छोरा र उनकी प्रेमिकाको विलासी जीवनशैली झल्काउने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सर्वसाधारणले सम्पत्तिको स्राेतबारे प्रश्न उठाउन थालेका थिए
काठमाडौँ — मंगोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन एर्डेनले राजीनामा दिएका छन् । संसद्मा विश्वासको मत गुमाएपछि उनले राजीनामा दिएका हुन् । सन् २०२१ मा उनले सत्ता सम्हालेका थिए ।
गत वर्षको चुनावमा ओयुन एर्डेनको मंगोलियन पिपुल्स पार्टी (एमपीपी) ले बहुमत ल्याउन नसकेपछि तीन दलको गठबन्धन सरकार बनेको थियो ।
दुई सातायता राजधानी उलानबटारमा प्रधानमन्त्रीको परिवार भ्रष्टाचारमा संलग्न भएको भन्दै विरोध प्रदर्शन भएको थियो । यही प्रदर्शन बढ्दै गएको पृष्ठभूमिमा संसद्मा गोप्य मतदान भएको थियो । ६४ जनाको मत पाउनुपर्नेमा ओयुन एर्डेनले ४४ मत मात्र प्राप्त गरे । नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा भने रहनेछन् ।
प्रधानमन्त्रीका परिवारका सदस्यले सरकारी कोष दोहन गरेको र विलासी जीवनशैलीको आनन्द लिएको आरोप लाग्दै आएको छ । गत महिना एएफपीलाई दिएको एक बयानमा प्रधानमन्त्रीको कार्यालयले आरोपहरुको खण्डन गर्दै अस्वीकार गरेको थियो । चार वर्षभन्दा बढी प्रधानमन्त्री पदमा रहेका ओयुन एर्डेनले मतदानअघि संसद्मा बोल्दै अदृश्य स्वार्थ समूहले सरकार ढाल्न संगठित अभियान चलाएको आरोप लगाएका थिए ।
सोमबार पनि सयौं युवाले सेतो प्लेकार्ड बोकेर संसद् भवनअघि नाराबाजी गरेका थिए । उनीहरुले नारा लगाएका थिए, 'राजीनामा त सजिलो हो ।' धेरैजसो प्रदर्शनकारीले आफूहरू जरा गाढिएको भ्रष्टाचार र सामाजिक अन्यायप्रति आक्रोश व्यक्त गर्न आएको बताएका छन् ।
किन सुरु भयो मंगोलियामा प्रदर्शन ?
बीबीसीका अनुसार प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन एर्डेनका छोराले विलासी जीवनशैली झल्काउने तस्बिर सामाजिक सञ्जालमा राखेपछि सर्वसाधारणमा असन्तुष्टि सुरु भएको थियो । भाइरल भएका तस्बिरमा प्रधानमन्त्रीका छोरा र उनकी प्रेमिकाले इन्गेजमेन्टको छुट्टी मनाइरहेको र त्यस क्रममा महँगा ब्याग 'सो अप' गरेको देखिन्छ । यही तस्बिर सार्वजनिक भएपछि सर्वसाधारणले उनीहरूको विलासी जीवनशैलीमाथि प्रश्न उठाउन सुरु गरेका थिए ।
प्रधानमन्त्रीका छोराकी प्रेमिकाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरको क्याप्सनमा लेखिएको छ, 'ह्याप्पी बर्थ डे टु मी ।' अर्को तस्बिरमा भने यो जोडीले स्विमिङ पुलमा चुम्बन गरिरहेको देखिन्छ ।
बीबीसीले लेखेको छ, 'प्रर्दशनकारीले ओयुन एर्डेनका परिवारले कसरी विलासी जीवन धान्न सकेका छन् भनेर प्रश्न उठाएका थिए ।' अलजजिराले भने प्रधानमन्त्रीको परिवारको विलासी जीवनशैलीप्रति जनआक्रोश उकालो लाग्दै गएको लेखेको छ ।
