लिभरपुलका समर्थकको परेडमा कारको ठक्कर : ४७ घाइते, ४ जनाको अवस्था चिन्ताजनक

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

Car crash at Liverpool supporters' parade: 47 injured, 4 in critical condition

काठमाडौँ — फुटबल क्लब लिभरपुलका फ्यानहरुले भरिएको प्रिमियर लिग उपाधि परेडमा तीव्र गतिको कारले ठक्कर दिँदा चार जना सख्त घाइते भएका छन् । सोमबार साँझ लिभरपुल सहरको केन्द्रमा यो घटना भएको हो । अनुसन्धान अधिकारीहरुले यो आतंकवादी हमला नभएको विश्वास गरेपनि किन एक व्यक्तिले उत्सव मनाइरहेका भीडतर्फ गाडी चलाउन पुगे भन्नेबारे बताएका छैनन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोहरुमा सवारी बन्द गरिएको सडकमा हुँदै खैरो रंगको कार भीडतर्फ अघि बढेको देखिन्छ । तीव्र गतिमा अघि बढेको कारले केहीलाई आकाशतिर हुत्याएको र कम्तीमा चार जनालाई चक्काले किचेको रोयटर्सले जनाएको छ । 

भीडतर्फ अनियन्त्रित बन्दै अघि बढेको कार रोकिएपछि लिभरपुर समर्थकहरुले कारका सिसा तोडफोड गरेका थिए । प्रहरीले घटनास्थलमा घाइते २० जनाको उपचार गरिएको र २७ जनालाई अस्पताल लगिएको जनाएको छ ।

लिभरपुल सिटी मेट्रोका मेयर स्टीभ रोथ्रेमले बीबीसीसँग कुरा गर्दै अझै पनि चार जना अत्यन्तै गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइरहेको बताएका छन् । बीबीसीले प्रहरीलाई उदृत गर्दै कार चालक ५३ वर्षीय बेलायती नागिरकलाई पक्राउ गरिएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully