चिनियाँ भाषा परीक्षा दिन लुम्बिनीमा भारतीयको लर्को

भारतमा चिनियाँ भाषा परीक्षा केन्द्र निकै कम रहेकाले र तिनमा सहभागी हुनै एक वर्षसम्म कुनुपर्ने हुनाले भारतीय नागरिक परीक्षा दिन लुम्बिनी आउने गरका छन्

असार १, २०८२

मनोज पौडेल, दीपेन्द्र बडुवाल

Indians rush to Lumbini to take Chinese language test

लुम्बिनी — भारतको गुजरातस्थित अहमदावादबाट जयद्वीप कौरले देवदह आएर चिनियाँ भाषाको लेभल–४ परीक्षा दिए । गुजरातमा सञ्चालित चिनियाँ लगानीका ठूल्ठूला उद्योगमा काम गर्न भाषा सिकेकाले ग्राह्यता पाउने भएकाले उनी लगातार ४० घण्टा रेलयात्रा गरेर सुनौली हुँदै लुम्बिनी आएका हुन् । 

पञ्जाबकी आँचल ठाकुर स्नातक पढ्न चीन जाने तयारीमा छिन् । त्यसैका लागि उनी चिनियाँ भाषा परीक्षा दिन लुम्बिनी आइपुगेकी छन् । उनले भनिन्, ‘गुगल सर्च गरेर लुम्बिनीको पत्ता लगाएँ । डेढ दिनको यात्रामा यहाँ आइपुगें ।’

जयद्वीप र आँचलजस्तै रोजगारी र अध्ययनका लागि चिनियाँ भाषा सिक्ने भारतीयको संख्या बढ्दो छ । उनीहरूले भारतमै चिनियाँ भाषा सिक्न सक्छन् । तर त्यहाँ चिनियाँ भाषाका परीक्षा केन्द्र निकै कम छन् र तिनमा समयमै परीक्षा दिन पाइँदैन ।

‘भारतमै भाषा परीक्षा दिन एक वर्षसम्म कुर्नुपर्छ । त्यही भएर आउन–जान ८० घण्टा बढी लाग्ने भए पनि परीक्षा दिन लुम्बिनी आएँ,’ जयद्वीपले भने । उनका अनुसार भारतमै रहेका चिनियाँ लगानीका उद्योगमा पनि चिनियाँ भाषा जानेको हुनुपर्छ । 

चीन सरकारको शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त चिनियाँ भाषाका परीक्षा केन्द्र नेपालमा चार ठाउँमा छन् । काठमाडौंमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र एलआरआई इन्टरनेसनल विद्यालयमा परीक्षा केन्द्र छ । उपत्यका बाहिर लुम्बिनी बौद्ध विश्वविद्यालयमा मात्र छ । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत सिटी क्याम्पस देवदहमा चिनियाँ भाषाको परीक्षा केन्द्र (एचएसके टेस्ट सेन्टर) छ । सन् २०२४ अप्रिलदेखि देवदहमा परीक्षा हुँदै आएको छ । यहाँ परीक्षा दिन आउनेमा करिब ५० प्रतिशत भारतीय छन् । 

न्यून शुल्क र नियमित परीक्षा सञ्चालन हुने हुँदा भारतीय विद्यार्थीको आकर्षण बढेको लुम्बिनी बौद्ध विश्वविद्यालयका चिनियाँ भाषाका सहप्राध्यापक कुमार खड्काले बताए । ‘भारतको मुम्बईमा मात्र नियमितजस्तो परीक्षा हुन्छ । अरू ठाउँमा अनियमित छ । मुम्बईमा पनि सिट सीमित हुन्छ,’ उनले भने, ‘त्यही भएर भारतीयका लागि नेपालको लुम्बिनी बढी रोजाइमा पर्छ ।’ 

लुम्बिनीमा गैरमातृभाषीका लागि एचएसके परीक्षा दिन १ हजार ४ सय ५० र १ हजार ५ सय ५० रुपैयाँ शुल्क लाग्छ । भारतमा त्यही परीक्षाका लागि ५/७ हजार भारतीय रुपैयाँसम्म लाग्छ । सस्तो शुल्क, सरल यातायात सुविधा हुँदा भारतीय यता आकर्षित भएको प्राध्यापक खड्काले बताए । कतिपय भारतीय नागरिक भाषा सिक्नै पनि लुम्बिनी आइपुग्छन् । 

लुम्बिनीमा परीक्षाका लागि अनलाइन आवेदन र शुल्क बुझाउने सुविधा छ । परीक्षा दिएको एक महिनामा नतिजा प्रकाशन हुन्छ । परीक्षाको नतिजा डिजिटल रूपमा डाउनलोड गरेर लिन सकिन्छ । ‘हार्डकपी’ चाहिए मात्र विश्वविद्यालय आउनुपर्छ । 

चिनियाँ नयाँ वर्षका बेला एक महिनाबाहेक सबै महिनामा परीक्षा हुन्छ । वर्षभरिको क्यालेन्डर सुरुमै प्रकाशित हुन्छ । परीक्षाको प्रश्नपत्र पनि अनलाइन आउँछ, उत्तर अनलाइनमै पठाइन्छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

दीपेन्द्र

Link copied successfully