आज देश-दुनियाँमा के-के भयो ?

जेष्ठ १६, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — गृहमन्त्रीले राजीनामा नगरेसम्म संसद् चल्न नदिने माओवादीको निर्णय, कांग्रेसका पूर्वसांसद आफताब आलमलाई मस्तिष्कघात, नेपाल भित्रियो यस वर्षको मनसुनदेखि पन्जाबलाई सजिलै हराएर बेंगलुरु फाइनलमासम्मका खबर आज चर्चामा रहे ।

०००

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पारेपछि सभामुख देवराज घिमिरले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलमा बोलाएका थिए ।

०००

कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको छ । शुक्रबार उनको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको अन्नपूर्ण न्युरोका मेडिकल डाइरेक्टर डा. सुदन ढकालले बताए । रौतहटमा भएको बम विस्फोटका अभियुक्त आलम बुधबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए ।  

०००

यस वर्षको मनसुन नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भइसकेको छ । महाशाखाले शुक्रबार बुलेटिन जारी गर्दै कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको जनाएको छ ।  

०००

सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ कोचाबखारीस्थित वडा कार्यालयसँगै जोडिएको सिंगो सदा (मुसहर) बस्ती नै शौचालयविहीन रहेको छ । ‘जेकर घरमे चर्पी नइँ, ओकर घरमे शादी नइँ’ (जसको घरमा चर्पी छैन, उसको घरमा विवाह हुँदैन) मूल नाराका साथ २०७४ चैत २१ मै सप्तरीलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकेको छ । 

०००

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले बिहीबार सजिलै इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल यात्रा तय गरेको छ । टोलीले मुल्लानपुरमा भएको पहिलो क्वालिफायरमा पन्जाब किग्सलाई ८ विकेटले पराजित गरेको हो । पराजित पन्जाबले अब दोस्रो क्वालिफायर खेल्नेछ । गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच शुक्रबार इलिमिनेटर हुँदै छ । त्यसको विजेताले पन्जाबको सामना गर्नेछ । त्यसको विजेताले आइतबार हुने फाइनलमा बेंगलुरुसँग उपाधिका लागि भिड्नेछ ।

कान्तिपुर

Link copied successfully