काठमाडौँ — काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको गेटमा सोमबार ठूलो जेब्रा झोला र कालो फोमको म्याट लिएर एक युवा ओहोरदोहोर गरिरहेका थिए । अलि पर थिइन्, २४ वर्षीया पूजा सेरला । ४० दिने नवजात शिशु काखमा लिएर गेटछेउको चिसो डिलमा उनी अधैर्य भएर टुसुक्क बसेकी थिइन् ।
गेटमा यताउति गरिरहेका उनका श्रीमान् रहेछन् । चार दिनअघि पूजा बाजुराको बूढीगंगाबाट काठमाडौं आएकी हुन् । शिशुलाई लगातार ज्वरो आएपछि उनले स्थानीय स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा देखाएकी थिइन् । जिल्ला अस्पतालले काठमाडौं जानु भनेपछि शिशु च्यापेर आफू काठमाडौं आएको उनले बताइन् । शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि दम्पतीले थाहा पाए, शिशुलाई निमोनिया मात्र भएको रहेनछ, मुटुमा पनि प्वाल परेको छ ।
शिक्षण अस्पतालले गंगालाल पठाएको रहेछ । सार्वजनिक यातायात बन्द भएकाले सोमबार शिशु लिएर दम्पती शिक्षण अस्पतालबाट गंगालालमा समयमै आइपुग्न सकेनन् । पूजाले सुनाइन्, ‘एकातिर बच्चा बिरामी छ, अर्कोतिर गाडी पाइएन, बहुतै आपत् पर्यो ।’ समयमै गंगालाल पुग्न नसकेपछि टिकट पाइएन । त्यसैले डाक्टरलाई नदेखाइकनै कलंकीस्थित श्रीमान्को डेरामा जान लागेका उनीहरू गंगालालको गेटमा अलपत्र अवस्थामा थिए ।
पूजाका श्रीमान् गाडी खोज्न यताउति भौंतारिरहेका थिए । गेटनजिकै उनले एउटा मोटरसाइकल भेटे । त्यसका चालक ‘अफलाइन’मा जान ‘बार्गेनिङ’ गर्न थाले । चालकले उनलाई अस्पतालदेखि कलंकी जान साढे तीन सय रुपैयाँ लाग्ने बताए, जबकि त्यति नै दूरीमा ट्याक्सीले ५ सय भाडा देखाइरहेको थियो । पूजाले भनिन्, ‘निमोनिया भएको बच्चालाई मोटरसाइकलमा त्यति लामो बाटो कसरी पो लैजाने ?’
पूजाका श्रीमान् धेरैबेरदेखि गाडी खोज्न भौंतारिरहेका थिए । के कारणले गाडी नपाइएको हो भन्ने पनि उनलाई थाहा थिएन । पूजाले दिग्दारी हुँदै भनिन्, ‘के भएर यस्तो भएको हो थाहा छैन, बेकारको दुःख मात्रै खेपियो ।’ धेरैबेरपछि सडकमा साझा यातायात देखे, गोंगबु बसपार्कसम्म मात्र जाने । आधा बाटो भए पनि छोटिन्छ भनेर उनीहरू त्यही गाडीमा चढे ।
अस्पताल आउन निकै सास्ती खेपेका सागर श्रेष्ठ पनि गंगालालकै गेटनजिकै बसिरहेका थिए । सर्लाही हरिवन घर बताउने सन्तोषकी ४७ वर्षीया श्रीमतीको मुटुमा रगत जमेको रहेछ । उपचारका लागि उनी एक महिनादेखि काठमाडौंको चाबहिलमा बस्दै आएका रहेछन् । अरू बेला बसमा अस्पताल ओहोरदोहोर गरिरहेका उनी सोमबार सार्वजनिक यातायात नपाएर पठाओमा हतारहतार अस्पताल आएका थिए । भन्दै थिए, ‘चाबहिलबाट बल्लबल्ल अस्पताल पठाओ बाइकमा आएँ, अस्पतालले आजै श्रीमतीलाई भर्ना गर्न भनेको छ । बस–ट्याक्सी केही पनि छैन, बिरामीलाई चाबहिलबाट यहाँसम्म कसरी ल्याउने, आपत् परेको छ ।’
यस्तै बन्दका कारण सास्ती झेल्न परेको दीपा परियार बताउँछिन् । काठमाडौं टोखामा बस्ने उनी कपडा सिलाउने टेलर सञ्चालन गर्छिन् । सामान लिन निस्केकी उनी जमल जाने गाडी पर्खिरहेकी थिइन् । एक घण्टा कुर्दा पनि बस नपाइएपछि ३० रुपैयाँ भाडामा पुगिने ठाउँमा २५० तिरेर पठाओ चढिन् । भन्छिन्, ‘कसले केका लागि किन बन्द गरेको हो, मलाई थाहा छैन । आजै सिलाइदिन पर्ने कपडा भएकाले महँगो भाडा तिरेर भए पनि सामान किनेर ल्याउनैपर्यो ।’
टोखा बस्दै आएका राज गुरुङ झोला बोकेर टन्टलापुर घाममा कोठा फर्किरहेका थिए । सामाखुसीमा कोरियन भाषा पढिरहेका उनलाई अरू दिनझैं समयमै कक्षामा पुग्नुपर्ने हतारो थियो । तर सार्वजनिक यातायात बन्दका कारण उनको सोमबारको पढाइ छुट्यो । ‘एक घण्टासम्म बस कुरें । अरू बेला १०/१० मिनेटमा आउने बस किन आएन भन्ने ठानें,’ उनले भने, ‘बन्द भन्ने थाहा पाएपछि घाममा हिँडेर जान सकिएन, आजको पढाइ छुट्यो ।’
राज गुरुङ
चितवनबाट काठमाडौं आएका ७५ वर्षीय हिरलाल कँडेल गंगालाल अस्पतालमा उपचार गराइरहेका छन् । बागबजारको एक होटलमा बसेका उनी अरू दिन सार्वजनिक सवारी चढेर अस्पताल आउनेजाने गरिरहेका थिए । तर सोमबार बिहान उनलाई अस्पताल आउन कम्ता आपत् परेन । उनले बस धेरै बेरसम्म पर्खेर बस्दा पनि पाएनन् । ट्याक्सी पनि भेटेनन् । धेरैबेर पर्खेपछि रातो नम्बर प्लेट भएको कार भेटे तर भाडा अचाक्ली महँगो । भन्छन्, ‘अस्पताल जानैपर्ने भएकाले असाध्यै चर्को भाडा तिर्न बाध्य भएँ ।’ मुटुको अप्रेसन गरेका हिरालाल यातायात बन्दले दुःख पाएको बताउँछन् ।
सिरहाकी कविता यादव र चितवनका हिरलाल कँडेल । उपचारका लागि काठमाडौं आएका उनीहरु सार्वजनिक सवारी नचल्दा निकै सकसमा परेको बताए । तस्बिरहरु : आरती पौडेल
कँडेलकै जस्तो समस्या थियो, सिराहाबाट मुटुरोगको उपचार गर्न रात्रिकालीन बस चढेर सोमबार बिहान झिसमिसेमै बसपार्क ओर्लेकी कविता यादवको । आइतबार साँझ गाडी चढ्ने बेलासम्म कवितालाई सोमबार देशभर सार्वजनिक सवारी बन्द छ भन्ने थाहा थिएन । बसपार्क झरेपछि अस्पतालसम्म जान गाडी नपाउँदा एकैछिन त उनी अत्तालिइन् । पहिलो पटक काठमाडौं आएको बताउने कविता भन्छिन्, ‘बन्द भन्ने थाहा पाएको भए, काठमाडौं नै आउने थिइनँ ।’
धेरैबेर कुर्दा पनि गाडी नभेटेपछि उनले ट्याक्सी खोजिन् । बल्लबल्ल रातो नम्बर प्लेट भएको कारका चालकले लगिदिने बताए । तर उनले असाध्यै चर्को भाडा तिर्नुपर्यो । १३ सय रुपैयाँ तिरेर काठमाडौं आएकी उनी बसपार्कबाट अस्पताल जान ७ सय रुपैयाँ तिर्न बाध्य भइन् । भन्छिन्, ‘भोलिपर्सि पनि यस्तै रह्यो भने त पैसाजति भाडा तिर्दैमा सकिन्छ होला ।’
– प्रशिक्षार्थी
