३० वर्षीय राजेन्द्र र १६ वर्षीया मनीषाले गत असोजमा भागेर विवाह गरेका थिए, छोरीको उमेर र अन्तरजातीय सम्बन्ध भएकाले मनीषाको परिवारले स्विकारेको थिएन
विराटनगर, संखुवासभा — आइतबार बिहान झिसमिसेमै भोजपुर प्रहरीको कन्ट्रोल रुममा फोनको घण्टी बज्यो । फोन गर्ने व्यक्ति राजेन्द्र राईले आफूले ज्यान जोगाउन चार जनाको हत्या गरेको र आफू पनि घाइते भएकाले बचाइदिन आग्रह गरे । बिहानै आएको फोनले प्रहरीलाई सुरुमा झस्कायो ।
कसैले झुक्याएको हो कि भन्ने आशंका पनि भयो । तर पुनः फोन गर्दा राजेन्द्रले ससुराली पक्षको हत्या गरेको स्विकारेपछि प्रहरीले तुरुन्तै फोनको लोकेसन ट्रेस गरेर टोली खटायो ।
सदरमुकामदेखि ३२ किलोमिटर टाढाको घटनास्थलमा राजेन्द्रका ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु, १६ वर्षीया पत्नी मनीषा र ९ वर्षीय सालो सपनको शव प्रहरीले फेला पारेको छ । राजेन्द्रलाई भने प्रहरीले घटनास्थलभन्दा करिब तीन किलोमिटरको दूरीमा घाइते अवस्थामा फेला पारेको थियो । ‘उनी आफैं घाइते अवस्थामा लडेका थिए, पेटमा चोट लागेको थियो,’ जिल्ला प्रहरीका एक अधिकारीले भने, ‘पक्राउ गरेर तुरुन्तै जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । हाल उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।’
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार घाइते राजेन्द्रको पेटमा तीन ठाउँमा गहिरो चोट लागेको छ । ‘उनको अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । घाइते भए पनि उनी बोल्न सक्ने अवस्थामै छन् । शल्यक्रिया गर्ने तयारी भइरहेको छ,’ उनले भने । कार्कीका अनुसार राजेन्द्रले ससुराली पक्षले आफूलाई आक्रमण गरेपछि प्रतिकारमा सबैको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।
अघिल्लो वैवाहिक सम्बन्ध विच्छेद भएपछि भोजपुर नगरपालिका–२ हेलौछाका ३० वर्षीय राजेन्द्रले रामप्रसाद राई गाउँपालिका–२ की १६ वर्षीया मनीषासँग दोस्रो विवाह गरेका थिए । भोजपुर सदरमुकाम आसपास निर्माण मजदुरी गर्दै आएका राजेन्द्र र मनीषाबीच प्रेम सम्बन्धपछि उनीहरूले गत असोजमा भागेर विवाह गरेका थिए । एकातर्फ छोरीको उमेर र अर्कोतर्फ अन्तरजातीय सम्बन्ध भएकाले मनीषाको परिवारले उक्त विवाहलाई स्विकारेको थिएन । मनीषासँगको दोस्रो विवाहबारे राजेन्द्रले आफ्नो परिवारलाई समेत कुनै जानकारी नगराएको देखिएको छ ।
राजेन्द्रले सदरमुकाममै डेरा लिएर मनीषालाई राखेका थिए । तर, हालसालै मनीषा घर फर्किएकी थिइन् । राजेन्द्र मनीषालाई फर्काउन चार दिनअघि उनको गाउँ पुगेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।
स्थानीयले राजेन्द्रलाई चार दिनयता गाउँ वरपर नै देखेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार राजेन्द्र शनिबार राति रक्सीले मातेको सुरमा मनीषालाई लिन भनेर ससुराली पुगेका थिए ।
‘प्रारम्भिक सोधपुछमा राजेन्द्र चार दिनदेखि गाउँ वरपर नै डुलिरहेको देखिए पनि घरमै भने नबसेको देखिन्छ । शनिबार राति भने बाहिरै रक्सी पिएपछि मातेको सुरमा घटनास्थलमा गएको भनाइ छ,’ प्रहरी स्रोतले भन्यो, ‘हामी सबैको बयानलाई आधार मानेर र घटनास्थलको प्रकृति हेरेर अनुसन्धान गर्दै छौं ।’
शनिबार राति राजेन्द्र जसरी भए पनि श्रीमतीलाई लिएर डेरामा फर्किने योजनामा थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सासू–ससुराले छोरी पठाउन नमानेपछि उनी आक्रोशित बने र त्यही विवाद हत्यासम्म पुग्यो । एकान्तमा घर भएका कारण शनिबार रातिको ज्वाइँ र ससुराली पक्षबीचको झगडा छरछिमेकले बिहान मात्रै पत्तो पाएका थिए ।
‘ससुराली पक्षले छोरी लैजान नदिएपछि त्यही विवाद हिंसामा परिणत भएको देखिन्छ,’ भोजपुरका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले भने । उनका अनुसार, मनीषाको परिवार नाबालिग छोरीले अन्तरजातीय विवाह गरेको विषयमा असन्तुष्ट थियो । ‘यिनै दुई कारण घटनाको मुख्य जडजस्तो देखिन्छ,’ प्रजिअ पन्थीले भने ।
घाइते राजेन्द्रले ससुराली पक्षबाट उनीमाथि पहिला छुरा प्रहार भएपछि त्यसैलाई खोसेर सबैको हत्या गरेको दाबी गरेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी कार्कीले जानकारी दिए । ‘घाइते अवस्थामा फेला परेका राजेन्द्र आफैं मर्ने अवस्थामा थिए । त्यसैले उनले भनेको कुराको पनि तथ्य जाँच जरुरी हुन्छ,’ उनले भने, ‘राजेन्द्रले प्रतिरोधमा वा सुनियोजित रूपमा हत्या गरेको हो भन्ने अनुसन्धान सकिएपछि मात्रै खुल्छ ।’ राजेन्द्रले चारै जनाको हत्या गरेको हो भन्नेमा विमति नरहेको उनले बताए । प्रहरीले मृतकहरूको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।
