चीन सरकारसँगको सहकार्यमा परीक्षण उत्पादन गरिने, अन्वेषणस्थलमा सशस्त्र प्रहरीको चौबीसै घण्टा पहरा
काठमाडौँ — दैलेखमा १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको छ । खानी तथा भूगर्भ विभागका अनुसार चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा प्रारम्भिक प्रतिवेदनअनुसार ठूलो परिणाममा मिथेन ग्यास भएको पत्ता लागेको हो । यसको अन्तिम प्रतिवेदन भने डिसेम्बरसम्म आउने विभागले जनाएको छ ।
चिनियाँ विज्ञ टोलीले गरेको अध्ययनअनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा रहेको पत्ता लागेको हो । अब परीक्षण उत्पादन गरेर त्यसको यकिन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेले विभिन्न चरणमा सर्भे गरेको थियो भने चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि झन्डै डेढ वर्ष ड्रिलिङ गरेर अध्ययन गरेको थियो । ‘हामीले ४ हजार १३ मिटरसम्म ड्रिलिङ गरेका थियौँ,’ विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले भने, ‘जसको १/१ मिटरको स्याम्पल परीक्षणका लागि पठाएका थियौँ, अब बाँकी प्रक्रियाका लागि दुवै देशका सरकारबीच थप सम्झौता भई काम अघि बढ्नेछ ।’
चिनियाँ टोलीले ग्यासको मात्रा र गुणस्तरलगायतका थप परीक्षणका लागि चट्टानका नमुना संकलन गरी चीन लगेको थियो । ‘पेट्रोलियम पदार्थको अनुमान गरेर अन्वेषणको काम थालिएको थियो, अहिले ग्यास धेरै रहेको पाइयो, उसले आयल टेस्टिङको काम पनि गरिरहेको छ, त्यसपछि पेट्रोलियम पदार्थको भण्डारणको अवस्थाबारे पनि जानकारी आउँछ,’ उपमहानिर्देशक नापितले भने, ‘प्रारम्भिक प्रतिवेदनले सकारात्मक सन्देश दिएको छ, अब व्यावसायिक परीक्षणको बाटो खुलेको छ ।’
दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन्का लागि २०७२ चैतमा चीन र नेपालका प्रधानमन्त्रीबीच द्विपक्षीय समझदारी भएको थियो । त्यस आधारमा २०७६ असोजबाट झन्डै ६ महिना खानी विभाग र चिनियाँ प्राविधिकको टोलीले प्रारम्भिक अध्ययन गरेको थियो भने २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओजिकल सर्भे कम्पनीबीच अन्वेषण तथा उत्खनन्का लागि २ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको थियो । तर कोरोना महामारी, उत्खनन् र अन्वेषणका ठूला उपकरण ल्याउन ढिलाइ, सडक समस्या, जग्गा प्राप्तिलगायत कारण काम धकेलिएको विभागका सूचना अधिकारी मुकुन्द भट्टराईले बताए । उनका अनुसार सन् २०१९ फेब्रुअरीमा ३ वर्षका लागि गरिएको सम्झौताको म्याद सकिएपछि फेरि २०२२ मा आयोजनाले म्याद थपेको थियो ।
विभागका अनुसार २०८० वैशाख २८ देखि २०८१ पुससम्म ड्रिलिङसहित दोस्रो चरणको अन्वेषण सकेपछि चिनियाँ प्राविधिकको टोली नमुना लिएर फर्किएको थियो । ‘सुरुमा कोरोनाले समस्या बनायो, पछि सडक साघुँरो हुँदा ड्रिलिङका काम गर्ने ठूला उपकरण आउन सकेनन्,’ उनले भने, ‘केही समय जग्गा विवादको समस्या समाधान गर्न पनि लाग्यो, जसले अन्वेषणको काममा बाधा पुगेको थियो, समयमै भएको भए अहिलेसम्म व्यावसायिक उत्पादन थालिसक्थ्यौँ ।’
उनका अनुसार पहिलो चरणमा सेस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेको काम गरिएको थियो भने दोस्रो चरणमा जमिन खनेर नमुना निकाल्ने (ड्रिलिङ) को काम भएको हो । ड्रिलिङका लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जसमा झन्डै ७० जना प्राविधिकले १९ महिना काम गरेको उनले जानकारी दिए । सो समयमा करिब १ सय स्थानीय मजदुरले पनि रोजगारी पाएका थिए ।
दैलेखमा ग्यास उत्पादनको काम भए मुलुक नै आत्मनिर्भर बन्ने उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहले बताए । ‘ग्यासको व्यवसायिक उत्पादन थालिए नेपालको आर्थिक भार घट्नेछ, विदेशी मुद्रा बचत हुनेछ, जसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउनेछ,’ उनले भने, ‘व्यावसायिक उत्पादन भए सरकारलाई ठूलो मात्रामा राजस्व प्राप्त हुन्छ, विदेशी लगानीको आकर्षण हुन्छ र प्रविधि हस्तान्तरणका लागि अवसर खुल्छ ।’ व्यावसायिक उत्पादन सुरु भएपछि ठूलो संख्यामा स्थानीय रोजगारी उपलव्ध हुने र पूर्वाधार विकासमा पनि टेवा पुग्ने उनले बताए ।
मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्साल दैलेखमा ग्यासको व्यावसायिक उत्पादन थालिएपछि नेपालले भारत र चीन दुवैबाट रणनीतिक भूराजनीतिक लाभ लिन सक्ने बताउँछन् । ‘तेल प्रशोधन संयन्त्र निर्माण गरेर क्षेत्रीय ऊर्जाको केन्द्र पनि बनाउन सकिन्छ, यसले आयात प्रतिस्थापन र व्यापार घाटा न्यूनीकरणमा पनि ठूलो टेवा पुर्याउनेछ,’ उनले भने, आसपासका क्षेत्रमा सहायक उद्योग र नवीन उद्यमको विकास गरी कर्णालीको ठूलो जनसंख्यालाई यही रोजगारी दिन सकिने अवस्था पनि छ ।’
रसायनशास्त्री विजय शर्माले मिथेन ग्यास पेट्रोल–डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिने बताए । ‘मिथेन ग्यासबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न पनि सकिन्छ,’ उनले भने, ‘मिथेनबाट हाइड्रोजन छुट्टाएर अमोनिया ग्यास निकालेर मल कारखानामा पनि प्रयोग गर्न सकिन्छ ।’
विभागका अनुसार अहिलेसम्म दैलेखको शिरस्थान, नाभीस्थान र पादुकाका करिब ३ किलोमिटर आसपासका क्षेत्रमा मात्र ड्रिलिङ गरिएको छ । ‘पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएका यस्ता तीनवटा ठाउँ छन्,’ विभागका उपमहानिर्देशक नापितले भने, ‘ती ठाउॅमा पनि अन्वेषण गरे ग्यासको भण्डारण रहेको परिणाम बढ्नेछ ।’
उनका अनुसार आगामी चरणका काम गर्न भने फेरि चीन सरकारसँग नयाँ सम्झौता गर्नुपर्ने हुन्छ । ‘अहिलेसम्मको सम्झौताअनुसारको फिल्डमा हुनुपर्ने सबै काम चिनियाँ टोलीले सकिसकेको छ, पहिलो चरणमा सकारात्मक सन्देश आएपछि अब परीक्षण उत्पादनको काम कसरी अघि बढाउने भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘चिनियाँ अधिकारीहरुले डिसेम्बरसम्म अन्तिम प्रतिवेदन पठाउँछौँ भनेका छन्, त्यो रिपोर्ट नआउँदासम्म हामी आगामी चरणको प्रोजेक्ट डिजाइनको काम सक्छौँ ।’ उनका अनुसार अहिले दुई जना चिनियाँ प्राविधिक जलजले क्षेत्रमै छन् भने सशस्त्र प्रहरीले अन्वेषणस्थलको सुरक्षा गरिरहेको छ ।
के हो मिथेन ग्यास ?
मिथेन हरितगृह ग्यास हो । हाइड्रोजन र कार्बनबाट बनिने भएकाले यसलाई हाइड्रोकार्बन भनिन्छ । प्राकृतिमा यो विशेष गरी लामो समयसम्म रहेका जैविक वस्तुहरू थुप्रिदा,खाँदिँदा पनि बन्ने गर्छ । यसको प्रयोग ऊर्जाका रूपमा पनि हुने गर्छ । मिथेन ग्यासलाई एलपी ग्यासको सिलिन्डरमा भर्न नसकिने भएकाले छुट्टै ठूल्ठूला ग्यास सिलिन्डर आवश्यक पर्ने विज्ञको भनाइ छ । एलपी ग्यास पेट्रोलियम पदार्थमा मिसिएको हुन्छ भने फोहोरमैलाबाट बन्ने मिथेन ग्यास पानीसँग मिसिएको हुन्छ ।
*यसअघि दैलेखमा भेटिएको मिथेन ग्यासको परिमाण १ सय १२ अर्ब घनमिटर हुनुपर्नेमा १ अर्ब १२ करोड हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ । -सम्पादक
