सांसद सिंहलाई कानुनमन्त्री चौरसियाको चुनौती : मेरो विरुद्धमा प्रमाण भए पेस गरे हुन्छ

असार ९, २०८२

कान्तिपुर संवाददाता

Law Minister Chaurasia's challenge to MP Singh: If there is evidence against me, submit it

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आफूले न्यायाधीशहरूलाई फोन गरेको भनी सांसद अमरेशकुमार सिंहले आरोप लगाएकोमा आपत्ति जनाएका छन् । त्यसरी फोन गरेको प्रमाण भए पेस गर्न पनि मन्त्री चौरसियाले चुनौती दिएका छन् । 

कानुन मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजनमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिँदै मन्त्री चौरसियाले सांसद सिंहलाई प्रमाण पेस गर्न चुनौती दिएका हुन् । 

सांसद सिंहको न्याय क्षेत्रका व्यक्तिहरूसँग कसरी सम्पर्क हुन गयो भन्नेबारेमा पनि अनुसन्धान हुनुपर्ने मन्त्री चौरसियाको भनाइ थियो । 'माननीय सांसदले हेक्का राख्नुपर्छ कुनै आरोप लगाउँदा कहाँ त्यस्तो प्रमाण उहाँले पाउनुभयो ? मेरो विरुद्धमा कुनै प्रमाण छ भने उहाँले पेस गरे हुन्छ । मेरोमात्रै कल डिटेल होइन उहाँको कसरी सम्पर्क भयो न्याय क्षेत्रको व्यक्तित्वसँग ? उहाँको पनि कल डिटेल चेक गर्न सकिन्छ,' मन्त्री चौरसियाले भने, 'यो निराधार र काल्पनिक असत्य कुराको आरोप लगाउनु हुँदैन संसद्भित्र । कुनै पनि सांसदले बोल्दै गर्दा त्यो कुरा सत्य हो कि होइन भन्ने कुराको विचार गर्नुपर्छ ।'

संविधान र कानुनभन्दा बाहिर गएर न्यायाधीश नियुक्त नगरेको पनि मन्त्री चौरसियाको भनाइ थियो । 'संविधान र कानुनभन्दा बाहिर गएर न्यायाधीश नियुक्त नभएको जानकारी गराउन चाहन्छु । सांसदले भनेजस्तो पार्टीको सिन्डिकेट तथा दलीय प्रभाव पर्नेगरी नयायाधीश नियुक्ति भएको छैन,' उनको भनाइ थियो ।

कानुनी परामर्शका लागि न्यायाधीशसँग कुरा गर्न पाइन्छ कि पाइँदैन भन्ने पनि मन्त्री चौरसियाले प्रश्न गरेका थिए । सांसद सिंहले असार ५ को प्रतिनिधिसभा बैठकमा  मुद्दाका विषयलाई लिएर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले जिल्लादेखि सर्वोच्च अदालतका न्यायाधीशलाई फोन गर्ने गरेको आरोप लगाएका थिए । सिंहले भनेका थिए, 'नेता र न्यायाधीशको मोबाइलको कल डिटेल सार्वजनिक हुनुपर्छ । म सुन्दै आइरहेको छु कि कानुनमन्त्री बिहान-बिहानै कसैको मुद्दा छ भने, जिल्लामा छ भने एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ, उच्चमा छ भने मुख्य न्यायाधीश र सर्वोच्चमा छ भने न्यायाधीशलाई फोन गर्नुहुन्छ ? म माग गर्न चाहन्छु कानुनमन्त्रीको कल डिटेल बाहिर आओस् कि न्यायाधीशलाई किन फोन गरेको हो ?'  

कान्तिपुर संवाददाता

Link copied successfully