काठमाडौँ — १८ वर्ष मुनिका किशोरीको डिम्ब संकलन गरेको आरोपमा बबरमहलस्थित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । यो घटनामा तीन चिकित्सकसहित पाँच जना अनुसन्धानमा तानिएका छन् ।
सीआइबीको पछिल्लो अनुसन्धानले के नेपालमा सञ्चालित आइभीएफ सेवा प्रदायकहरुले शुक्रकिट र महिलाको डिम्ब (अण्डा) को संकलन कानुनी नियमनमा रहेर गरिरहेका छन् कि छैनन् भन्ने प्रश्न उब्जाइदिएको छ ।
आइभीएफ अर्थात् पुरुषको शुक्रकिट र महिलाको डिम्ब (अण्डा) लाई शरीरको बाहिर निकालेर प्रयोगशालामा निसेचन गर्ने प्रक्रियासम्बन्धी व्यवस्थित कानुनको अभावमा अहिले भइरहेका अभ्यासहरुसमेत तानिन सक्ने विज्ञहरु बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन शाखा प्रमुख उपसचिव गोपीकृष्ण रेग्मीले डिम्ब र शुक्रकिट संकलनसम्बन्धी कानुन नै नभएको बताए । 'आइभीएफ सेवाहरु संचालनमा त छन् तर यी हचुवाको भरमा चलेको रहेछ,’ उनले भने, ‘यस विषयमा त हामीसँग कुनै पनि कानुन छैन । नीति निर्माणको अभ्यासको क्रममा भने हामी छौं ।'
जनस्वास्थ्य नियमावली, २०७७ को दफा ७ को २४ मा विशिष्टीकृत सेवाका रूपमा टेस्टट्युब बेबी वा आईभीएफ सेन्टर मापदण्ड उल्लेख छ । त्यसमा सेन्टर सञ्चालनका लागि के मापदण्ड चाहिन्छ भन्ने पनि उल्लेख गरिएको छ । तर शुक्रकिट र महिलाको डिम्ब (अण्डा) को संकलन र कारोबारका विषयमा यसमा समेटिएका छैनन् । प्रहरीका एक अनुसन्धान अधिकारीले फितलो कानुन र कमजोर नियमनका कारण धेरै आइभीएफ सेन्टरहरुले शुक्रकिट र महिलाको डिम्ब (अण्डा) को संकलनमा चुकेको हुनसक्ने बताए ।
सीआईबीले अनुसन्धान थालेको पछिल्लो अनुसन्धान भने नाबालक किशोरीहरुको डिम्ब संकलनमा किन गरियो र त्यसको कारोवार के काममा भइरहेको छ भन्नेमा बढी केन्द्रीत देखिन्छ । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापथलीका निर्देशक एवम् बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.श्रीप्रसाद अधिकारीले नेपालमा महिलाको डिम्ब दान वा बेचबिखन सम्बन्धी कानून नभएको बताए । 'शुक्रक्रिट दान गर्न सकिने भनेर मौलिक हकमा लेखिएपनि महिलाको डिम्बको विषयमा हाम्रो देशमा कानुन बनेको छैन,’ डाक्टर अधिकारीले भने,‘अन्तराष्ट्रिय नियम कानुन अनुसार पनि हामीले सेवा लेन देन गर्न सकिएपनि बालिकाको प्रयोग भने गर्नु हुँदैन् ।'
उनले भारतको उदाहरण दिदै त्यहाँ २१ वर्ष पुगीसकेका र सन्तान भएकाले मात्रै सहमतीमा डिम्ब दिनसक्ने व्यवस्था रहेको बताए । 'महिलाबाट डिम्ब लिने कुरा जोखिमपुर्ण कुरा पनि हो । उनीहरुलाई औषधी खुवाएर, अप्रेशन कोठामा नै लगेर बेहोस् बनाएर डिम्ब संकलन हुन्छ’, डाक्टर अधिकारीले भने,‘ अप्रेशनको क्रममा पिसाब थैली वा दिशा घरमै प्वाल पर्न पनि सक्छ र रगत बग्न सक्छ । पछि संक्रमण हुन सक्छ । डिम्ब उत्पादन क्षमता नै घट्न पनि सक्छ ।’ डा.अधिकारीका अनुसार पुरुषको हकमा खासै समस्या नभएपनि महिलाको हकमा डिम्ब दिने कुरामा उमेर एकदमै महत्वपूर्ण हुन्छ ।
भारतमा सहायक प्रजनन प्रौद्योगिकी (विनियमन) अधिनियम, २०२१ र सरोगेसी (विनियमन) अधिनियम, २०२१ जस्तो कानून ल्याएर आइभीएम सेवाका अलवा शुक्रकिट र महिलाको डिम्ब (अण्डा) को संकलन जस्ता कुराहरुलाइ व्यवस्थित गरिएको छ ।
होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिमाथीको अनुसन्धानमा प्रहरीले बालबालिकाविरुद्धको कसुरमा पनि अनुसन्धान गरेको छ । सीआईबीले अनुसन्धानका लागि डा. अश्मि अधिकारी, डा. स्वस्ती शर्मा, डा. मालिना चौधरीसहित जस्टिना प्रधान र अलिसा वलीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई हाजिरीजमानीमा छाडेर सीआईबीले अनुसन्धान गरिरहेको छ ।
सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले भने, 'निसन्तान दम्पतीलाई बच्चा जन्माउन सहयोग गर्ने नाममा किशोरीहरूको शरीरलाई प्रयोगशाला बनाएको भेटिएपछि हामीले अनुसन्धान सुरु गरेका हौं ।' सीआइबी स्रोतका अनुसार डिम्ब (अण्डा) संकलनका लागि किशोरीहरुलाइ प्रलोभनमा पारिएको थियो र किशोरीहरूमध्ये एक जनालाई १० र अर्कोलाई १५ हजार रुपैयाँ दिइएको थियो ।
