आज देश-दुनियाँमा के-के भयो ?

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — राइड सेयरिङ स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई प्रधानमन्त्री कार्यालयको पत्र, सरकारसँग सहमतिपछि पनि यातायात व्यवसायीले गाडी नचलाउँदा सर्वसाधारणलाई सास्ती, काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बितदेखि परिवारै भ्रष्टाचारमा संलग्न रहेको आरोपपछि मंगोलियाका प्रधानमन्त्रीको राजीनामासम्मको खबर चर्चामा रहे । 

 000

राइड सेयरिङ नियमावलीमा उल्लेखित प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई मंगलबार पत्र पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘यातायातसम्बन्धी महासंघ र संघसंगठनले आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रमले जनजीवन असहज भइरहेको सन्दर्भमा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता गरी जनजीवनलाई सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि गण्डकी प्रदेश सरकारलगायत प्रदेश सरकारहरुलाई नियमावलीमा उल्लेखित राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध भइ आएकोले उक्त निर्णय कार्यान्वयनको लागि पठाइएको छ ।’ 

000

सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भए पनि यातायात व्यवसायीले मंगलबार पनि सार्वजनिक सवारी साधन चलाएनन् । सार्वजनिक सवारी साधन नचलेपछि आज पनि सर्वसाधारणलले सास्ती भोग्नुपरेको छ ।  

000

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बित भएका छन् । उनीमाथि छानबिन गर्न ६ महिनाका लागि निलम्बनको पत्र पठाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताए । मेयर बालेन्द्र ९बालेन० शाहको मौखिक निर्देशनमा गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेलाई यसअघि सातबुँदे स्पष्टीकरण सोधिएको थियो ।  

000

दलहरूबीच सहमति नजुट्दा मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । यसअघि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको थियो । राष्ट्रिय सभा बैठक भने चलिरहेको छ । भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूले अडान राखेपछि संसद्‍मा गतिरोध देखिएको हो ।  

000

मंगोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन एर्डेनले राजीनामा दिएका छन् । संसद्‌मा विश्वासको मत गुमाएपछि उनले राजीनामा दिएका हुन् । सन् २०२१ मा उनले सत्ता सम्हालेका थिए । गत वर्षको चुनावमा ओयुन एर्डेनको मंगोलियन पिपुल्स पार्टी (एमपीपी) ले बहुमत ल्याउन नसकेपछि तीन दलको गठबन्धन सरकार बनेको थियो । 

कान्तिपुर

Link copied successfully