पत्रकार पाठकसँग जिल्ला अदालतले माग्यो २५ हजार धरौटी

असार १९, २०८२

कान्तिपुर संवाददाता

The district court demanded 25,000 bail from journalist Pathak

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभुषण पाठकसँग २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

साइबर अपराधको मुद्दामा प्रहरीको साइबर ब्युरोले मुद्दा चलाएपछि बिहीबार पाठक अदालतमा उपस्थित भएका थिए । आजै उनको मुद्दामा थुनछेक बहस भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा सोमबार पाठकविरुद्ध मुद्दा दायर गरेको थियो । 

सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले दायर गरेको अभियोग दाबीमा विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको थियो । सरकारी वकिलको कार्यलयले पाठकलाई फरार सूचीमा समेत राखिएको थियो ।

पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘टफ टक’ मार्फत् हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंह देउवाको संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।

यही विषयलाई लिएर पाठकले चरित्र हत्या गरेको भन्दै जयवीरले यसअघि पनि साइबर ब्युरोमा उजुरी दिएका थिए । तर उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न आदेश दिएको थियो । जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully