आज देश-दुनियाँमा के-के भयो ?

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — भिजिट भिसा प्रकरणको छानबिन तथा अध्ययन समिति बनाउन सत्तारूढ दल तयार, भ्रष्टाचारको आरोपमा जसपा मधेश प्रदेश सांसद सरोजकुमार सिंह पक्राउ, ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ अनुमति नदिन आयोगलाई बोर्डको पत्र, अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटनाग्रस्तदेखि नेपालले विश्वविजेता वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० सिरिज खेल्नेसम्मका खबर आज चर्चामा रहे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा भएको भिजिट भिसा प्रकरणको छानबिन तथा अध्ययन समिति बनाउन सत्तारूढ दलहरू एमाले र कांग्रेस तयार भएका छन् । संघीय संसद् नयाँ बानेश्वरमा सत्तारूढ र विपक्षी दलहरूको विभिन्न चरणको छलफलपछि भिजिट भिसा प्रकरणको छानबिन तथा अध्ययन समिति बनाउने सम्बन्धमा सहमति जुटेको दुवै पक्षका नेताहरूले जानकारी दिएका छन् । भिजिट भिसा छानबिनको माग गर्दै विपक्षी दलहरूले जेठ १३ यताका प्रतिनिधिसभाका बैठक अवरुद्ध गर्दै आएका थिए ।  

००००

मधेश प्रदेश सांसद सरोजकुमार सिंह अनामनगरबाट पक्राउ परेका छन् । प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । उनी जसपा सांसद हुन् । उनले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ ।  

००००

नेपाल धितोपत्र बोर्डले विद्युत् नियमन आयोगलाई पत्र लेखेर ९० भन्दा मुनि नेटवर्थ रहेका जलविद्युत कम्पनीलाई प्राथमिक सेयर निष्काशन (आईपीओ) अनुमति नदिन आग्रह गरेको छ । झन्डै दुई वर्षदेखि आईपीओ अनुमति नदिएको र अनुमति दिलाइदिन्छु भन्दै बिचौलियाहरुले कमिसन माग्न थालेको भन्दै धितोपत्र बोर्डको चर्को विरोध भइरहेको छ । यही बेला ९० मुनिका जलविद्युत् कम्पनीलाई आईपीओ अनुमति नदिन बोर्डले आयोगलाई लेखेको पत्र बाहिरिएको हो । 

००००

भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । प्रारम्भिक सूचना अनुसार टेक अफ गरेपछि विमान दुर्घटनामा परेको हो । सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो । जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । 

००००

नेपालले वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी–२० ऐतिहासिक सिरिज खेल्ने भएको छ । सिरिजको आयोजना नेपाल क्रिकेट संघ (क्यान) रहेको छ  । खेल यूएईको सारजाह त्रिकेट मैदानमा हुनेछ । नेपालले दुई देशीय सिरिजमा ट्वान्टी–२० विश्वकपको पूर्व विजेता वेस्ट इन्डिजको सामना गर्न लागेको यो नै पहिलो पटक हुनेछ । 

कान्तिपुर

Link copied successfully