आज देश-दुनियाँमा के-के भयो ?

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति विवादबारे निर्णय असार १८ मा सुनाइने, तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाहीको चेतावनी, काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दादेखि विश्वकप २०२६ का लागि ब्राजिल छनोटसम्मका खबर आज चर्चामा रहे । 

०००००

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निर्णय सुनाउने मिति सरेको छ । न्यायाधीशहरू छलफलमै रहेकाले निर्णय सुनाउने मिति सरेको सर्वोच्चका प्रवक्ता सह(रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिए । प्रवक्ता कुइँकेलका अनुसार निर्णय सुनाउने अर्को मिति असार १८ गते तोकिएको छ । 

०००००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयलाई तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही गरिने व्यहोराको पत्र पठाएको छ । उक्त पत्रमा त्यसो नगरिए सेवा सुविधा बापतको रकम असुलउपर गर्ने विषयसमेत समेटिएको छ ।  

०००००

सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो । परियारसहित महानगरका तत्कालीन निर्देशकहरु रविन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । 

०००००

मानव विकास सूचकांक (एचडीआई)मा गत वर्षको तुलनामा यस वर्ष नेपालको स्थानमा एक अंकको सुधार आएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको मानव विकास सूचकांक प्रतिवेदन २०२५ले नेपाल १४५औं स्थानमा परेको देखाएको हो । विश्वका १९३ देशमध्ये गत वर्ष नेपाल १४६औं स्थानमा रहेकोमा यसवर्ष केही सुधार भएर एक स्थान माथि उक्लिएको हो । 

०००००

ब्राजिलले उत्तर अमेरिकामा हुने विश्वकप २०२६ का लागि बुधबार आफ्नो छनोट निश्चित गरेको छ । साओ पाओलोमा भएको दक्षिण अमेरिकी विश्वकप छनोटमा खेलमा पाराग्वेलाई १–० ले हराउँदै ब्राजिलले यो उपलब्धि चुमेको हो ।

कान्तिपुर

Link copied successfully