न्यु चण्डीगढ — रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले बिहीबार सजिलै इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल यात्रा तय गरेको छ । टोलीले मुल्लानपुरमा भएको पहिलो क्वालिफायरमा पन्जाब किग्सलाई ८ विकेटले पराजित गरेको हो । पराजित पन्जाबले अब दोस्रो क्वालिफायर खेल्नेछ ।
गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच शुक्रबार इलिमिनेटर हुँदै छ । त्यसको विजेताले पन्जाबको सामना गर्नेछ । त्यसको विजेताले आइतबार हुने फाइनलमा बेंगलुरुसँग उपाधिका लागि भिड्नेछ ।
जितका लागि १ सय २ रनको झिनो लक्ष्य पछ्याएको बेंगलुरुले १० ओभरमात्रै उपयोग गर्दै २ विकेट गुमाएर १ सय ६ रन बनायो । त्यसमा ओपनर फिल साल्टले अर्धशतक बनाएर अविजित रहे । उनले २७ बल सामना गरेर ५६ रन बनाए । त्यसमा ६ चौका र ३ छक्का सामेल थियो । विराट कोहलीले १२ बलमा १२ रन बनाए । यस्तै मयंक अग्रवालले १९ रनको योगदान दिए । अर्का नटआउट ब्याटर रजत पाटिदारले १५ रन जोडे ।
त्यस अगाडि टस हारेर पहिले ब्याटिङका लागि आर्लेको पन्जाबको ब्याटबाट प्रदर्शन कमजोर रह्यो र पूरा टिम १४.१ ओभरमात्रै टिक्यो । पञ्जावले १ सय १ रन मात्र खडा गर्न सकेको हो । त्यसमा मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाए । ओपनर प्रभसिमरन सिंह र अजमतुल्लाह उमरजाईले समान १८ रनको योगदान दिए । बेंलगुरुका जोस हेजलउड र सूर्यांश शर्माले समान ३ विकेट लिए । यश दयालले २ विकेट हात पारे ।
