यी दुई उपप्रधानमन्त्री २०८४ को चुनावबाट संसद्‍मा नआउन् भनेर प्रार्थना गर्छु : कांग्रेस सांसद तामाङ

असार ८, २०८२

कान्तिपुर संवाददाता

I pray that these two Deputy Prime Ministers do not come to Parliament from the 2084 elections: Congress MP Tamang

काठमाडौँ — सत्तारु‌ढ कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्‍मा नआउन् भनेर प्रतिनिधिसभाको रोस्ट्रमबाट नै प्रार्थना गरेका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद तामाङले बजेट विनियोजनमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ-आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रित गरेको भन्दै आपत्ति जनाएका हुन ।

सिंहले काठमाडौं र पौडेलले रुपन्देहीमा मात्रै बजेट केन्द्रित गरको तामाङको भनाइ थियो । '२०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु,' उनले भने ।

तामाङले दुवै उपप्रधानमन्त्रीलाई सोधे, 'यहाँहरूले ३ करोडभन्दा मुनीको बजेट विनियोजन नगर्ने भन्नुभएको होइन, उपप्रधानमन्त्रीहरूले ? आज काठमाडौं जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन् । रुपन्देहीमा ७९ वटा हाल्ने ? यसरी चल्छ ?' दुवैजना प्रधानमन्त्रीको लाइनमा रहेका तर बजेट विनियोजनमा आफ्नो जिल्लामा मात्रै संकृर्ण बनेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका २०७ योजना काठमाडौं जिल्लामा मात्रै राखेको र अन्य जिल्लामा वितरण नगरेको तामाङको भनाइ थियो । 

कांग्रेस नेतासमेत रहेका उपप्रधानमन्त्री सिंहविरुद्ध पार्टीको आगामी महाधिवेशनमा प्रश्न उठाउने पनि तामाङले बताए । 'तपाईं प्रधानमन्त्रीको लाइनमा रहेको मान्छे अब के हुनुहुन्छ ? राजनीतिमा कहाँ जानुहुन्छ ? यस्तै तरिकाले ७७ जिल्लाको, हामी हो नि महाधिवेशन भएर १५औँमा आउने । त्यतिबेला नाराजुलुस गरिदियो भने तपाईंको इज्जत कहाँ पुग्छ ? तपाईंले काठमाडौं जिल्लालाई मात्रै देख्ने ?,' उनले चेतावनी दिए, '१५औँ महाधिवेशनमा तपाईंसँग छलफल हुन्छ । हामी पनि चुनाव त जितेर आउँला नि । तपाईंलाई मैले दलमा भन्ने कुरा गरन लागेको थिए, दलले बैठक राखेन ।'

७७ वटै जिल्ला र १६५ निर्वाचन क्षेत्रमा योजनाको विनियोजन नगरेकोप्रति उपप्रधानमन्त्रीहरूप्रति सत्तारुढ दलका सांसदले आपत्ति जनाएका हुन् । 'यो तरिकाले तपाईंको राजनीति सप्रिन्छ ? प्रधानमन्त्री र पार्टी सभापति हुने आशा गरेको थिए, यो तरिकाले देश चल्दैन, डुब्छ । कांग्रेसहरू डुबिसक्यो,' उनले भने ।

उपप्रधान तथा अर्थमन्त्री पौडेललाई पनि सांसद तामाङले आगामी चुनावमा चुनौती दिने चेतावनी दिए । 'म पनि रुपन्देहीमा हुर्किएर आएको मान्छे हो । हाम्रो पनि त्यहाँ साथी छन् । तपाईं पनि ६ महिना अगाडि आएको पार्टीलाई ६८३ मतले मात्रै जितेर आउनुभएको हो । ख्याल गर्नुपर्छ । सबैलाई मिलाउनुपर्छ,' उनले भने, 'अर्थमन्त्रीज्यू, तपाईं कांग्रेसको फेला नपरेको हो । घण्टीलाई ६८३ मतले मात्रै जित्नुभएको हो । सबैको रिपोर्ट लिएर बसेका छौं ।'

विनियोजनमा चित्त नबुझाएका अन्य सांसदले बजेट पुस्तिका च्याते पनि आफूले भने दुई जना उपप्रधानमन्त्री आगामी संसद्मा नआउन् भन्ने प्रार्थना गर्ने तामाङको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully