सार्वजनिक यातायात ठप्प छ, राइड सेयरिङ एपमार्फत सेवा दिइरहेकाहरू अफलाइनमा चर्काे भाडामा यात्रु लैजान 'पासाे' थापेर बसेका छन्
काठमाडौँ — काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको गेट । हातमा ठूलो जेब्रा झोला र कालो फोमको म्याट लिएर एक पुरुष ओहोरदोहोर गरिरहेका छन् । गेट नजिकै छिन्, एक महिला । जसको काखमा छ सानो शिशु ।
चालिस दिने नवजात शिशु काखमा राखेर चिसो डिलमा अधैर्य भएर बसेकी रहिछन्, २४ वर्षीया पूजा सेरला ।गेटमा यताउति गरिरहेका चाहिँ उनका श्रीमान् ।
चार दिनअघि पूजा बाजुराको बुढीगंगा नगरपालिकाबाट काठमाडौं आएकी हुन् । नवजात शिशुलाई लगातार ज्वरो आएपछि उनले स्थानीय स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा देखाएकी थिइन् । जिल्ला अस्पतालले काठमाडौं जानु भनेपछि शिशु च्यापेर यहाँ आइपुगिन् ।
त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि उनले थाहा पाइन्, शिशुलाई निमोनिया मात्रै भएको रहेनछ, मुटुमा प्वाल पनि परेको रहेछ । त्यही भएर शिक्षण अस्पतालले उनलाई गंगालाल अस्पताल पठाएको रहेछ ।
सार्वजनिक यातायात बन्द भएपछि उनीहरु शिक्षण अस्पतालबाट गंगालालमा समयमै आइपुग्न सकेनन् । पूजाले सुनाइन, 'एकातिर बच्चा बिरामी छ, अर्कोतिर गाडी पाइँदैन । बहुतै आपत पर्यो ।'
समयमै गंगालाल आइपुग्न नसकेपछि उनले टिकट पाइनन् । त्यसैले उनी कलंकीस्थित श्रीमान्को डेरामा जान अस्पतालको गेटमा आइपुगेकी थिइन् । श्रीमान् भने गाडी खोज्न अस्पतालमा यताउति भौंतारिरहेका थिए । उनी राइड सेयरिङ एपमार्फत पठाओ र इन्ड्राइभ मोटरसाइकल वा ट्याक्सी खोजिरहेका थिए । तर धेरै बेर प्रयास गर्दा पनि उनीहरुले केही साधन भेटेनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर चल्ने छोटा, मध्यम र लामा दुरीका सवारीसाधन ठप्प पारेपछि त्यसको सोझो मार पूजाजस्ता सर्वसाधारणलाई परेको छ । यही मारमा परेकालाई राइड सेयरिङ एपमार्फत सेवा दिनेहरुले पनि ठग्न खोजिरहेका छन् ।
अस्पताल गेटमा पूजाका श्रीमान्ले एउटा मोटरसाइकल भेटे । त्यसका चालक अफलाइनमा जान बार्गेनिङ गर्न थाले । ती मोटरसाइकल चालकले अस्पतालदेखि कलंकी जान साढे तीन सय रुपैयाँ लाग्ने बताए । जबकि त्यति नै दुरीमा त्यतिबेला अस्पतालबाट कलंकी जान एपमा ट्याक्सीमा नै ५ सय भाडा देखाइरहेको थियो । पूजाले भनिन, 'निमोनिया भएको बच्चालाई मोटरसाइकलमा त्यति लामो बाटो कसरी पो लैजाने ?'
उनका श्रीमान्ले धेरैबेर गाडी खोज्न यताउति गरे पनि केही साधन भेटेनन् । के कारणले गाडी नपाइएको हो भन्ने पनि उनलाई थाहा थिएन । पूजाले दिग्दारीको भावमा भनिन्, 'के भएर यस्तो भएको हो पनि थाहा छैन । बेकारको दु:ख मात्रै खेपियो ।'
धेरैबेर यताउति गर्दा पनि गाडी नपाएका बेला उनीहरुले सडकमा साझा यातायात देखे । यो गाडी गोंगबु बसपार्कसम्म जाने रहेछ । आधा बाटो भए पनि छोटिन्छ भनेर उनीहरु त्यही गाडीमा चढे । आधा बाटाे पार गरेपछि साँच्चै उनीहरु कसरी डेरा पुगे हाेलान् ?
