राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ कोचाबखारीस्थित वडा कार्यालयसँगै जोडिएको सिंगो सदा (मुसहर) बस्ती नै शौचालयविहीन रहेको छ । ‘जेकर घरमे चर्पी नइँ, ओकर घरमे शादी नइँ’ (जसको घरमा चर्पी छैन, उसको घरमा विवाह हुँदैन) मूल नाराका साथ २०७४ चैत २१ मै सप्तरीलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकेको छ ।
त्यो बेला ८० प्रतिशतभन्दा बढी घरमा शौचालय निर्माण भइसकेको र बाँकी विपन्न सुकुम्बासीका लागि स्थानीय सरकारले सार्वजनिक शौचालय बनाइदिने जनप्रतिनिधिले प्रतिबद्धता जनाएपछि जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो । प्रतिबद्धताअनुसार सो बस्तीमा पनि सोही आर्थिक वर्षमा ७ लाख रुपैयाँको लागतमा सार्वजनिक शौचालय निर्माण गराइएको थियो । तर, ७ वर्ष बितिसक्दा पनि सदा समुदायलाई शौचालय प्रयोग गर्न दिएको छैन ।
सार्वजनिक शौचालयमा जनप्रतिनिधिले नै ताल्चा लगाएर राख्दा बस्तीका सवा सय व्यक्ति खुल्लामै शौच गर्न बाध्य रहेका छन् । ‘शौचालय बनाउन कति पटक आँट गरे तर ज्याला मजदुरी गरेर ल्याएको पैसा परिवारको छाक टार्नैमा सकिन्छ,’ स्थानीय ३० वर्षीय राजकुमार सदाले भने, ‘घरमा शौचालय नहुँदा खेतबारी, बाँसघारी र झाडीतिरै शौच गर्न बाध्य रहँदा महिलालाई अत्यधिक समस्या भइरहेको छ ।’
शौच गर्नै बिहान ३ बजे उठ्नुपरेको ४८ वर्षीया खुखरीदेवी सदाले बताइन् । ‘उज्यालो हुनुभन्दा पहिले नै शौच गरिएन भने बडो मुस्किल भइरहन्छ,’ उनले भनिन्, ‘अर्काको खेतबारीमा शौच गर्दा एकाबिहानै गाली पनि खानु पर्छ तर गरिब-दलितको समस्या बुझ्ने कसैलाई फुर्सद छैन ?’
सार्वजनिक शौचालयमा लगाइएको ताल्चा खोलिदिन जनप्रतिनिधिलाई ७ वर्षदेखि आग्रह गर्दै आउँदा पनि नमानेको ६८ वर्षीय बन्ठु सदाले गुनासो गरे । ‘वडाध्यक्षदेखि गाउँपालिका अध्यक्षसम्मलाई यहाँका समस्या समस्या सुनाए तर उहाँहरूलाई हामीसँग कुनै मतलबै देख्दिनँ, अब समस्या सुनाउने पनि त कसलाई ?,’ उनले भने, ‘उहाँहरूका लागि हामी भोटर त भए तर मानव हुन सकिनँ, अझै शौच गर्नै हामीलाई महाभारत गर्नुपरेको छ ।’
वडाध्यक्ष कपिलेश्वर साहले सो सार्वजनिक शौचालय एक पटक सञ्चालन आएको बताउँदै बालबालिकाले ‘सेप्टिक ट्यांकी’सँग जोडिएको पाइप फोडेपछि ताल्चा लगाइएको बताए । ‘गाउँपालिकाले हामीलाई मर्मतसम्भारका लागि बजेट दिँदैन, अहिले वडा कार्यालयलाई धेरैको उधारो तिर्न बाँकी छ,’ उनले भने, ‘शौचालयको मर्मत त म आफ्नै पैसाले गराइदिन्छु पनि तर यिनीहरूले फेरि तोडफोड नगर्ला भन्ने छैन । जिम्मा लिने कोही नहुँदा बन्द राखेको छु ।’ उता, गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीसँग पटक-पटक सम्पर्क गर्दा फोन उठेन ।
