सार्वजनिक सवारी नचल्दा सर्वसाधारणलाई सास्ती

जेष्ठ २०, २०८२

आरती पौडेल

Common people suffering due to non-operation of public transport

काठमाडौँ — काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको गेटमा सोमबार ठूलो जेब्रा झोला र कालो फोमको म्याट लिएर एक युवा ओहोरदोहोर गरिरहेका थिए । अलि पर थिइन्, २४ वर्षीया पूजा सेरला । ४० दिने नवजात शिशु काखमा लिएर गेटछेउको चिसो डिलमा उनी अधैर्य भएर टुसुक्क बसेकी थिइन् ।

गेटमा यताउति गरिरहेका उनका श्रीमान् रहेछन् । चार दिनअघि पूजा बाजुराको बूढीगंगाबाट काठमाडौं आएकी हुन् । शिशुलाई लगातार ज्वरो आएपछि उनले स्थानीय स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा देखाएकी थिइन् । जिल्ला अस्पतालले काठमाडौं जानु भनेपछि शिशु च्यापेर आफू काठमाडौं आएको उनले बताइन् । शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि दम्पतीले थाहा पाए, शिशुलाई निमोनिया मात्र भएको रहेनछ, मुटुमा पनि प्वाल परेको छ । 

शिक्षण अस्पतालले गंगालाल पठाएको रहेछ । सार्वजनिक यातायात बन्द भएकाले सोमबार शिशु लिएर दम्पती शिक्षण अस्पतालबाट गंगालालमा समयमै आइपुग्न सकेनन् । पूजाले सुनाइन्, ‘एकातिर बच्चा बिरामी छ, अर्कोतिर गाडी पाइएन, बहुतै आपत् पर्‍यो ।’ समयमै गंगालाल पुग्न नसकेपछि टिकट पाइएन । त्यसैले डाक्टरलाई नदेखाइकनै कलंकीस्थित श्रीमान्को डेरामा जान लागेका उनीहरू गंगालालको गेटमा अलपत्र अवस्थामा थिए । 

पूजाका श्रीमान् गाडी खोज्न यताउति भौंतारिरहेका थिए । गेटनजिकै उनले एउटा मोटरसाइकल भेटे । त्यसका चालक ‘अफलाइन’मा जान ‘बार्गेनिङ’ गर्न थाले । चालकले उनलाई अस्पतालदेखि कलंकी जान साढे तीन सय रुपैयाँ लाग्ने बताए, जबकि त्यति नै दूरीमा ट्याक्सीले ५ सय भाडा देखाइरहेको थियो । पूजाले भनिन्, ‘निमोनिया भएको बच्चालाई मोटरसाइकलमा त्यति लामो बाटो कसरी पो लैजाने ?’

पूजाका श्रीमान् धेरैबेरदेखि गाडी खोज्न भौंतारिरहेका थिए । के कारणले गाडी नपाइएको हो भन्ने पनि उनलाई थाहा थिएन । पूजाले दिग्दारी हुँदै भनिन्, ‘के भएर यस्तो भएको हो थाहा छैन, बेकारको दुःख मात्रै खेपियो ।’ धेरैबेरपछि सडकमा साझा यातायात देखे, गोंगबु बसपार्कसम्म मात्र जाने । आधा बाटो भए पनि छोटिन्छ भनेर उनीहरू त्यही गाडीमा चढे ।

अस्पताल आउन निकै सास्ती खेपेका सागर श्रेष्ठ पनि गंगालालकै गेटनजिकै बसिरहेका थिए । सर्लाही हरिवन घर बताउने सन्तोषकी ४७ वर्षीया श्रीमतीको मुटुमा रगत जमेको रहेछ । उपचारका लागि उनी एक महिनादेखि काठमाडौंको चाबहिलमा बस्दै आएका रहेछन् । अरू बेला बसमा अस्पताल ओहोरदोहोर गरिरहेका उनी सोमबार सार्वजनिक यातायात नपाएर पठाओमा हतारहतार अस्पताल आएका थिए । भन्दै थिए, ‘चाबहिलबाट बल्लबल्ल अस्पताल पठाओ बाइकमा आएँ, अस्पतालले आजै श्रीमतीलाई भर्ना गर्न भनेको छ । बस–ट्याक्सी केही पनि छैन, बिरामीलाई चाबहिलबाट यहाँसम्म कसरी ल्याउने, आपत् परेको छ ।’

Common people suffering due to non-operation of public transportसागर श्रेष्ठ

यस्तै बन्दका कारण सास्ती झेल्न परेको दीपा परियार बताउँछिन् । काठमाडौं टोखामा बस्ने उनी कपडा सिलाउने टेलर सञ्चालन गर्छिन् । सामान लिन निस्केकी उनी जमल जाने गाडी पर्खिरहेकी थिइन् । एक घण्टा कुर्दा पनि बस नपाइएपछि ३० रुपैयाँ भाडामा पुगिने ठाउँमा २५० तिरेर पठाओ चढिन् । भन्छिन्, ‘कसले केका लागि किन बन्द गरेको हो, मलाई थाहा छैन । आजै सिलाइदिन पर्ने कपडा भएकाले महँगो भाडा तिरेर भए पनि सामान किनेर ल्याउनैपर्‍यो ।’

Common people suffering due to non-operation of public transportदीपा परियार

टोखा बस्दै आएका राज गुरुङ झोला बोकेर टन्टलापुर घाममा कोठा फर्किरहेका थिए । सामाखुसीमा कोरियन भाषा पढिरहेका उनलाई अरू दिनझैं समयमै कक्षामा पुग्नुपर्ने हतारो थियो । तर सार्वजनिक यातायात बन्दका कारण उनको सोमबारको पढाइ छुट्यो । ‘एक घण्टासम्म बस कुरें । अरू बेला १०/१० मिनेटमा आउने बस किन आएन भन्ने ठानें,’ उनले भने, ‘बन्द भन्ने थाहा पाएपछि घाममा हिँडेर जान सकिएन, आजको पढाइ छुट्यो ।’ 

Common people suffering due to non-operation of public transport

राज गुरुङ

चितवनबाट काठमाडौं आएका ७५ वर्षीय हिरलाल कँडेल गंगालाल अस्पतालमा उपचार गराइरहेका छन् । बागबजारको एक होटलमा बसेका उनी अरू दिन सार्वजनिक सवारी चढेर अस्पताल आउनेजाने गरिरहेका थिए । तर सोमबार बिहान उनलाई अस्पताल आउन कम्ता आपत् परेन । उनले बस धेरै बेरसम्म पर्खेर बस्दा पनि पाएनन् । ट्याक्सी पनि भेटेनन् । धेरैबेर पर्खेपछि रातो नम्बर प्लेट भएको कार भेटे तर भाडा अचाक्ली महँगो । भन्छन्, ‘अस्पताल जानैपर्ने भएकाले असाध्यै चर्को भाडा तिर्न बाध्य भएँ ।’ मुटुको अप्रेसन गरेका हिरालाल यातायात बन्दले दुःख पाएको बताउँछन् । 

Common people suffering due to non-operation of public transportसिरहाकी कविता यादव र चितवनका हिरलाल कँडेल । उपचारका लागि काठमाडौं आएका उनीहरु सार्वजनिक सवारी नचल्दा निकै सकसमा परेको बताए । तस्बिरहरु :  आरती पौडेल

कँडेलकै जस्तो समस्या थियो, सिराहाबाट मुटुरोगको उपचार गर्न रात्रिकालीन बस चढेर सोमबार बिहान झिसमिसेमै बसपार्क ओर्लेकी कविता यादवको । आइतबार साँझ गाडी चढ्ने बेलासम्म कवितालाई सोमबार देशभर सार्वजनिक सवारी बन्द छ भन्ने थाहा थिएन । बसपार्क झरेपछि अस्पतालसम्म जान गाडी नपाउँदा एकैछिन त उनी अत्तालिइन् । पहिलो पटक काठमाडौं आएको बताउने कविता भन्छिन्, ‘बन्द भन्ने थाहा पाएको भए, काठमाडौं नै आउने थिइनँ ।’

धेरैबेर कुर्दा पनि गाडी नभेटेपछि उनले ट्याक्सी खोजिन् । बल्लबल्ल रातो नम्बर प्लेट भएको कारका चालकले लगिदिने बताए । तर उनले असाध्यै चर्को भाडा तिर्नुपर्‍यो । १३ सय रुपैयाँ तिरेर काठमाडौं आएकी उनी बसपार्कबाट अस्पताल जान ७ सय रुपैयाँ तिर्न बाध्य भइन् । भन्छिन्, ‘भोलिपर्सि पनि यस्तै रह्यो भने त पैसाजति भाडा तिर्दैमा सकिन्छ होला ।’

– प्रशिक्षार्थी

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully