सन् १९७८ मै जाइका र खानी तथा भूगर्भ विभागको अध्ययनले भनेको थियो : काठमाडौंमा ३ सय मिलियन क्युबिक मिटर ग्यास छ
काठमाडौँ — मंगलबार ललितपुर महालक्ष्मी नगरपालिका-५ शान्तिटोलमा बोरिङ निर्माणका क्रममा आगोको ज्वाला निस्किएको छ । स्थानीय खानेपानी आयोजनाका लागि निर्माणाधीन बोरिङबाट ग्यास निस्किएको हो ।
महालक्ष्मी नगरपालिका-५ का वडाध्यक्ष कपिल केसीका अनुसार टीकाथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बोरिङको काम सकेर सिलिङ गर्ने क्रममा आगोको लप्का निस्किएको हो । उनका अनुसार आगोको लप्का जमिनबाट धेरै माथिसम्म पुगेको छ । उनले भने, 'पाइप गाडेर अन्तिममा सिल गर्न वायरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको हो ।' उनका अनुसार उक्त बोरिङ झन्डै २७५ मिटर गहिराइको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरहरि रेग्मीले अनुगमनपछि खानी तथा भूगर्भ विभागको टोलीलाई खबर गरिएको बताए । उनी भन्छन्, 'यसअघि पनि इनार र बोरिङ खन्दा अलिअलि ग्यास निस्किएको त देखेको हो । तर टीकाथलीमा अलि धेरै नै निस्कियो ।' खानी तथा भूगर्भ विभागले रवि आचार्यको नेतृत्वमा एउटा टोली अनुगमनमा पठाइसकेको छ ।
काठमाडौं उपत्यकामा इनार र बोरिङ खन्ने क्रममा ग्यास निस्किएको यो पहिलो घटना भने होइन । यसअघि २०७९ साउनमा काठमाडौंको जोरपाटी लोसेटारमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको थियो । ग्यासको मुस्लो तीन तलामाथिसम्म पुगेको थियो भने गन्ध पूरै टोलमा फैलिएको थियो । त्यस्तै ८ वर्षअघि भक्तपुर पिलागाउँमा पनि डिप बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगलागी भएको थियो ।
किन निस्किन्छ काठमाडौंमा ग्यास?
२०७२ साल पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उपत्यकास्तरीय कार्यकर्ता भेलामा ‘अलिकति समय पाए घरघरमा ग्यासको पाइप फिट गरिदिन्छु’ भनेर भाषण गरेका थिए । यद्यपि उनले कस्तो ग्यास भन्ने खुलाएका थिएनन् । एलपीजी ग्यास घरघरमा पाइपबाट पुर्याउन सहज छ । तर काठमाडौं उपत्यकामा पाइने प्राकृतिक ग्यास पाइपबाट वितरण गर्न कठिन हुने खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाले बताइन् ।
अहिले ललितपुरमा भेटिएको ग्यास मिथेन हो, जुन कम्प्रेस्ड न्याचुरल ग्यास(सीएनजी) हो । मिथेन हरितगृह ग्यास हो । हाइड्रोजन र कार्बनबाट बनिने भएकाले यसलाई हाइड्रोकार्बन भनिन्छ । प्राकृतिमा यो विशेष गरी लामो समयसम्म रहेका जैविक वस्तुहरू थुप्रिदा,खाँदिँदा पनि बन्ने गर्छ । यसको प्रयोग ऊर्जाका रूपमा पनि हुने गर्छ । मिथेन ग्यासलाई एलपी ग्यासको सिलिन्डरमा भर्न नसकिने भएकाले छुट्टै ठूल्ठूला ग्यास सिलिन्डर आवश्यक पर्ने प्रवक्ता झाको भनाइ छ ।एलपी ग्यास पेट्रोलियम पदार्थमा मिसिएको हुन्छ भने फोहोरमैलाबाट बन्ने मिथेन ग्यास पानीसँग मिसिएको हुन्छ ।
सन् १९७८ मै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) र खानी तथा भूगर्भ विभागको टोलीले काठमाडौं उपत्यकामा रहेको प्राकृतिक ग्यासबारे अध्ययन गरेको थियो । उक्त टोलीले ललितपुरको टीकाथली, इमाडोल, बालकुमारी, शंखमूल, भक्तपुरको बालकोट, काठमाडौंको कोटेश्वर, तीनकुने, टेकु,कालीमाटी, विष्णुमती किनार, भृकुटीमण्डपलगायत उपत्यकाका विभिन्न १४ स्थानमा अध्ययनका लागि इनार नै खनेको थियो । जसलाई 'ग्यास कुवा'समेत भन्ने गरिएको थियो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा करिब २६ वर्गकिलोमिटरमा ३ ब्लकमा विभाजित गरी १४ वटा ग्यास कुवा ड्रिल गरिएको थियो । अहिले ग्यास निस्किएकै टीकाथली क्षेत्रमा पनि उक्त टोलीले २०४९/५० मा ३ सय मिटर गहिराइको कुवा खनेर परीक्षण गरेको थियो ।
अध्ययन टोलीले सतहमुनिको भौगोलिक अवस्थाको अध्ययन गरी मिथेन ग्यास उत्पादन गर्न सकिने प्रारम्भिक प्रतिवेदनसहित उत्खननका लागि सुझाएको थियो । विभागकी प्रवक्ता झाका अनुसार ३ सयदेखि ५७० मिटर गहिराइका इनार खनिएका थिए । ती सबै इनारको सुरक्षाका लागि अहिले पनि विभागले एक-एक जना गार्ड राखेको छ । 'डेमोनेस्ट्रेसन प्रोजेक्ट'अन्तर्गत ग्यास उत्पादन गरिएर टेकु अस्पतालमा वितरणसमेत गरिएको प्रवक्ता झाले बताइन् । उक्त अध्ययनले काठमाडौं उपत्यकामा करिब ३ सय मिलियन क्युबिक मिटर ग्यास रहेको देखाएको थियो ।
सन् १९७८ पछि भने काठमाडौं उपत्यकामा रहेको प्राकृतिक ग्यास र वितरणबारे अध्ययन नभएको उनको भनाइ छ । पहिलेभन्दा अहिले काठमाडौंको जनघनत्व बढेकाले पनि पाइपबाट ग्यास वितरण गर्न कठिन हुने उनले बताइन् । 'अहिले सुरक्षाका दृष्टिकोणले पनि पाइपबाट काठमाडौंका ग्यास वितरण गर्न कठिन छ, बाक्लो बस्ती भएकाले जोखिम बढी हुन्छ ।'
पछिल्लो समय पानीका पाइप फुटिरहेको दृष्टान्त उल्लेख गर्दै उनले काठमाडौं उपत्यकाको प्राकृतिक ग्यास औद्योगिक प्रयोजनका लागि प्रयोग गर्न सकिने बताइन् । राष्ट्रिय जनगणना-२०७८ अनुसार काठमाडौंको जनघनत्व १७ हजार ४ सय प्रति वर्गकिलोमिटर छ । जुन राष्ट्रिय जनघनत्व(१८९)भन्दा ८७ गुणाभन्दा पनि धेरै हो । प्रवक्ता झाले काठमाडौंको प्राकृतिक ग्यासलाई उद्योग, होटेल र अटोमोबाइल्स क्षेत्रले प्रयोग गर्न सक्ने बताइन् । भारतमा भने व्यावसायिक रूपमा सीएनजी प्रयोग हुँदै आएको छ ।
नेपालमा पनि नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-२ मा एन्भीपावर इनर्जी एन्ड फर्टिलाइजर प्राइभेट लिमिटेडले सीएनजी उत्पादन गरिरहेको छ । ६ वर्षअघि स्थापना भएको उक्त उद्योगले विभिन्न कठिनाइका कारण उत्पादन घटाइरहेको बताएको छ । उद्योगका सञ्चालक अभिजित अग्रवाल भन्छन्, 'कच्चा पदार्थ र प्राविधिक कठिनाइका कारण हामीले भनेजस्तो उत्पादन गर्न सकेका छैनौँ । आर्थिक मन्दीले पनि असर गरेको छ ।'
दैनिक १५ सय किलो क्षमताको उत्पादन भए पनि अहिले ५० देखि १०० किलो मात्र सीएनजी उत्पादन गरिरहेको उनले बताए । उत्पादित ग्यास नजिकका उद्योगहरूलाई दिँदै आएको उनले बताए ।
