आज देश-दुनियाँमा के-के भयो ?

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीद्वारा संसद् अवरुद्ध, गभर्नर पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता, सोताङ खोलामा डाइभर्सन बनाएर पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमादेखि लिभरपुलका समर्थकको परेडमा कारको ठक्कर : ४७ घाइते, ४ जनाको अवस्था चिन्ताजनकसम्मका खबर आज चर्चामा रहे । 

००००

प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक प्रतिपक्षद्वारा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगन गरेका थिए । आधा घण्टापछि पनि बैठक सुचारु नभएपछि सूचना टाँस गरेर दिउँसो साढे २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

००००

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विशाल थापासहितका अधिवक्ताहरुले आज रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई पनि प्रतिवादी बनाइएको छ । रिटमाथि बुधबार पेसी तोकिएको छ ।

००००

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि अवरुद्ध भएको सडक डाइभर्सन बनाएर एकतर्फी रुपमा संचालनमा आएको छ । नागढुंगा मलेखु सडक योजना प्रमुख केशवप्रसाद ओझाले सवा ४ बजेबाट सडक संचालनमा आएको बताए । उनले सडक र पुल जोड्ने स्थानको माटो बगेपछि भ्वाङ परेको र त्यहाँ माटो भरेर पुलबाटै गाडी पास गराउने प्रयास भइरहेको बताए । 

००००

संविधानविपरीत प्रदेश सरकारहरुले ऐन नियमावली बनाएको भन्दै यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सयुक्त रुपमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति गठन गरेर ७ बुँदे मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

००००

फुटबल क्लब लिभरपुलका फ्यानहरुले भरिएको प्रिमियर लिग उपाधि परेडमा तीव्र गतिको कारले ठक्कर दिँदा चार जना सख्त घाइते भएका छन् । सोमबार साँझ लिभरपुल सहरको केन्द्रमा यो घटना भएको हो । अनुसन्धान अधिकारीहरुले यो आतंकवादी हमला नभएको विश्वास गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोहरुमा सवारी बन्द गरिएको सडकमा हुँदै खैरो रंगको कार भीडतर्फ अघि बढेको देखिन्छ । तीव्र गतिमा अघि बढेको कारले केहीलाई आकाशतिर हुत्याएको र कम्तीमा चार जनालाई चक्काले किचेको रोयटर्सले जनाएको छ ।   

कान्तिपुर

Link copied successfully