पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र व्यवहार गरी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै केन्द्रीय समिति बैठकले ढकाललाई कारबाही गर्ने निर्णय
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट बर्खास्त गरेको छ । अब ढकाल पार्टीको साधारण सदस्यमा मात्र सीमित भएका छन् । रास्वपाको केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई महत्त्वपूर्ण जिम्मेवारीबाट हटाएर साधारण सदस्यमा सीमित गर्ने निर्णय गरेको हो ।
कार्यवाहक प्रवक्ता मनीष झाले महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल गरेपछि केन्द्रीय समितिले साधारण सदस्यमात्रै रहने गरी महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिए । पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई कारबाही गर्ने निर्णय गरेको हो ।
असार १९ मा बसेको केन्द्रीय समितिले उनलाई एक साताका लागि महामन्त्री र प्रवक्ताको पदको जिम्मेवारीबाट निलम्बन गरेको थियो । अनुशासन आयोगमा पुनरावेदन गर्नका लागि ढकाललाई ३५ दिनको समय दिएको थियो । त्यस्तै, ढकालको समीक्षा यात्रा प्रतिवेदनको स्वामित्व भने पार्टीले नलिने भएको छ । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल गर्नु पहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिने रास्वपाका नेताहरूको भनाइ छ ।
ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचना गरिएको थियो । पार्टीले आफूलाई कारबाही गरेलगतै ढकालले आफू ‘रवि लामिछानेको क्लबबाट निष्कासित भएको’ बताएका छन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि... ।’
रास्वपाका निष्कासित महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा पार्टी र सभापति रवि लामिछानेको कामकारबाही र गतिविधिमाथि प्रश्नै–प्रश्न उठाएका थिए । ढकालले सभापति लामिछानेको व्यवहार र पार्टी सञ्चालन विधिमाथि आफ्नो समीक्षा यात्रा प्रतिवेदनमा आलोचना गरेका हुन् । जेठ ६ देखि असार ५ सम्म ३८ जिल्लामा स्थलगत भ्रमण गर्दै २ हजार ७९ नागरिकसँग कुराकानी गरेर समीक्षा प्रतिवेदन तयार गरिएको थियो, जसलाई केही समयअघि महासचिव ढकालले सभापति लामिछानेलाई बुझाएका थिए ।
‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैं गृहमन्त्री भएर किन गएको ? सीके राउत जस्तो ब्याकमा किन नबसेको ?,’ प्रतिवेदनमा भनिएको छ । ढकालले सभापति लामिछानेमाथि नै पहिलो पटक प्रश्न उठेको पनि उल्लेख गरेका छन् । ‘जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षमा हुँदा किन म्याद नै तोकेर बोलेको ? किन ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ? सरकारमा गएपछि सोचेअनुरूप फाइल किन खोलिएन ? निर्मला पन्तलाई न्याय कहिले मिल्छ ? ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ?’ प्रतिवेदनमा सभापति लामिछानेमाथि प्रश्न उठाइएका छन्, ‘सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ । सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् तर सभापतिले बिर्सिएजस्तो छ ।’
रास्वपा अन्य पार्टीको डम्पिङ साइट बनिरहेको बताइएको छ । ‘मानिलिऔं पार्टी भनेको मेसिन हो, जसले मन्त्री, सांसदलगायत राजनीतिक व्यक्ति जो राज्यमा बस्छ, त्यसलाई निकाल्छ । रास्वपा भन्ने मेसिनले अहिलेका सांसद वा मन्त्रीहरूको उदाहरण दिनपर्दा कस्तो सांसद वा मन्त्री निकाल्ने ?’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग मिल्नुभन्दा बालेनसँग मिल्नु जाती रहेको उल्लेख छ ।
