काठमाडौँ — उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस सांसद पूर्णबहादुर तामाङले उठाएका प्रश्नको जवाफ दिएका छन् । सांसद तामाङले सहरी विकास मन्त्रालयका योजनाप्रति आपत्ति जनाउँदै पार्टीको आगामी महाधिवेशन र २०८४ को प्रतिनिधिसभा चुनावमा उपप्रधानमन्त्री सिंहलाई हराउन भूमिका खेल्ने घोषणा गरेका थिए ।
सहरी विकास मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभाको मंगलबारको बैठकमा जवाफ दिँदै उपप्रधानमन्त्री सिंहले विनियोजन पुस्तिका अध्ययन गर्न भनेका हुन् । उनले रामेछाप जिल्लामा कतिवटा योजना परेका छन् भन्ने पनि स्पष्ट पारेका थिए ।
उपप्रधानमन्त्री सिंहले बजेट पुस्तिका अध्ययन नगरी आलोचनामा उत्रिनु सही नभएको बताए । रामेछापबाट निर्वाचित कांग्रेस सांसद तामाङले उठाएका प्रश्नको उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयबाट भएको विनियोजनबारे स्पष्ट पारेका थिए ।
'रामेछाप जिल्लाकै कुरा गरौं । त्यत्रो माननीयज्यूले ठूल्ठूलो स्वरबाट कुरा गर्नुभएको छ । नेपालको कूल जनसंख्या रामेछापमा ०.८ प्रतिशत मानिस बसोबास रहेको जिल्लामा सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयको कूल बजेटको ०.७ प्रतिशत रकम विनियोजन गरिएको छ,' सिंहले भने, '६६ वटा कार्यक्रम, त्यसमा ८४ करोड ४७ लाख विनियोजन गरिएको छ । मैले यो किन भनिरहेको छु भन्दाखेरि माननीयज्यूलाई लाग्छ मेरो जिल्लामा कम भयो भन्ने कुरा, यो जुन पुस्तिका छ, राम्रोसँग अध्ययन गरेर आफ्नो जिल्लामा के कति परेको छ भन्ने बुझिदिनको लागि अनुरोध गर्न चाहन्छु ।'
तामाङले प्रतिनिधिसभाको बैठकमा सहरी विकास मन्त्रालयको विनियोजनमाथि प्रश्न उठाएका थिए । उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका २०७ योजना काठमाडौं जिल्लामा मात्रै राखेको र अन्य जिल्लामा वितरण नगरेको तामाङको भनाइ थियो ।
'तपाईं प्रधानमन्त्रीको लाइनमा रहेको मान्छे अब के हुनुहुन्छ ? राजनीतिमा कहाँ जानुहुन्छ ? यस्तै तरिकाले ७७ जिल्लाको, हामी हो नि महाधिवेशन भएर १५औँमा आउने । त्यतिबेला नाराजुलुस गरिदियो भने तपाईंको इज्जत कहाँ पुग्छ ? तपाईंले काठमाडौं जिल्लालाई मात्रै देख्ने ?,' उनले चेतावनी दिएका थिए, '१५औँ महाधिवेशनमा तपाईंसँग छलफल हुन्छ । हामी पनि चुनाव त जितेर आउँला नि । तपाईंलाई मैले दलमा भन्ने कुरा गर्न लागेको थिएँ, दलले बैठक राखेन ।'
उपप्रधानमन्त्री सिंहको कार्यले पार्टी डुब्न लागेको सांसद तामाङको भनाइ थियो ।
