४५ दिने शिशु च्यापेर अस्पतालको गेटमा गाडी पर्खिरहेकी पूजा

सार्वजनिक यातायात ठप्प छ, राइड सेयरिङ एपमार्फत सेवा दिइरहेकाहरू अफलाइनमा चर्काे भाडामा यात्रु लैजान 'पासाे' थापेर बसेका छन्

जेष्ठ १९, २०८२

आरती पौडेल

Pooja waiting for the car at the gate of the hospital after giving birth to a 45-day-old baby

काठमाडौँ — काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको गेट । हातमा ठूलो जेब्रा झोला र कालो फोमको म्याट लिएर एक पुरुष ओहोरदोहोर गरिरहेका छन् । गेट नजिकै छिन्, एक महिला । जसको काखमा छ सानो शिशु ।

चालिस दिने नवजात शिशु काखमा राखेर चिसो डिलमा अधैर्य भएर बसेकी रहिछन्, २४ वर्षीया पूजा सेरला ।गेटमा यताउति गरिरहेका चाहिँ उनका श्रीमान् । 

चार दिनअघि पूजा बाजुराको बुढीगंगा नगरपालिकाबाट काठमाडौं आएकी हुन् । नवजात शिशुलाई लगातार ज्वरो आएपछि उनले स्थानीय स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा देखाएकी थिइन् । जिल्ला अस्पतालले काठमाडौं जानु भनेपछि शिशु च्यापेर यहाँ आइपुगिन् ।

त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि उनले थाहा पाइन्, शिशुलाई निमोनिया मात्रै भएको रहेनछ, मुटुमा प्वाल पनि परेको रहेछ । त्यही भएर शिक्षण अस्पतालले उनलाई गंगालाल अस्पताल पठाएको रहेछ ।

सार्वजनिक यातायात बन्द भएपछि उनीहरु शिक्षण अस्पतालबाट गंगालालमा समयमै आइपुग्न सकेनन् । पूजाले सुनाइन, 'एकातिर बच्चा बिरामी छ, अर्कोतिर गाडी पाइँदैन । बहुतै आपत पर्‍यो ।'

समयमै गंगालाल आइपुग्न नसकेपछि उनले टिकट पाइनन् । त्यसैले उनी कलंकीस्थित श्रीमान्‌को डेरामा जान अस्पतालको गेटमा आइपुगेकी थिइन् । श्रीमान् भने गाडी खोज्न अस्पतालमा यताउति भौंतारिरहेका थिए । उनी राइड सेयरिङ एपमार्फत पठाओ र इन्ड्राइभ मोटरसाइकल वा ट्याक्सी खोजिरहेका थिए । तर धेरै बेर प्रयास गर्दा पनि उनीहरुले केही साधन भेटेनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर चल्ने छोटा, मध्यम र लामा दुरीका सवारीसाधन ठप्प पारेपछि त्यसको सोझो मार पूजाजस्ता सर्वसाधारणलाई परेको छ । यही मारमा परेकालाई राइड सेयरिङ एपमार्फत सेवा दिनेहरुले पनि ठग्न खोजिरहेका छन् । 

अस्पताल गेटमा पूजाका श्रीमान्‌ले एउटा मोटरसाइकल भेटे । त्यसका चालक अफलाइनमा जान बार्गेनिङ गर्न थाले । ती मोटरसाइकल चालकले अस्पतालदेखि कलंकी जान साढे तीन सय रुपैयाँ लाग्ने बताए । जबकि त्यति नै दुरीमा त्यतिबेला अस्पतालबाट कलंकी जान एपमा ट्याक्सीमा नै ५ सय भाडा देखाइरहेको थियो । पूजाले भनिन, 'निमोनिया भएको बच्चालाई मोटरसाइकलमा त्यति लामो बाटो कसरी पो लैजाने ?' 

उनका श्रीमान्‌ले धेरैबेर गाडी खोज्न यताउति गरे पनि केही साधन भेटेनन् । के कारणले गाडी नपाइएको हो भन्ने पनि उनलाई थाहा थिएन । पूजाले दिग्दारीको भावमा भनिन्, 'के भएर यस्तो भएको हो पनि थाहा छैन । बेकारको दु:ख मात्रै खेपियो ।' 

धेरैबेर यताउति गर्दा पनि गाडी नपाएका बेला उनीहरुले सडकमा साझा यातायात देखे । यो गाडी गोंगबु बसपार्कसम्म जाने रहेछ । आधा बाटो भए पनि छोटिन्छ भनेर उनीहरु त्यही गाडीमा चढे । आधा बाटाे पार गरेपछि साँच्चै उनीहरु कसरी डेरा पुगे हाेलान् ?

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully