काठमाडौँ — गण्डकीको बजेटमा हालीमुहाली गरेको आरोप लागेका सचिवको सरुवा, अविरल वर्षाका कारण धनगढी जलमग्न, विनयी खोलामा डाइभर्सन निर्माण नहुँदा सयौँ मालवाहक ट्रक अलपत्र, असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने, तेहरानको जेलमा इजरायली आक्रमणबाट ७१ जनाको मृत्यु लगायतका खबर आज दिनभर देश दुनियाँमा चर्चामा रहे । देश दुनियाँमा आज के के भयो ?
गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा मनोमानी ढंगले आफ्ना योजना समावेश गरेको आरोप खेपिरहेका सचिव कारबाहीमा परेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो ।
०००
अविरल वर्षाका कारण धनगढीका अधिकांश ठाउँ जलमग्न भएका छन्। धनगढीको मुख्य सडक क्षेत्रलगायत, रातो पुल, हसनपुर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेका छन्। मुख्य बजार क्षेत्र अन्तर्गत रातो पुलमा भएको डुबानका कारण पसलमा पानी पस्न थालेपछि व्यापारीहरू सकसमा छन् । विद्यार्थीहरूलाई आवतजावतमा कठिनाइ हुने भएपछि धनगढीका चैतन्य पाठशालालगायत विद्यालयहरूले बिदा गरेका छन् । आइतबार रातिदेखि भारी वर्षा भइरहेकोले स्थानीय खोलानालामा पनि पानीको सतह अत्यधिक बढेको छ ।
०००
महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा बाढी नघट्दा सडक डाइभर्सन निर्माण हुन सकेको छैन। आइतबारको बाढीले पुरानो डाइभर्सन बगाएपछि अहिले महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम आउजाउ गर्ने सयौँ मालवाहक र खाली ट्रक दुम्कीवास र बर्दघाट क्षेत्रमा रोकिएका छन्।
०००
प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइने भएको छ । नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त घोषणा गरेका हुन् । असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यस्तो घोषणा गरिएको उनले जानकारी दिए ।
०००
गत साता इरानको राजधानी तेहरानको एभिन जेलमा इजरायली आक्रमणमा कम्तिमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले घोषणा गरेको छ । जुन २३ मा भएको आक्रमणका पीडितहरूमा जेल कर्मचारी, भर्ती गरिएकाहरू, जेलमा थुनिएका कैदीहरू, भेट्न आएका परिवारका सदस्यहरू र नजिकैका भवनहरूका बासिन्दाहरू समावेश रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरलाई उद्धृत गर्दै मिजान समाचार एजेन्सीले जनाएको छ ।
