भिजिट भिसा प्रकरणको छानबिन तथा अध्ययन समिति बनाउन सत्तारूढ दल तयार 

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

The ruling party is ready to form an investigation and study committee on the visit visa issue

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा भएको भिजिट भिसा प्रकरणको छानबिन तथा अध्ययन समिति बनाउन सत्तारूढ दलहरू एमाले र कांग्रेस तयार भएका छन् । संघीय संसद् नयाँ बानेश्वरमा सत्तारूढ र विपक्षी दलहरूको विभिन्न चरणको छलफलपछि भिजिट भिसा प्रकरणको छानबिन तथा अध्ययन समिति बनाउने सम्बन्धमा सहमति जुटेको दुवै पक्षका नेताहरूले जानकारी दिएका छन् ।

भिजिट भिसा छानबिनको माग गर्दै विपक्षी दलहरूले जेठ १३ यताका प्रतिनिधिसभाका बैठक अवरुद्ध गर्दै आएका थिए । सत्तारूढ दलहरूले भने अख्तियारले अनुसन्धान गरिरहेकाले विपक्षीका माग पूरा नहुने अडान राख्दै आएका थिए । बजेटमाथिको छलफल नै प्रभावित भएपछि सत्तारूढ दलहरू भिजिट भिसा प्रकरणको छानबिन तथा अनुसन्धान समिति गठनका लागि प्रतिबद्धता जनाउन तयार भएका हुन् ।

बहुपक्षीय बैठकमा सहभागी कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र श्यामकुमार घिमिरे, एमालेका महेश बर्तौला, माओवादीका वर्षमान पुन र हितराज पाण्डेले संसद‍्को अवरोध हटाउनका लागि दलहरू सहमति नजिक पुगेको र त्यसका लाग भिजिट भिसाको छानबिन तथा अध्ययन समिति बनाउन सबै पक्ष तयार रहेका कान्तिपुरलाई बताए । सहमतिपत्रको भाषा कस्तो बनाउने भन्नेबारेमा सत्तारूढ र विपक्षी दलका नेताहरू थप छलफलमा जुटेका छन् । 

यसअघि छानबिनको लिखित सुनिश्चितता गर्न विपक्षी दलले सत्तारूढ पक्षसँग माग गरेका थिए । भिजिट भिसा प्रकरणको न्यायिक वा संसदीय छानबिन तथा अध्ययन के हुने भन्नेबारे थप छलफल भइरहेको हो ।  लिखित रुपमा सुनिश्चितता गरेर संसद्को अवरोध हटाउन विपक्षी दलहरूले सत्तापक्षसमक्ष माग राखेका थिए । विपक्षीको उक्त प्रस्तावपछि सत्तारूढ कांग्रेस र एमालेका नेताबीच छलफल भएर छानबिन तथा अध्ययनका लागि प्रतिबद्धता जनाउने सहमति जुटेको नेताहरूले बताएका छन् ।

संसद् भवनमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमाले सचिव योगेश भट्टराई, रास्वपाका विराजभक्त श्रेष्ठ, डीपी अर्याल र सन्तोष परियारलगायत छलफलमा जुटेका थिए । 

बिहीबार ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा दलहरूबीच सहमति नजुटेपछि विपक्षी दलहरू माओवादी, रास्वपा, एकीकृत समाजवादी लगायतका नेता बसेर सत्तापक्षसँग छानबिनको लिखित सुनिश्चितता माग गरेका थिए ।

कान्तिपुर

Link copied successfully