रास्वपाको महामन्त्री माग्दै ढकाल सर्वोच्चमा, अन्तरिम आदेशको छलफलमा बोलाइयो

२०८१ असारमा ढकाललाई पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको भन्दै रास्वपाले साधारण सदस्य मात्रै रहन पाउने गरी बर्खास्त गरेको थियो

असार १२, २०८२

कान्तिपुर संवाददाता

Dhakal was called in the Supreme Court, asking for the General Minister of the RSVP, to discuss the interim order

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट हटाइएको एक वर्षपछि डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन् । २०८१ असारमा पार्टी महामन्त्रीबाट हटाइएका ढकालले सोही पदीय हैसियत माग्दै पेस गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशको छलफलका लागि बोलाएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले बिहीबार ढकालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गरेको हो ।

ढकालले अन्तरिम आदेशमार्फत आफूलाई रास्वपाको महामन्त्री पदमा कामकाज गर्न दिन माग गरेका थिए । तर, सर्वोच्चले भने तत्काल त्यस्तो आदेश दिन अस्वीकार गर्दै विपक्षीहरूलाई पनि सुन्ने भन्दै पेसी तोकिदिएको छ ।

'रिट निवेदकले अन्तरिम आदेशसमेत माग गरेको दुवै पक्षको छलफलबाट मात्र सो सम्बन्धमा निर्णय गर्नुपर्ने देखिँदा सो प्रयोजनका लागि मिति असार १७ गतेको पेसी तोकिदिएको छ । प्रत्यर्थीहरूलाई सोको सूचना दिई प्रत्यर्थी मध्येका निर्वाचन आयोगलाई सो आयोगबाट निवेदकका नाममा जारी भएको असार ४ को पत्रसहितको फाइल सहित उपस्थित हुने सूचना दिई नियमानुसार गर्नू,' आदेशमा भनिएको छ ।

ढकालले रास्वपा, रास्वपा केन्द्रीय कार्यसमिति, रास्वपा सभापति रवि लामिछाने, महामन्त्री कबिन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।

ढकाललाई रास्वपाले २०८१ असार अन्तिम साता पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट बर्खास्त गरेको थियो । उनी साधारण सदस्य भएर पार्टीमा रहन सक्ने त्यतिबेलाको निर्णय थियो । उनलाई पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै रास्वपाले साधारण सदस्य मात्रै रहन पाउने गरी बर्खास्त गरेको थियो । रास्वपाको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त भएपछि ढकाल लामो समय अदालत गएका थिएनन् । उनले असार ४ मा निर्वाचन आयोगबाट महामन्त्री पदमा नै रहेको भन्दै पत्र सार्वजनिक गरेका थिए । 

रास्वपाले केन्द्रीय पदाधिकारी र समिति अद्यावधिक गर्न दिएको निवेदन निर्वाचन आयोगले अद्यावधिक नगरी पुरानै पदाधिकारी कायम रहेको भन्दै ढकाललाई पत्र दिएको थियो । 

Dhakal was called in the Supreme Court, asking for the General Minister of the RSVP, to discuss the interim order

कान्तिपुर

Link copied successfully