झन्डै तीन दशक लामो राजनीतिक सहकार्य गर्दै ‘जनयुद्ध’ हाँकेका नेताद्वय दाहाल र भट्टराई पछिल्लो समय एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्न तल्लीन छन्। दाहालले आफूलाई ‘बुद्धि नभएको डाक्टर’ भनेपछि भट्टराईले पनि दाहालबारे ‘रङ फेरिरहने बहुरंगी’ का रूपमा टिप्पणी गरे।
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईको सम्बन्ध फेरि चिसिएको छ। भनिन्छ, 'राजनीतिमा कोही पनि स्थायी मित्र र शत्रु हुँदैन।' तर दाहाल र भट्टराई भने विगतका तिक्तताहरूलाई लिएर एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्न तल्लीन छन्।
दाहाल-भट्टराईनिकट नेताहरूका अनुसार पछिल्लो समय दुई नेताबीचको मित्रताको सम्बन्ध शत्रुतामा परिणत भइरहेको छ। त्यसो त माओवादीमा सँगै कुम जोडेर बस्दा पनि दाहाल र भट्टराईबीच विश्वासभन्दा बढी आशंका हुने गर्थ्यो।
१० वर्षे सशस्त्र युद्ध र त्यति नै समय शान्ति प्रक्रियामा छँदा दुई नेताबीच संघर्ष र एकता निरन्तर चल्यो। पछिल्लो समय भने दाहाल-भट्टराई एकअर्कालाई दुश्मनको तहमा हेर्न थालेका छन् । दुई नेताबीचको करिब ३० वर्षको राजनीतिक सहकार्य पछिल्लो समय खराब अवस्थामा पुगेको छ ।
२०७२ मा अलग भइसकेपछि पनि दुई नेताबीच संघर्ष चलिरह्यो। २०७९ को आम निर्वाचनमा दाहाललाई काँधमा राखेर गोरखा–२ बाट जिताएका भट्टराईले पछिल्लो समय उनै दाहाललाई ‘बहुरंगी’ नेताका रूपमा टिप्पणी गर्दै आएका छन्। दाहालले पनि भट्टराईलाई यसै साता ‘बुद्धि नभएका डाक्टर’ को आरोप लगाए।
पार्टी एकता गर्ने उद्देश्यसहित दाहाल र भट्टराईबीच गत आम निर्वाचनमा सहकार्य भए पनि त्यो धेरै समय टिक्न सकेन । पछिल्लो समय दुई नेताबीच आरोप–प्रत्यारोप राजनीतिक तहबाट तल झरेर व्यक्तिगत तहसम्म पुगेको छ।
मध्यपहाडी राजमार्गमा ‘जनजागरण अभियान’ का क्रममा गत बुधबार रुकुम पूर्वको सदरमुकाम रुकुमकोट पुगेका दाहालले त्यहाँ आयोजित ‘जनसंवाद’ कार्यक्रममा भट्टराईलाई ‘बुद्धिबिनाका डाक्टर’ भएको टिप्पणी गरेका हुन्। ‘कम्युनिस्ट पार्टी नमान्नी, मार्क्सवाद नभन्ने रे ! अनि त्यस्तोसँग के गरी एकता गर्ने ? अब उहाँ त खिइँदै, खिइँदै, खिइँदै पूरै प्रतिक्रियावादीसँग गएर मिल्नु भा‘छ । प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि त,’ दाहालले भट्टराईप्रति कटाक्ष गर्दै थपे, ‘हाँसोको पात्र भ‘का छन् बाबुराम देशभरि । कस्तो बुद्धि नभको डाक्टर ! सबभन्दा बुद्धि नभको डाक्टर भनेर चिन्छन् मान्छेले ।’
अध्यक्ष दाहालले गत चुनावमा एकता गर्ने उद्देश्यले सहकार्य गरेको उल्लेख गर्दै भट्टराईको सोच नै गलत भएको आरोप लगाए। ‘अब बाबुरामलाई के गरी ल्याउने ? उनको दिमाग ठाउँमा हुनुपर्यो र पो ल्याउन सकिन्छ,’ दाहालको भनाइ थियो, ‘बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि । गोरखामा चुनाव लड्दा पार्टी पनि एउटै बनाउने भनियो । तर अहिले उहाँ कम्युनिस्टको नामसमेत सुन्न चाहनु हुन्न । कम्युनिस्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी मर्नी बाबुरामका लागि ?,’
दाहालको उक्त भनाइलाई लिएर भट्टराईले ‘बहुरंगी’ व्यक्तिको भनाइप्रति टिप्पणी गर्नु बेकार भएको बताए । ‘म प्रचण्डलाई राम्रोसँग चिन्छु । उहाँ रङ फेरिरहने मान्छे हुन्,’ भट्टराईले भने, ‘त्यसबारे टिप्पणी गर्नु बेकार छ ।’
२०७२ मा संविधान जारी भएपछि नयाँ राजनीतिक शक्ति निर्माण गर्ने भन्दै कम्युनिस्ट नाम नराखी ‘नयाँ शक्ति’ गठन गरेका भट्टराई गत निर्वाचनमा दाहालसँग नजिकिएका थिए । तर गोरखा–२ बाट चुनाव जितेपछि दाहाल बिस्तारै भट्टराईबाट टाढिए । त्यतिबेला दुई नेताबीच शक्ति बाँडफाँटमा आन्तरिक सहमति पनि भएको थियो ।
दाहाल पार्टीको कार्यकारी रहने र भट्टराई नीति निर्माण तहमा रहने समझदारी भएको थियो । तर निर्वाचन परिणाम आइसकेपछि दाहाल एमाले र कांग्रेससँग पालैपालो गठबन्धन गरी प्रधानमन्त्री भए। तर भट्टराईलाई बेवास्ता गर्दै गए । यतिसम्म कि दाहालले समाजवादी मोर्चामा समेत उनलाई सहभागी गराएनन् । हाल दुई नेताबीच ‘शत्रु’ सरहको सम्बन्ध छ।
दाहालले मात्र होइन, भट्टराईले पनि दाहाललाई राजावादीको आरोप लगाउँदै आएका छन्। गत असोजमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भेटेपछि दाहालको असली रूप देखिएको भन्दै उनले टिप्पणी गरेका थिए । ‘बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउ गरिहाल्छ रे! प्रचण्ड र मिश्रबीचको अन्तरंग कुराकानीको सत्यतथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखिजान्ने सबैलाई थाहा छ, अहिले बिरालोले म्याउ गरेकै हो,’ भट्टराईको भनाइ थियो, ‘किनकि प्रचण्डको वास्तविकता त्यही हो ।’
भट्टराईले माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुग्न लागेकै बेला दाहालले तत्कालीन राजा ज्ञानेन्द्रसँग संवाद गरेको प्रसंग कोट्याउँदै गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट नभई नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको पनि जिकिर गरेका थिए । भट्टराईको उक्त टिप्पणीलाई दाहालको सचिवालयले तत्काल खण्डन गरेको थियो ।
माओवादीमा रहँदा पनि भट्टराई अर्को शक्ति केन्द्र बनेका थिए । बौद्धिक र प्राज्ञिक छविका कारण उनको राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तित्व बनेको थियो । भारतमा विद्यावारिधि गरेका भट्टराईसँग त्यहाँको राजनीतिक र बौद्धिक सम्बन्ध भएकै कारण दाहालमाथि एक खालको दबाब थियो । माओवादीमा दुई शक्ति केन्द्र भएको दाहाललाई मन परेको थिएन, जसका कारण उनी सशस्त्र संघर्षदेखि नै भट्टराईलाई टाढा राख्न चाहन्थे ।
२०७२ मा संविधान जारी भएपछि भट्टराई माओवादीबाट अलग भएपछि दाहाललाई ‘हाइसञ्चो’ भयो । तर गत आम निर्वाचनमा चुनाव जित्न सकस भएपछि दाहाल भट्टराईको निर्वाचन क्षेत्रमा पुगेका थिए । भट्टराई पनि छोरी मानुषी यमि भट्टराईलाई काठमाडौं–७ मा माओवादीको समर्थनमा उम्मेदवार बनाएर जिताउन चाहन्थे ।
तर उनको त्यो चाहना भने पूरा भएन । त्यतिबेला भट्टराईको पार्टीले माओवादीको चुनाव चिह्न लिएर मैदानमा उत्रिएको थियो । नेसपाले एक संघ र दुई प्रदेश सदस्य पनि जित्यो । अन्ततः नेसपाका नेता महिन्द्र राय यादव नेसपा विभाजन गरी माओवादीतिर लागे । त्यतिबेला नेसपामा रहेका बागमती प्रदेश सदस्य गंगानारायण श्रेष्ठ माओवादीसँग एकता गर्न अन्तिम तयारीमा छन् । हाल भट्टराईसँग रहेका गण्डकीका प्रदेश सदस्य फणीन्द्र देवकोटा ऊर्जामन्त्री छन् ।
दाहाल र भट्टराईको संघर्षको शृंखला लामो छ । तत्कालीन नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसँग अन्तरविरोध बढेपछि भट्टराई दाहालले नेतृत्व गरेको नेकपा मशालसँग नजिकिएका थिए । २०४६ को जनआन्दोलनमा भट्टराई संयुक्त जनआन्दोलन समितिको प्रवक्ता भएपछि दाहालसँग निकटको सम्बन्ध बन्यो । २०४८ मा एकीकरण भएपछि दाहाल पार्टी अध्यक्ष, भट्टराई चुनावी मोर्चा संयुक्त जनमोर्चाको अध्यक्ष भएका थिए । दाहाल भूमिगत अवस्थामा थिए भने भट्टराईको चर्चा चुलिन थालेपछि दुईबीच द्वन्द्व बढ्न थालेको थियो ।
माओवादीले २०५२ फागुनमा सशस्त्र द्वन्द्व सुरु गर्दा दाहाल पार्टी महासचिव थिए । त्यतिबेला ‘प्रचण्ड’ को उपनामले चिनिने दाहाललाई कतिपयले बाबुराम भट्टराई भएको बताउन थालेका थिए । त्यो पनि दाहाललाई चित्त बुझेको थिएन । माओवादी सशस्त्र संघर्ष चर्किंदै गएपछि २०५५ भदौमा दाहालले नेतृत्व केन्द्रीकरण गरेपछि भट्टराईले फरक मत राखे ।
उनले पार्टी सामूहिक नेतृत्वमा चल्ने प्रस्ताव गरेपछि दुई नेताबीच मतभेद चर्किएको थियो । यतिसम्म कि माओवादीभित्र दाहाललाई ‘भारतीय दलाल’ को आरोप लाग्न थाल्यो । २०६१ असोजमा दाहालविरुद्ध लिखित असहमति जनाएपछि भट्टराईलाई कारबाही गरी ‘जनसेना’ को हिरासतमा राखियो । उनलाई कुनै पनि बेला ‘भौतिक कारबाही गर्न सक्ने’ धम्की दिइयो ।
२०६२ मा दुई नेताबीच प्रतिस्पर्धात्मक राजनीतिमा सहमति भएपछि भट्टराईमाथिको कारबाही फिर्ता गरियो । उनलाई राजनीतिक दलसँग वार्ता गर्ने जिम्मा दिइयो । त्यसैअनुरूप २०६२ मंसिरमा भारतको नयाँदिल्लीमा सात दलसँग १२ बुँदे समझदारी भयो । दाहाल–भट्टराईबीच शक्ति संघर्षमा कुरा मिल्यो । शान्ति प्रक्रियामा आइसकेपछि २०६७ मंसिरमा गोरखाको पालुङटारमा पुनः मतभेद चर्कियो । दाहालले ‘विद्रोहको लाइन’ लिनुपर्ने प्रस्तावमा भट्टराईले असन्तुष्टि जनाए ।
२०६८ भदौमा भएको केन्द्रीय समितिमा दाहाल–भट्टराईबीच जनविद्रोह नभई लोकतान्त्रिक बाटोबाट अघि बढ्ने सहमति भएको थियो । वैद्यको सहयोगमा दाहालमाथि दबाब बढाएपछि २०६८ असोजमा भट्टराई प्रधानमन्त्री भए । पछि २०७२ असोज ९ मा भट्टराईद्वारा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने भन्दै माओवादी पार्टी परित्याग गरे।
२०७४ मा प्रतिनिधिसभा निर्वाचनमा भट्टराई कांग्रेससँग तालमेल गरी निर्वाचित भए । तर एमाले र माओवादीबीच गठबन्धन बन्यो । त्यसपछि पार्टी एकता भयो । २०७९ मंसिरमा माओवादी पार्टीको चुनाव चिह्नमा उम्मेदवार हुन भट्टराईको पार्टी तयार भयो ।
२०७९ मंसिरमा भएको आम निर्वाचनमा भट्टराईले जित्दै आएको गोरखा–२ मा दाहाललाई उम्मेदवार बनाइयो । तर दुई नेताबीच शक्ति बाँडफाँटमा समस्या आएपछि २०८० फागुनमा पार्टी एकता प्रक्रिया अवरुद्ध भयो । त्यसपछि दाहाल र भट्टराईबीच राजनीतिक/गैरराजनीतिक आरोप–प्रत्यारोप चल्दै आएको छ ।
श्रेष्ठ समूह माओवादीमा फर्कियो, मुख्य भंगाला भने अलग्गै
माओवादी एकताको वातावरण बनिरहेको भन्दै आएका माओवादी अध्यक्ष दाहालले यही साता नेपाल समाजवादी पार्टीको गंगानारायण श्रेष्ठ समूहसँग पार्टी एकता गरे। तर माओवादीबाट मुख्य शक्तिहरू भने अलग्गै छन्। माओवादीबाट अलग भएका मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दले छुट्टै पार्टी संचालन गरेका छन्।
माओवादी र चन्दको नेपाल कम्युनिस्ट पार्टीबीच एकता गर्ने तयारी भए पनि हुन सकिरहेको छैन । चन्दको नेकपाले पार्टी एकताका लागि औपचारिक निर्णय गरेको छ। तर माओवादीले यसमा ढिलाइ गरिरहेको छ।जसका कारण एकता हुन सकेको छैन ।
पूर्व माओवादीका वरिष्ठ नेता वैद्य र भट्टराईले भने माओवादीसँग एकताको संभावना नभएको बताउँदै आएका छन् । गत आम निर्वाचनमा माओवादी अध्यक्ष दाहाल र भट्टराईबीच पार्टी एकता गर्ने गरी दाहाललाई गोरखा २ मा उम्मेदवार बनाइएको थियो। तर चुनावपछि भने दाहाल-भट्टराईबीच यसबारे सकारात्मक संवाद हुन सकेको छैन। वैद्यले भने माओवादी ‘दक्षिणपन्थी संशोधनवादी’ बाटोमा गएको भन्दै एकताको कुनै संभावना नभएको बताउँदै आएको छ।
दाहालको माओवादी एकता अभियानमा माओवादीबाट अलग भई नेपाल समाजवादी पार्टीमा लागेको गंगानारायण श्रेष्ठ समूहमात्रै फर्किएको हो। माओवादीबाट २०७२ मा अलग भई नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टी गठन गरेको गंगानारायण श्रेष्ठ समूह माओवादीमा समायोजन भएको छ।
वाग्मती प्रदेश सभा सदस्य समेत रहेका श्रेष्ठको नेतृत्वमा नेसपाको एक समूह माओवादीमा समाहित भएको हो। माओवादी र नेसपा श्रेष्ठ समूहबीच भएको वार्तापछि पूर्व माओवादी नेता श्रेष्ठ पुरानो घरमा फर्किएका हुन्।गत निर्वाचनमा नेपाल समाजवादी पार्टी माओवादीको चुनाव चिहृन लिएर उठेको थियो ।
माओवादीमा श्रेष्ठलाई सचिव पदमा मनोनित गर्ने निर्णय पनि भएको छ । ‘पार्टी समायोजनको नेतृत्व गर्नुभएका गंगानारायण श्रेष्ठलाई नेकपा (माओवाद केन्द्र) को केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गरिनेछ,’ माओवादी अध्यक्ष दाहाल र श्रेष्ठले हस्ताक्षर गरेको सहमतिमा भनिएको छ ।
सहमतिपत्रमा पार्टीको मार्गनिर्देशक सिद्वान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने र पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजबादी क्रान्तिको कार्यक्रम हुने उल्लेख छ । ‘समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरुप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरुपहरुलाई अवलम्बन गरिनेछ’ सहमतिमा भनिएको छ, ‘तत्कालको कार्यनीतिक विषयहरुमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ ।’
पार्टीमा विचारको स्वतन्त्रता र कामकार्यबाहीमा एकरुपताको जनवादी केन्द्रियताको सैद्धान्तिक मान्यता अनुरुप पार्टीलाई संचालन गरिने र कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टी पंक्तिभित्र छलफल गर्ने बाटो खुला राखिने छ ।
माओवादीबाट २०७२ असोजमा बाबुराम भट्टराईले माओवादी त्याग गरेका थिए । २०७३ जेठमा नयाँ शक्ति पार्टी गठन गरेका थिए । श्रेष्ठ त्यतिबेला नयाँ शक्तिमा लागेका थिए । २०८० चैतमा नेपाल समाजवादी पार्टी विभाजन भएपछि श्रेष्ठ भट्टराई छाडेर महिन्द्र राय यादवतिर लागेका थिए । दश वर्षपछि उनी माओवादीमा पदाधिकारी पदसहित फर्किएका छन् । यादव समूहल भने माओवादी नाममा पार्टी एकता नगर्ने अडानमा छन् ।
माओवादीमा समाहित भए पनि श्रेष्ठ बाहेक अरुको जिम्मेवारी पाएका छैनन् । थप गृहकार्य गरी अरु नेतालाई जिम्मेवारी दिने तयारी छ । नेपाल समाजवादी पार्टीका १६० मध्ये १०० केन्द्रीय सदस्य माओवादीमा समाहित भएको श्रेष्ठ समूहको दाबी छ । पार्टी समायोजन कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले माओवादी एकता भत्काउन प्रतिक्रियावादीहरु लागेको दावी गर्दै नेसपा श्रेष्ठ समूहको समायोजनपछि ध्रुवीकरण सुरु भएको बताए । ‘वामपन्थीको ध्रुवीकरण सुरुवात भएको छ । यो ठूलो सुरुवात हो । यसले नयाँ ढोका खोल्नेछ । कम्युनिस्टहरु ध्रुवीकरण हुनेछ,’ उनले भने, ‘समाजवादी क्रान्तिको आधार तयार पार्ने अभियान सुरु भएको छ ।’
उनले नेसपा अध्यक्ष महिन्द्र राय यादवसँग एकता गर्ने बताए । महिन्द्र राय यादवसँग पनि एकता गर्ने हो । उहाले माओवादी केन्द्रमा नै जाने हो। गंगानारायण श्रेष्ठले माओवादीमा आएको फुटका कारण प्रतिगमनकारी सल्बलाएको बताए । ‘त्यतिबेला समाजवादी बाटोमा अघि बढ्न माओवादीमा बहस भयो । त्यसले बिखण्डनसम्म पुर्यायो । अहिले फर्केर हेर्दा त्यो राम्रो भएन’ उनले भने, ‘त्यसको फाइदा प्रतिगमनकारीले लिए । पार्टी एकता आजको आवश्यकता हो ।’ उनल समाजवाद अलग अलग चुलोचौको लगाएर संभव नहुने बताए । ‘हिंजोको माओवादी एक ठाउँमा आउनुपर्छ । समाजवादी शक्तिहरु पनि मिल्नुपर्छ’ उनले भने ।
माओवादीमा फर्कदै गर्दा उनले पूर्व माओवादी नेता बाबुराम भट्टराईलाई सम्झिँदै सशस्त्र युद्धको स्वामित्व लिएर अघि बढ्न उचित हुने बताए । ‘बाबुराम भट्टराईले जनयुद्धको स्वामित्व लिनुपर्छ । किनकी उहाँ जनयुद्धको महत्वपूर्ण नेता हो,’ उनले भने । त्यस्तै, नेपाः राष्ट्रिय पार्टी पनि माओवादीमा मिसिएको छ । माओवादी अध्यक्ष दाहाल र नेपाः पार्टीका अध्यक्ष विजय सैजूले एकता घोषणा गरेका हुन्।
सम्बन्धित समाचार
दाहाल र भट्टराईको एकतामा ‘ब्रेक’
