दैलेखको खानीमा आशाको दियो

असार ६, २०८२

राजु चौधरी

A beacon of hope in the mines of Dailekh

काठमाडौँ — खाना पकाउने ग्यास आयातमा मात्र नेपालबाट बर्सेनि ५० अर्ब रुपैयाँभन्दा बढी विदेश जाने गरेको छ । नेपाल आयल निगमका अनुसार ५ वर्षमा २ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको २५ लाख १ हजार ८ सय टन ग्यास आयात भएको छ । यहीबीचमा दैलेखको जलजलेमा ग्यास भण्डारण रहेको पुष्टि भएकाले ग्यास आयातलाई विस्थापित गर्ने र निर्यातसमेत गर्न सकिने आशा जगाएको छ । 

२०७८/७९ को तुलनामा २०७९/८० मा ग्यास आयात सामान्य घटे पनि अन्य वर्ष बढेको निगमले जनाएको छ । ‘ग्यास प्रयोगको विस्तार हुँदै गाउँगाउँसम्म पुगेको छ, खपत बढेसँगै आयात पनि बढ्दो छ,’ निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट भन्छन्, ‘५ वर्षमा ग्यास आयातमा २ खर्ब ६४ अर्ब रुपैयाँ खर्च भएको छ ।’

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ५५ अर्ब ६ करोड रुपैयाँको ५ लाख २४ हजार २ सय ४ टन ग्यास आयात भएको थियो । २०७९/८० मा ५ लाख १४ हजार ७ सय १७ टन ग्यास आयात भएको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धिले ग्यास आयात रकम बढेर ५८ अर्ब १ करोड पुगेको तथ्यांक छ । त्यस्तै, २०७८/७९ मा ६५ अर्ब ५ करोडको ५ लाख ३६ करोड २२ टन ग्यास आयात भएको थियो ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार खाना पकाउने ग्यास मासिक ४८ हजार ५० हजार टन खपत हुन्छ ।निगमले ‘प्रोडक्ट डेलिभरी अडर’ जारी गरेपछि ग्यास उद्योगीले भारतको पारादीप, बरौनी, हल्दिया, मथुरा रिफाइनेरीबाट आयात गर्छन् । भारतकै दुर्गापुर डिपोबाट पनि आयात हुने गरेको छ । 

उद्योगीले भारतको ५/७ वटा ट्रान्सपोर्टरको बुलेटमार्फत ढुवानी गर्छन् । हाल करिब ७ सय भारतीय बुलेटमार्फत ग्यास ढुवानी हुँदै आएको छ । ग्यास ढुवानी गरेबापत भारतीय ढुवानीकर्ताले वर्षको ६ अर्ब रुपैयाँ बढी लैजान्छन् । यस्तो क्रम करिब ४४ वर्षदेखि जारी छ । 

ग्यास ढुवानीबाट बर्सेनि अर्बौं रुपैयाँ बाहिरिएपछि निगमले मोतिहारी–पथलैया–सर्लाहीमा एलपी ग्यास पाइपलाइन बनाउने योजना पनि बनाएको छ । इन्डियन आयल कर्पोरेसन्स लिमिटेड (आईओसी) ले डिटेल इन्जिनियरिङ सर्भेको काम सुरु गरेर प्रतिवेदन पनि बुझाइसकेको छ । पाइपलाइन हुँदा ढुवानी खर्च जोगिने निगमको भनाइ छ ।  

दैलेखमा फेला परेको मिथेन ग्यासलाई खाना पकाउने ग्यासमा परिणत गर्न सकिने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरे बताउँछन् । ‘स्वदेशमै मिथेन ग्यास पत्ता लागेको छ, यो खुसीको कुरा हो, यसलाई प्रशोधन गरेर खाना पकाउने ग्यासमा परिणत गर्न सकिन्छ,’ उनी भन्छन्, ‘त्यसका लागि रिफाइनेरी चाहिन्छ, मिथेन ग्यास स्टकका आधारमा लागतअनुसार रिफाइनेरी चाहिन्छ ।’

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट पनि मिथेनलाई प्रशोधन गरेर खाना पकाउने ग्यासका रूपमा प्रयोग गर्न सकिने बताउँछन् । त्यसका लागि रिफाइनेरी प्लान्ट निर्माण गर्नुपर्ने उनको भनाइ छ । ‘ग्यास त्यत्तिकै प्रयोग गर्ने होइन, विभिन्न मिश्रणहरू हटाएर शुद्ध बनाउनुपर्छ, ग्यासमा भएको मिश्रणअनुसार खर्च पनि छ,’ भट्ट भन्छन्, ‘यसको विस्तुत रिपोर्ट आएपछि प्रशोधन गर्न प्लान्ट राखेर प्रयोगमा ल्याउन सकिन्छ ।’ निगमका अनुसार एलपी ग्यास कम प्रेसर भएको ग्यास हो । मिथेन ग्यासको प्रेसर उच्च हुन्छ । 

यसमा केही विकल्प रहेको उनको भनाइ छ । ‘पाइपलाइनमार्फत आपूर्ति गर्न वा उच्च प्रेसर थाम्न सक्ने सिलिन्डर बनाएर बजारमा पठाउन सकिन्छ, औद्योगिक प्रयोजनका लागि पनि खपत गर्न सकिन्छ,’ उनी भन्छन्, ‘सरकारले रासायनिक मल कारखाना निर्माण गर्ने योजना बनाएको छ । अहिले मल खरिदमा वार्षिक २८ अर्ब बढी खर्च भइराखेको छ । सबैभन्दा उत्तम विकल्प मिथेन ग्यासबाट मल कारखाना सञ्चालन गर्न सकिन्छ ।’

यी बाहेक सिलिन्डरमार्फत खाना पकाउन पनि प्रयोग गर्न सकिन्छ । तर सिलिन्डर दोब्बर बढी महँगो हुने उनको भनाइ छ । ‘यो ग्यासलाई खाना पकाउने ग्यासमा परिणत गर्न सकिन्छ, तर उच्च प्रेसर भएकाले सिलिन्डर महँगो पर्छ, सरकार कुन मोडालिटीबाट अगाडि बढ्छ, सोहीअनुसार कार्यान्वयन हुन्छ । यसका लागि विस्तृत प्रतिवेदन नै आउनुपर्छ ।’ 

०००

‘उत्खनन गर्दै जाँदा तेल पनि भेटिन सक्छ’

- मोनिका झा महानिर्देशक, खानी तथा भूगर्भ विभाग

A beacon of hope in the mines of Dailekh

२०४४ मा मोरङको बाहुनीमा ग्यास रहेको भन्दै अमेरिकी तेल कम्पनी ‘सेल’ ले करिब ८० लाख डलरको लागतमा ‘ड्रिलिङ’ सहित अनुसन्धानको काम थालेको थियो । करिब ३ हजार ५ सय मिटर ‘ड्रिलिङ’ गरेपछि तेल नभएको भन्दै काम रोकेको थियो । बिहीबार मात्रै दैलेखमा ठूलो परिमाणमा मिथेन ग्यास भेटिएको प्रतिवेदन सार्वजनिक भएको छ । यसै सन्दर्भमा खानी तथा भूगर्भ विभागकी महानिर्देशक मोनिका झासँग गरिएको कुराकानी:

दैलेखमा कति परिमाणमा मिथेन ग्यास भेटिएको हो ?

प्रारम्भिक प्रतिवेदनमा १ सय १२ अर्ब करोड घनमिटर मिथेन ग्यास रहेको भनिएको छ । चिनिया विज्ञ टोली र कम्पनीले यसको विस्तृत प्रतिवेदन डिसेम्बरसम्म दिने भन्नु भएको बछ । यो मात्रामा प्राकृतिक ग्यास भेटिनु निकै खुसीको कुरा हो । 

उत्खननका लागि कहिलेसम्म कुर्नुपर्छ ? 

विस्तृत प्रतिवेदन आएपछि थप अध्ययन गर्नुपर्ने हुन्छ । ग्यास उत्खननका सन्दर्भमा उत्पादनपछिको बजार र खपतबारे आर्थिक सम्भाव्यता अध्ययन पनि गर्नुपर्छ । लागत अनुमान र उत्पादनको हिसाब गरेर मात्र परियोजना अगाडि बढाउनुपर्ने हुन सक्छ । नेपालले मात्र नसक्ने अवस्थामा कुनै मुलुकको आर्थिक सहायता पनि लिनुपर्ने हुन सक्छ ।

उत्खनन र प्रशोधनपछि यसले पेट्रोलियम पदार्थ आयातलाई विस्थापन गर्न सक्नेमा केही अध्ययन भएको छ ?

अहिले करिब ४ हजार मिटर ड्रिलिङका आधारमा प्राकृतिक ग्यास रहेको पुष्टि भएको हो । विस्तृत रिपोर्ट आएपछि मात्र ग्यास कुन गुणस्तरको छ भन्ने थाहा हुन्छ । पेट्रोलियम पदार्थ (तेल) नै छ कि छैन भनेर पनि थप अध्ययनबाट पुष्टि हुन्छ । मिथेन ग्यास नै बढी छ भने त्यसको उत्पादन र वितरण प्रणालीको मोडालिटी अर्कै हुन्छ । प्रोपेन र ब्युटेनको मात्रा बढी भेटियो भने हामीले खाना पकाउने एलपीजी ग्यासका रूपमा समेत प्रयोग गर्न सक्छौं । अहिले जुन परिमाणमा भेटिएको भनिएको छ, त्यो निकै उत्साहजनक कुरा हो । यसबाट नेपालको अर्थतन्त्र उकास्न निकै सहयोग पुग्नेछ ।

मिथेनकै मात्रा बढी भेटियो भने चाहिँ के गर्ने ?

मिथेनकै मात्रा बढी भेटिए ‘बल्क कन्जम्प्सन’ को मोडालिटी अपनाउनुपर्ने हुन्छ । दैलेखमा घनाबस्ती नभएकाले उद्योग स्थापना गर्न सकिन्छ । साथै विद्युत् र वैकल्पिक ऊर्जा उत्पादन गर्न सकिन्छ । मिथेनको मात्रा बढी भयो भने खाना पकाउने ग्यासका रूपमा साना सिलिन्डरमा भरेर घर–घर पुर्‍याउन भने गाह्रो हुन्छ । सबै क्षेत्रको नमुना र पूरा प्रतिवेदन आइसकेपछि मात्र थप भन्न सकिन्छ । उत्खनन गर्दै जाँदा तेल पनि भेटिन सक्छ ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully