दाहाल–भट्टराई सहमतिनजिक : एउटै चिह्न, एउटै घोषणापत्र- समाचार - कान्तिपुर समाचार

दाहाल–भट्टराई सहमतिनजिक : एउटै चिह्न, एउटै घोषणापत्र

दुवै दलले आ–आफ्नो पार्टीमा छलफल गरेर टुंग्याउने
बबिता शर्मा

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमतिनजिक पुगेका छन् । दुवै दलले आ–आफ्नो पार्टीमा छलफल गरेर यसलाई औपचारिक रूपमा टुंग्याउने गृहकार्य भइरहेको नेताहरूले बताएका छन् ।

दाहालले नेपाल समाजवादी पार्टीसँग साझा चुनाव चिह्न र घोषणापत्रमा निर्वाचन लड्ने सहमति भएको र आ–आफ्नो पार्टीमा सहमति जुटाएर औपचारिक रूपमा टुंग्याउन लागिएको ‘ब्रिफिङ’ निकट नेताहरूसँग गरेका छन् । यो र अन्य विषयमा छलफल गर्न अध्यक्ष दाहालले पार्टी स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । साझा चुनाव चिह्नका लागि निवेदन दिने विषय टुंगिन बाँकी रहेकाले माओवादी केन्द्र र नेपाल समाजवादी पाटीले अझै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छैनन् ।

अध्यक्ष दाहालले निकट नेताहरूलाई बताएअनुसार एक–दुई दिनै संयुक्त चिह्नमा निर्वाचन लड्न निर्वाचन आयोगमा निवेदन दिने तयारी छ । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ । मंसिर ४ मा प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन हुँदै छ । ०७४ मा एमाले र माओवादी केन्द्रले पछि पार्टी एकता गर्ने सहमतिसहित वाम गठबन्धन बनाएर आ–आफ्नो दलको चिह्नमा निर्वाचन लडेका थिए ।

माओवादी नेता वर्षमान पुनले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी साझा चुनाव चिह्नमा निर्वाचन लड्न करिब सहमत भएको बताए । ‘बाबुरामजीहरू माओवादीकै चुनाव चिह्नबाट चुनाव लड्ने कुरा करिब–करिब टुंगो लागेको छ,’ पुनले कान्तिपुरसँग भने, ‘औपचारिक निर्णयका लागि आ–आफ्नो पार्टीको बैठकमा छलफल गर्न बाँकी छ । उहाँहरूको तहमा करिब टुंगो लागेको हो । हाम्रो तहमा पनि त्रंकिट गर्छौं ।’ निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ । भट्टराईले नयाँ शक्ति पार्टी बनाउँदा पनि चुनाव चिह्न आँखा राखेका थिए ।

माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूह भने दाहालको यस कदमबाट असन्तुष्ट छ । नेताहरूका अनुसार श्रेष्ठ समूहबाहेक माओवादीका अधिकांश नेता कार्यकर्ता भट्टराई माओवादीमा फर्किऊन् भन्ने चाहन्छन् । उनी माओवादीमा नफर्के पनि साझा चुनाव चिह्नबाट चुनाव लड्न तयार भएका हुन् । अर्कातर्फ हाल राष्ट्रिय सभा सदस्य रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ राजीनामा दिएर गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । गोरखामा श्रेष्ठ र भट्टराईको निर्वाचन क्षेत्र एउटै हो । भट्टराई पनि गोरखाबाटै चुनाव लड्ने तयारीमा छन् ।

निर्वाचन आयोगले आइतबार निकालेको दल दर्तासम्बन्धी सूचनामा दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिने व्यवस्था छ । यसैलाई आधार मानेर माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी साझा निर्वाचन चिह्नमा चुनाव लडन् सक्छन् । ऐनमा ‘निर्वाचन प्रयोजनका लागि मान्यता प्राप्त गर्न चाहने दुई वा सोभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्ने’ व्यवस्था छ ।

ऐनमा निर्वाचित हुने उम्मेदवारको हकमा सबैभन्दा बढी सिट पाउने दलको नामबाट एक मात्र संसदीय समिति बन्ने व्यवस्था छ । यसैगरी निर्वाचित सदस्य सोही संसदीय दलको सदस्य भएको मानिने ऐनले व्यवस्था गरेको छ । दुई संसदीय दल रहन नपाउने व्यवस्थाले उनीहरू बीच एकतामा जानैपर्ने बाध्यता हुन्छ । पाँचदलीय गठबन्धनभित्र रहेका वाम समाजवादी पार्टीले उपगठबन्धन बनाउने गृहकार्य गरेका थिए । कांग्रेसबाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच उपगठबन्धन बनाउने गृहकार्य सम्भव नभएपछि दाहालले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतमको नेकपा एकता अभियान पार्टीसहितको मोर्चाको तयारी थालेका थिए । दाहालले नेकपा एकता अभियानका संयोजक गौतमसँग पनि छलफल जारी राखेका छन् ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

ह्विलचेयरमा विश्वयात्रा

३२ यात्रुको ज्यान जाने गरी भएको बस दुर्घटनाको पीडा भुल्न चालक तेजबहादुर नेपालको झन्डा फहराएर यात्रा गर्दै
दुर्गालाल केसी

दाङ — काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको मकालु यातायातको बस ०५७ माघ २३ गते धादिङको जोगीमारामा दुर्घटना हुँदा ३२ यात्रुले ज्यान गुमाए । गाडीचालक तेजबहादुर कार्कीको ज्यान त बच्यो तर दुवै खुट्टा काट्नुपर्‍यो । १८ वर्ष चालक पेसा गरिसकेका कार्कीले तीन वर्ष उपचारमै बिताए । रातदिन गाडीमा दौडिरहेका कार्कीलाई घरमा सुतिरहन साह्रै सकस भयो । 

एक दिन टीभीमा विश्व साइकल यात्री पुष्कर शाहको अन्तर्वार्ता प्रसारण भइरहेको थियो । त्यो अन्तर्वार्ताले विश्वयात्रामा निस्कन प्रेरित गरेको उनी बताउँछन् । ०६१ जेठ ४ गते आमाले दिएको ५ सय रुपैयाँ बोकेर ह्विलचेयरमै घरबाट निस्किए । श्रीमती, छोराछोरीले घर नछाड्न अनुरोध गरे पनि उनले मानेनन् । ‘म घरमा बोझ भएर बसिरहन सकिनँ । त्यसपछि विश्व शान्ति यात्रामा निस्किएँ,’ ५७ वर्षीय उनले भने, ‘मैले जानाजान दुर्घटना गराएको होइन । त्यो घटनामा भएको क्षतिले मलाई साह्रै दुःखी बनायो ।’ उनी घरबाट निस्किएपछि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा धाए । केही सहयोग जुटाएर यात्रा सुरु गरे ।

देशका २२ जिल्लामा पुगेपछि उनले विश्वयात्रा पनि तय गरे । ह्विलचेयरमा नेपालको झन्डा फहराउँदै पहिलोपटक बंगलादेश पुगे । त्यसपछि भुटान, माल्दिभ्स, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, भियतनाम, कम्बोडियालगायत हालसम्म ३३ देशको यात्रा गरिसकेका छन् । नेपालमा अब ५ जिल्लामात्र पुग्न बाँकी छ, ७२ जिल्लाको यात्रा गरिसके । ओखलढुंगामा जन्मेका कार्की हालको काठमाडौंमा बस्छन् ।

विश्वयात्रामा निस्कँदा उनले धेरै दुःखकष्ट पनि भोग्नुपर्‍यो । ‘ह्विलचेयरमा टाढासम्म पुग्न समस्या हुने, बाटोमा जहाँ रात पर्छ, त्यहीं बास बस्ने हो,’ उनले भने, ‘कति ठाउँमा बाटोबाट प्रहरीले उठाएर सुरक्षित ठाउँमा राखेका छन् ।’ देशको नाम राख्दै अपांगता भएकालाई ऊर्जा दिन विश्व शान्ति यात्रा गरिरहेको उनले बताए । ‘म अपांगता भएकाहरूलाई लुकेर, हीनताबोध गरेर बस्नु नपरोस् भन्ने चाहन्छु,’ उनले भने, ‘अपांगता भएकाले पनि विश्वमा नेपाललाई चिनाउन सक्छन् भन्ने देखाएको छु ।’ अझै अरु देशको पनि यात्रा गर्ने उनको योजना छ ।

‘विश्वका विभिन्न देशमा पुग्दा नेपालको यात्री भनेर सम्मान गर्छन् तर नेपालमै मेरो कामप्रति कुनै चासो भएन,’ उनले भने, ‘अहिलेसम्म कुनै पनि निकायले मलाई हौसला दिएको छैन तैपनि म थाकेको छैन, सबै देशको यात्रा गर्ने संकल्प गरेको छु ।’

प्रकाशित : श्रावण २९, २०७९ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×