूर्वसूचना नदिइएको कारण यो घटना अझै गम्भीर र रहस्यमय बनिरहेको छ ।
मोबाइल र बाइकजस्तो दैनिक प्रयोग हुने सामग्री घरमै छाड्नु, रिक्सामा सवार भएर जानुजस्ता व्यवहारले घटनालाई झनै जटिल बनाएको छ । प्रहरी स्रोतका अनुसार भारतको सीमावर्ती क्षेत्र सिलिगुडी, दार्जिलिङ, सिक्किम आसपासमा खोजी कार्य अझै जारी छ । तर, सात वर्ष बितिसक्दा पनि ठोस सुराक फेला पर्न नसक्दा भने परिवार निराश छ ।
१९ असार २०८१ । बिहान ४:१८ बजे । डा. राम्जी तिम्सिनाले आफ्नो फेसबुक एकाउन्टमा एक रहस्यमय स्टाटस लेखे ‘बराहक्षेत्रमा जलसमाधि लिँदै छु, अलबिदा !’ स्टाटस पोस्ट्याएपछि बिहान साढे ४ बजे आसपासमा घरबाट सुटुक्क निस्किएपछि उनलाई कसैले देखेको छैन । प्राध्यापन पेसा सँगै साहित्य क्षेत्रमा खोज अनुसन्धान र समालोचनामा विशिष्ट स्थान बनाइसकेका इटहरी निवासी तिम्सिना बेपत्ता भएको घटना पनि रहस्यमयी नै बन्यो ।
सुनसरी प्रहरीले घटनालाई गम्भीरताका साथ अनुसन्धान गर्दा तिम्सिनाको अन्तिम मोबाइल लोकेसन बराहक्षेत्र आसपासमै देखियो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी र परिवार उनले फेसबुक स्टाटसमा लेखेझैं जलसमाधि लिएको हुन सक्ने निष्कर्षमा पुगे । तर, अझै पनि उनी फर्किएर आउलान् कि भन्ने आशा भने परिवारसँग जीवितै छ ।
उनको कोठाबाट प्रहरीले फेला पारेको एउटा चिर्कटोमा पनि ‘जलसमाधि लिँदै छु’ उल्लेख थियो । डा. तिम्सिना इटहरीस्थित कोशी कलेज र धरानको महेन्द्र क्याम्पसमा अंग्रेजी विषय अध्यापन गर्दै आएका थिए । उनी वास्तवमै बराहक्षेत्रको किनारमा पुगेका हुन् ? कि त्यो एउटा संकेत मात्रै थियो ? उनले किन त्यस्तो निर्णय रोजे ? यी प्रश्न भने अझै अनुत्तरित नै छन् ।
