काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्का लगाउँदा मिलेमतो गरेको अभियोग, सातै जनालाई जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

Corruption case against 7 people including Pariyar, the then Chief Administrative Officer of Kathmandu Metropolis

काठमाडौँ — सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

परियारसहित महानगरका तत्कालीन निर्देशकहरु रविन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । सातैजना प्रतिवादीलाई अख्तियारले जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरिएको छ । 

महानगरपालिकाको सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्म ढल निर्माणसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले अनुसन्धान गरेको थियो । जसमा सबैभन्दा कम अंकमा कबोल गरेका ठेकेदारलाई अयोग्य ठहर गरी बढी अंक कबोल गरी ठेक्का लगाएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । 

कम अंक कबोल गर्ने समानान्तर सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँबराबरको बोलपत्र पेस गरेकोमा महानगरका तत्कालीन कर्मचारीहरुले बढी अंक कबोल गर्ने कल्पवृक्ष कोहीनूरलाई २२ करोड ४० लाख ९४ हजार ६१२ प्रस्तावमा सम्झौता गरेकोमा बढी अंक कबोल गरिएको रकमलाई बिगो कायम गरी अख्तियार मुद्दा दायर गरेको हो । यसरी मिलेमतोमा सार्वजनिक संस्थाको सम्पत्ति हानिनोक्सानी गरेकोमा महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

महानगरको कार्यकारीबाट सरुवा भएर परियार त्यसपछि सूचना तथा प्रसारण विभागमा गएका थिए । 

कान्तिपुर

Link copied successfully