५ हेलिकोप्टरबाट सिमकोट—हिल्सामा दिनहुँ ७५ पटकसम्म उडान
सुर्खेत /सिन्धुपाल्चोक — हुम्ला हुँदै कैलाश मानसरोवर तीर्थयात्रा गर्न जाने भारतीय पर्यटकलाई ओसार्न जहाज र हेलिकोप्टरलाई भ्याइनभ्याइ छ । शुक्रबार झन्डै ७ सय तीर्थयात्री हुम्लाको हिल्सा हुँदै मानसरोवर–कैलाश दर्शनका लागि गएका छन् भने शनिबार र आइतबार करिब ६ सय तीर्थयात्री हुम्लाको सिमकोट पुगेका छन् ।
तीर्थयात्रीको चाप बढेपछि आइतबार नेपालगन्जबाट सिमकोट विमानस्थलमा तारा, सीता र समिट एयरलाइन्सका जहाजले २० उडान भरेका छन् । शनिबार ५१ र शुक्रबार ८२ उडान भएको थियो । सिमकोट विमानस्थलमा ५ वटा हेलिकोप्टर पनि तयारी अवस्थामा छन् । एउटा हेलिकोप्टरले दिनमा १५ वटासम्म उडान भरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबारसम्म ६ सय २२ महिला र ६ सय ४९ पुरुष गरी १ हजार २ सय ७१ जना भारतीय तीर्थयात्रीले चीनको कैलाश मानसरोवर दर्शन गरेका छन् । शनिबार र आइतबार झन्डै १ हजार ३ सय तीर्थयात्री भित्रिएका छन् । अन्य मुलुकका ७० महिला र ७९ पुरुष मानसरोवर पुगेका छन् । भारतीय तीर्थयात्रीका कारण होटल व्यवसायी, पर्यटन व्यवसायी र सामान बोक्ने भरियालाई समेत भ्याइनभ्याइ छ ।
कोरोना महामारीका कारण चैत २०७७ देखि बन्द भएको कैलाश मानसरोवर यात्रा फेरि सुरु भएको हो । दुई वर्षअघि चीनले हिल्सा नाका खोले पनि मानसरोवर प्रवेशको अनुमति खुला गरेको थिएन । ‘कोरोनाका कारण झन्डै चार वर्ष हुम्लाको पर्यटन व्यवसाय ठप्प भयो,’ पर्यटन व्यवसायी मिम लामाले भने, ‘अहिले दिनमा दुई सयदेखि एक हजार जनासम्म तीर्थयात्री हुम्ला आइरहेका छन् ।’
जहाज र हेलिकोप्टरको उडान बढ्दा हवाई ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार विमानस्थलमा ६ वटासम्म मात्र जहाज पार्किङ गर्न सकिन्छ । ‘एक जना एयर ट्राफिक कन्ट्रोलरका भरमा धेरै उडानको अनुमति दिनु परिरहेको छ,’ उनले भने, ‘साँघुरो टर्मिनल भवनमा यात्रुलाई पर्खाएर राख्न समस्या भइरहेको छ । खानेपानी, शौचालय, वाईफाई सबैको समस्या भएको छ ।’
भारतीय तीर्थयात्रीको चाप बढेपछि हेलिकोप्टर व्यवस्थापनमा पनि समस्या भइरहेको सिम्रिक एयरलाइन्सका प्रबन्धक कमल गौतमले बताए । ‘सडकको अवस्था राम्रो नभएकाले सबै तीर्थयात्री हेलिकोप्टरमा जान खोज्छन् तर एकपल्टमा चार जना मात्र जान मिल्छ,’ उनले भने, ‘मौसममा बदली भइरहँदा पनि उडानमा केही अप्ठेरो भयो ।’ उनका अनुसार तीर्थयात्री चीन सीमाको हिल्सासम्म पुग्छन् र त्यहाँबाट गाडीमा मानसरोवर पुग्ने गरेका छन् । केही तीर्थयात्री भने गाडीबाट ६ घण्टाको यात्रा गरी हिल्सा पुग्छन् ।
सिमकोटस्थित विजय होटलका सञ्चालक विजय लामाले दिनमा ७० जनासम्म पर्यटक आफ्नो होटलमा बसिरहेको बताए । ‘अबको तीन सातासम्म होटलका सबै कोठा बुक भइसकेका छन्,’ उनले भने, ‘सिमकोटमा एक रात बास बसेपछि तीर्थयात्री हिल्सा हुँदै मानसरोवर जाने गरेका छन् र फर्किएपछि थप एक रात सिमकोट बस्ने गरेका छन् ।’ उनका अनुसार तीर्थयात्रीका कारण सिमकोटका झन्डै दुई दर्जन र चीन सीमास्थित हिल्साका ३५ होटल भरिभराउ छन् ।
कोरोना महामारीका कारण चीनले कैलाश मानसरोवर तीर्थयात्रा निषेध गरेपछि पर्यटन व्यवसायीले केही समय नेपाली भूमि नाम्खा गाउँपालिकास्थित लाप्चाबाट दूरदर्शनको व्यवस्था मिलाएका थिए । केही समय ‘माउन्टेन फ्लाइट’ मार्फत पनि भारतीयले मानसरोवरको दर्शन गरेका थिए । त्यस क्रममा ७ सय ८१ भारतीय तीर्थयात्री र ४ सय ८९ विदेशी पर्यटकले लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गरेका थिए भने ३ सय ५० जनाले माउन्टेन फ्लाइट गरेका थिए । यो वर्ष सबैभन्दा बढी भारतका तामिलनाडु, केरल र कर्नाटकका तीर्थयात्रीले ‘प्याकेज बुक’ गराएको पर्यटन व्यवसायी साङ्गे लामाले जानकारी दिए । तीर्थयात्रीले कोसेलीका रूपमा ओखर, सिमी, भाँगोलगायत स्थानीय उत्पादन लैजाने गरेकाले कृषि उपजले पनि मूल्य र बजार पाइरहेको उनले जानकारी दिए । होटल व्यवसायीले भारतीयका लागि एक रातको बसाइ र खानासहित प्रतियात्रु दुई हजार पाँच सयको प्याकेज बनाएका छन् ।
कोरोना महामारीका कारण लामो समयदेखि बन्द भएको हुम्लाको पर्यटन व्यवसायले बल्ल गति लिएको नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले बताए । ‘अहिले हिल्साका होटल भरिभराउ छन्, तीर्थयात्रीका कारण स्थानीय उत्पादनले बजार पाएको छ,’ उनले भने, ‘स्थानीयले भरिया र टुरिस्ट गाइडको काम गरिरहेका छन् ।’ उनका अनुसार सिमकोट र नाम्खा गाउँपालिकाले पर्यटकबाट १ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ । त्यसमा ६० प्रतिशत सिमकोट र ४० प्रतिशत नाम्खा गाउँपालिकाका लागि जम्मा हुन्छ ।
मानसरोवर हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो । प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म मानसरोवर–कैलाश दर्शनको समय हो । लामो समयपछि कैलाश दर्शनका लागि आउन पाउँदा खुसी लागेको भारतीय तीर्थयात्रीको भनाइ छ । ‘लामो प्रतीक्षापछि मानसरोवरको दर्शन गर्न पाइयो,’ मुम्बईबाट आएका कैलाश पटेलले भने, ‘जीवनमा एकपल्ट कैलाश दर्शन गर्ने धोको थियो, पूरा भयो ।’ उत्तरप्रदेशबाट आएका गोविन्द गुप्ताले पनि मानसरोवर दर्शनबाट सन्तुष्टि मिलेको बताए । ‘लामो समयदेखिको धोको पूरा भयो, स्थानीयको माया र स्वागतले पनि सन्तुष्टि मिल्यो,’ उनले भने । गुप्ताका अनुसार केरुङ भएरभन्दा हिल्सा भएर आवतजावत गर्न छोटो र सहज छ ।
भारतीय तीर्थयात्रीका कारण नेपालगन्जका होटल पनि भरिभराउ छन् । नेपालगन्जका विभिन्न होटलमा झन्डै ६ सय पर्यटक बसिरहेको पर्यटन व्यवसायी तेन्जिङ नोर्बुले जानकारी दिए । उनका अनुसार करिब तीन साताका लागि नेपालगन्जका ठूला होटल बुकिङ भइसकेका छन् । यो वर्ष करिब ६ हजार तीर्थयात्री मानसरोवर दर्शनका लागि आउने उनले जानकारी दिए ।
भारतीय तीर्थयात्रीले सन् २००६ देखि हिल्सा मार्ग प्रयोग गर्दै आएका थिए । २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द हुँदा हिल्सा भएर मानसरोवर यात्रा गर्नेको संख्या ह्वात्तै बढेको थियो । कोरोना महामारीसम्म झन्डै ४ वर्षको अवधिमा १८ हजार भारतीय तीर्थयात्रीले मानसरोवर दर्शन गरेको जिल्ला प्रशासन हुम्लाको तथ्यांक छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले तीर्थयात्रीका लागि सुरक्षाको व्यवस्था मजबुत बनाइएको जानकारी दिए ।
तातोपानीबाट फर्कंदै तीर्थयात्री
बाढीका कारण रसुवागढी नाकाबाट चीन जाने मार्ग बन्द भएपछि कैलाश मानसरोवर दर्शन गरेर फर्किरहेका तीर्थयात्री तातोपानी नाकाबाट नेपाल भित्रिन थालेका छन् । रसुवागढी नाकाबाट असारको सुरुतिर चीन प्रवेश गरेका तीर्थयात्रीले मंगलबारको बाढीबाट टिमुरे–केरुङ सडक सम्पर्क विच्छेद भएपछि वैकल्पिक बाटो प्रयोग गर्न थालेका हुन् । तातोपानी कोदारी अध्यागमन कार्यालयका अनुसार शनिबारसम्म झन्डै पाँच सय तीर्थयात्री नेपाल फर्किएका छन् । ‘अहिले दिनमा ७० भन्दा बढी पर्यटक मानसरोवरबाट फर्किरहेका छन् । उनीहरू सुरुमा हेलिकोप्टरबाट फर्केका थिए भने अहिले सवारीसाधनमार्फत काठमाडौं गइरहेका छन्,’ इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख जगतबहादुर राईले भने ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले अमेरिका, क्यानडा, आयरल्यान्ड, मलेसिया र सिंगापुरका नागरिकताधारी गैरआवासीय भारतीय तातोपानी भएर फर्केको जानकारी दिए ।
