काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि अवरुद्ध भएको सडक डाइभर्सन बनाएर एकतर्फी रुपमा संचालनमा आएको छ । नागढुंगा मलेखु सडक योजना प्रमुख केशवप्रसाद ओझाले सवा ४ बजेबाट सडक संचालनमा आएको बताए ।
उनले सडक र पुल जोड्ने स्थानको माटो बगेपछि भ्वाङ परेको र त्यहाँ माटो भरेर पुलबाटै गाडी पास गराउने प्रयास भइरहेको बताए । उनले यसका निम्ति १ घन्टा थप समय लाग्न सक्ने अनुमान सुनाए ।
धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि मंगलबार बिहानबाट सवारी अवरुद्ध भएको थियो । बिहान केहीबेर एकतर्फी बाटो खुलाइए पनि भ्वाङ बढ्दै गएपछि दिउँसोदेखि दुवैतर्फी यातायात रोकिएको थियो ।
