काठमाडौँ — असार १३ सम्म १२ प्रतिशत रोपाइँ, बढी धान फल्ने मधेशमै सुरु भएन, तामाकोसीले थाल्यो पूर्ण क्षमतामा विद्युत् उत्पादन, जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो, अब सामुदायिक र निजी विद्यालयमा २ वर्षे पूर्वप्राथमिक शिक्षादेखि २९ औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा नेपाल प्रिक्वाटरफाइनलमासम्मका खबर आज चर्चामा रहे ।
०००
मुलुकभर १२.३३ प्रतिशत धान रोपाइँ भएको छ । वर्षेधान १३ लाख ९५ हजार २ सय ७ हेक्टरमा धान रोपाइँ हुन्छ । जसमध्ये १ लाख ७२ हजार हेक्टरमा रोपाइँ भएको छ । समयमै वर्षा नहुँदा बढी धान फल्ने मधेश प्रदेशमा रोपाइँ नै हुनसकेको छैन । मधेशमा ३ लाख ८३ हजार १ सय ५० हेक्टरमा धान रोपाइँ हुन्छ । तर असार १३ सम्म रोपाइँ भएको तथ्यांक नआएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख केशव देवकोटाले जनाए ।
०००
स्वदेशी लगानीको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले २४ सै घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन थालेको छ । पहिरोले क्षतिग्रस्त बालुवा थिग्राउने दुवै पोखरी आंशिक मर्मत सकिएसँगै २४ सै घण्टा विद्युत् उत्पादन सुरु गरेको हो ।
०००
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको हो । जसपाको लुम्बिनी प्रदेशमा १ जना प्रदेशसभा सदस्य मात्र छन् ।
०००
अब कक्षा १ भन्दाअघिको प्रारम्भिक बालविकास कक्षा (ईसीडी) २ वर्षको हुने भएको छ । शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ईसीडी कार्यक्रम दुवै प्रकारका विद्यालयमा २ वर्षको रहनेमा सांसदहरूले सहमति जुटाएका हुन् ।
०००
नेपाल २९ औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् ।
