दोलखा — रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुल भाँचिएको छ । निर्माणको क्रममा रहेको उक्त पुल आइतबार बिहान भाँचिएको हो ।
पुलको भटौलीतर्फको भागको स्ल्याब भाँचिएर तल खसेको छ । सोही पुल यसअघि पनि वैशाख २६ गते भाँचिएको थियो । निर्माणको जिम्मा लिएको कालिका/कल्पवृक्ष जेभीले यसअघि भाँचिएको पुलको पुनर्निर्माण गरिरहेको अवस्थामा पुनः पुल भाँचिएको स्थानीयले बताएका छन् । मन्थली नगरपालिका–७ मुगिटारका सुरज श्रेष्ठले एक महिनाअघि पुलको जुन भाग भाँचिएको थियो, सोही भाग पुनः निर्माणको क्रममा फेरि भाँचिएको बताएका छन् ।
२०७८/७९ मा सडक विभागअन्तर्गतको पुल महाशाखासँग निर्माण कम्पनीले २०८२ भदौ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी २२ करोड ५५ लाख ४० हजारमा निर्माण सम्झौता गरेको थियो । पुल निर्माणको ६० प्रतिशत भुक्तानी कम्पनीले लिइसकेको अवस्थामा एकै स्थानमा दोस्रो पटक पुल भाँचिएपछि स्थानीयले गुणस्तरप्रति प्रश्न उठाएका छन् ।
२३० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त मोटरेबल पुल निर्माणपछि मन्थली–भटौलीसहित खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको आवतजावत सहजताका लागि निर्माण भइरहेको हो । यस्तै, सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने छोटो दूरीसमेत पुल बनेपछि हुने स्थानीयले बताएका छन् ।
