जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

लुम्बिनीका मुख्यमन्त्री आचार्यको समर्थनमा अब ६८ जनाको समर्थन

असार १३, २०८२

घनश्याम गौतम

Jaspa Nepal withdrew its support to the Lumbini state government

बुटवल — उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको हो ।

जसपाको लुम्बिनी प्रदेशमा १ जना प्रदेशसभा सदस्य मात्र छन् । जसपा नेपालको संसदीय दल नेता अम्बिका काफ्लेले शुक्रबार प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ अनुसार लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रमार्फत प्रदेशसभालाई जानकारी गराएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले बताए । समर्थन फिर्ताको पत्र प्रदेशसभामा दर्ता भएको छ ।

मुख्यमन्त्री आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले, कांग्रेस, नागरिक उन्मुक्ति, जनमत, लोसपालगायतले समर्थन गरेका थिए । 

८७ सदस्यीय लुम्बिनी प्रदेश एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, जसपाका २, लोसपाका ३, जनमतका ३ सदस्य सरकारको समर्थनमा छन् । विपक्षमा माओवादीका १०, राप्रपाका ३, नेकपा समाजवादी, जनमोर्चा र जसपाका १/१ सदस्य छन् । जनमत पार्टीकी सदस्य गीता गुरूङ पदमुक्त भएकी छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully