देश दुनियाँमा आज के के भयो ?

असार ८, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — इरानका तीन परमाणु क्षेत्रमा अमेरिकाको बमबारी, पशुपति विद्युतीय शवदाह गृह उपकरण खरिदमा सदस्यसचिवसहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा, तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुल फेरि भाँचियो, ‘टेक एन्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा ऊर्जा उद्यमी विरोधमादेखि एसीसी पुरुष यू-१६ : सिंगापुरविरुद्ध नेपालको सानदार जितसम्मका खबर आज चर्चामा रहे । 

000

अमेरिकाले इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् । उनले सबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । ट्रम्पका अनुसार फोर्दोमा धेरै बम खसालिएको छ । यो आक्रमण नेपाली समयअनुसार आइतबार बिहान पौने ५ बजे भएको हो । 

000

पशुपति क्षेत्र विकास कोषअन्तर्गतको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

000

रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुल भाँचिएको छ । निर्माणको क्रममा रहेको उक्त पुल आइतबार बिहान भाँचिएको हो । 

000

सरकारले बजेटमा ल्याएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) मा 'टेक एन्ड पे' (लिउ र तिर) प्रावधान फिर्ता लिन माग गर्दै ऊर्जा उद्यमीले सामाजिक सञ्जालमा विरोध गरेका छन् । ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई 'मेन्सन' गरेर पीपीएमा 'टेक एन्ड पे' प्रावधान फिर्ता लिन आग्रह गरेका छन् । 

000

एसीसी पुरुष यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध नेपालले ६ विकेटको सानदार जित हात पारेको छ । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । 

कान्तिपुर

Link copied successfully