संविधान दिवसमा कैद मिनाहा पाएका व्यक्तिले गरे पूर्वश्रीमती र दुई बच्चाको हत्या

२०६९ सालमा दाइको हत्या, करिब नौ वर्ष कैद सजाय भुक्तान गरेपछि राष्ट्रपतिबाट बाँकी सजाय मिनाहा भएर २०७८ मा रिहा, साढे ३ वर्षपछि फेरि तीन जनाको हत्या गरेर पक्राउ

जेष्ठ १५, २०८२

माधव अर्याल, सन्जु पौडेल

On Constitution Day, a man who was released from jail killed his ex-wife and two children

लुम्बिनी, पाल्पा — सहोदर दाइको हत्या कसुरमा जन्मकैद सजाय तोकिए पनि नौ वर्षमै राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेका बुटवलका सुजन कोइरालाले पूर्वश्रीमती र उनका दुई छोरीको ज्यान लिएका छन् । सुजनले दीपा बस्याल र उनका ७ वर्ष र २ वर्षका दुई छोरीलाई बुटवल उपमहानगरपालिका–११, मिलिजुली पथस्थित आफ्नो घर बोलाएर हत्या गरेका हुन् । 

२०६९ पुसमा माइला दाइ सुदीपको हत्या गरेर जेल चलान भएका सुजन संविधान दिवसका अवसरमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद सजाय मिनाहा पाएर ३ असोज २०७८ मा छुटेका थिए । प्रहरीका अनुसार हत्या घटनाको एक वर्षअघि सुजनले दीपासँग विवाह गरेका थिए ।

सुजन जेलमै रहेका बेला २०७२ सालमा दीपाले सम्बन्धविच्छेद गरेकी थिइन् । उनले नवलपरासीका युवकसँग विवाह गरेकी थिइन् । त्यसपछि दीपाका दुई छोरी जन्मिएका थिए । उनका श्रीमान् भने वैदेशिक रोजगारीका लागि दुबईमा छन् । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षत्रीका अनुसार पाल्पाको तानसेन नगरपालिका–७ स्थित कुन्सरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दीपा आमाजुको बिहेका लागि मंगलबार दुई छोरीसहित बुटवल झरेकी थिइन् । राति भने उनी छोरीसहित सुजनको घरमा बसेकी थिइन् । सुजनले भान्साकोठा मर्मतका लागि बोलाएका अर्जुन रन्जन नामका व्यक्तिले बुधबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

सुजन पक्राउ परिसकेका छन् । झगडा भएपछि तनाव खेप्न नसकेर हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार सुजनले चक्कु र हतौडा प्रयोग गरेर तीनै जनाको ज्यान लिएको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । सुजनको मूल घर तानसेन–७ बाघखोर प्रभास हो । उनले २०६९ सालमा भने पसल धितो राखेर ऋण निकाल्न नमान्दा दाइको ज्यान लिएका थिए ।

त्यति बेला सुजनले घरमै दाइको हत्या गरेर शव कारमा राखेर सिद्धार्थ राजमार्गको केराबारीनजिकै भीरबाट खसालेका थिए । दाइको हत्याका लागि उनले चौराह, दैलेखका कालु चन्दको सहयोग लिएका थिए । हत्यापछि सुजनले बेपत्ता दाइको लास या सास नभेटे पाल्पा बन्द गर्नेसम्मको अभिव्यक्ति दिएका थिए । घरपरिवारले भने सुदीप घरबाट बेपत्ता भएको भन्दै प्रहरीमा खोजी गरिदिन आग्रह गर्दै निवेदन दिएको थियो ।

प्रहरी अनुसन्धानमा हत्या सुजनले नै गरेको देखिएपछि पक्राउ गरेर अदालतमा पेस गरिएकामा २७ पुस २०६९ मा पुर्पक्षका लागि कारागार पठाउने आदेश आएको थियो । २९ माघ २०७० मा जिल्ला अदालत पाल्पाले सुजनलाई जन्मकैदको फैसला गरेको थियो । २० वर्ष कैद सजाय पाएका सुजनलाई सर्वोच्च अदालतले राय प्रयोग गरेर १६ वर्षको जेल सजाय तोकेको थियो । 

पाल्पा कारागारमा रहेका सुजनलाई २७ असार २०७१ मा सिन्धुपाल्चोक कारागार चलान गरिएको थियो । त्यहाँको कारागारबाट भागेका सुजनलाई पाल्पा प्रहरीले ३१ वैशाख २०७२ मा पक्राउ गरी जेल पठाएको थियो ।

१८ फागुन २०७३ मा भने उनलाई मकवानपुरस्थित भीमफेदी कारागारमा बुझाइएको पाल्पा कारागारले जनाएको छ । त्यसपछि पोखरालगायतका कारागारमा बसेका उनी साढे तीन वर्षअघि बाँकी कैद मिनाहा पाएर छुटेका थिए । कारागारबाट छुटेपछि बुटवलस्थित आफ्नै घरमा व्यापार–व्यवसाय गर्दै आएका थिए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully