काठमाडौँ — नेपाल धितोपत्र बोर्डले विद्युत् नियमन आयोगलाई पत्र लेखेर ९० भन्दा मुनि नेटवर्थ रहेका जलविद्युत कम्पनीलाई प्राथमिक सेयर निष्काशन (आईपीओ) अनुमति नदिन आग्रह गरेको छ ।
झन्डै दुई वर्षदेखि आईपीओ अनुमति नदिएको र अनुमति दिलाइदिन्छु भन्दै बिचौलियाहरुले कमिसन माग्न थालेको भन्दै धितोपत्र बोर्डको चर्को विरोध भइरहेको छ । यही बेला ९० मुनिका जलविद्युत् कम्पनीलाई आईपीओ अनुमति नदिन बोर्डले आयोगलाई लेखेको पत्र बाहिरिएको हो ।
‘२०८० पुस १२ मा सार्वजनिक लेखा समितिको वैठकमा पुनःमूल्यांकन नगरी वास्तविक नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्र प्राथमिक सेयर (आईपीओ) जारी गर्न दिने गरी कार्य सम्पादन गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन प्राप्त भएको सन्दर्भमा त्यस आयोगले संगठिन संस्थाहरुलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गर्दा सम्मानित समितिको उल्लिखित निर्देशनलाई समेत मध्यनजर गर्दै सहयोग गरिदिनुहुन निर्णायानुसार अनुरोध छ,’ धितोपत्र बोर्डले आयोगलाई लेखेको पत्रमा उल्लेख छ ।
यसअघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ०८० पुस १२ गते नेपाल धितो पत्र बोर्डलाई नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्र प्राथमिक सेयर (आईपीओ)जारी गर्ने व्यवस्था मिलाउन दिएको निर्देशन दिएको थियो । सोही निर्देशन अहिले पनि कायमै रहेको भन्दै बोर्डले धेरै जलविद्युत् कम्पनीहरुलाई आईपीओ अनुमति दिएको छैन ।
