एसीसी यू–१६ इस्टजोन कप : सिंगापुरसँग नेपालको उपाधि भिडन्त

असार १९, २०८२

कान्तिपुर संवाददाता

ACC U-16 East Zone Cup: Nepal's title clash with Singapore

काठमाडौँ — नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ ।

बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । 

दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ । नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो । सिंगापुर भने नेपालकै समूहबाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । 

समूहचरणमा नेपालसँग पराजित भएको सिंगापुरले बिहीबार हङहङलाई हराउँदै फाइनल खेल नेपालसँगै पक्का गरेको हो । हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिगांपुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको थियो । 

बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि ९ विकेटको सानदार जित निकाल्यो । पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा १ विकेट मात्र गुमाउँदै पूरा गर्‍यो । 

नेपालका लागि ओपनर परिमार्जन यादवले शानदार अर्धशतक प्रहार गरे । ३५ बलको सामना गरेका उनले ५ चौका र ५ छक्काको सहयोगमा अविजित ५९ रन बनाए ।

तेस्रो नम्बरमा आएका शिवांश बजगाईंले पनि पाँच चौका प्रहार गर्दै अविजित २३ रन बनाए । त्यसअघि ओपनर प्रशिद्ध जैशी १६ बल खेल्दै मात्र दुई रनमा आउट भएका थिए ।

बलिङमा मलेसियाका लागि नागिश्वरण सथकुमारनले १ विकेट लिए । त्यसअघि टस हार्दै मेलेसियाले ४३ दशमलव १ ओभरमा अलआउट हुँदै मात्र ९० रन बनाएको थियो ।

समूह ‘ए’को विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको थियो । मलेसिया भने समूह ‘बी’बाट उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भीडन्त पक्का गरेको थियो ।

मलेसियाका लागि मुहम्मद दानिस अदलेयनले सर्वाधिक ३८ रन बनाए । ७१ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीज पात्रोले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।

नेपालका लागि अभय यादवले सर्वाधिक चार विकेट लिए । १० ओभरमा उनले १५ रन खर्चिए । यस्तै शुभम खनालले १० ओभरमा १२ रन खर्चिँदै ३ विकेट लिए । कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले एक/एक विकेट लिए । 

कान्तिपुर

Link copied successfully