काठमाडौँ — अबका ४ महिना डेंगीको सर्वाधिक जोखिम : करिब ६० हजार जना संक्रमित हुन सक्ने, ‘काल्पनिक’ विद्यालयका नाममा योजना पारेर भ्रष्टाचार गर्ने ४ विरुद्ध मुद्दा दर्ता, पत्रकार पाठकसँग जिल्ला अदालतले माग्यो २५ हजार धरौटी, इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बनदेखि एसीसी यू–१६ इस्टजोन कपमा सिंगापुरसँग नेपालको उपाधि भिडन्तसम्मका खबर आज चर्चामा रहे ।
0000
इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेंगी संक्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेंगी रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तक्रियामा विज्ञहरुले डेंगीबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए ।
0000
डोल्पाको दुनैस्थित 'काल्पनिक' दुर्गा प्राथमिक विद्यालयको नाममा ७ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा चार जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार दुर्गा प्रा।वि। नामक विद्यालय कुनै पनि बेला सञ्चालनमा नरहेको पुष्टि भएको अवस्थामा समेत त्यसै नाममा २ कोठे भवन निर्माणको योजना बनाएर रकम निकासा गरिएको थियो ।
0000
जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरौटीमा छाड्न आदेश दिएको हो । साइबर अपराधको मुद्दामा प्रहरीको साइबर ब्युरोले मुद्दा चलाएपछि बिहीबार पाठक अदालतमा उपस्थित भएका थिए ।
0000
इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्बनका लागि कानुन लागू गर्न आदेश जारी गरेका छन् । संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू र वैज्ञानिकहरूको सुरक्षा पूर्ण रूपमा ग्यारेन्टी नभएसम्म एजेन्सीसँगको सहकार्य निलम्बन गर्न आह्वान गरेको बताए ।
0000
नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो ।
