बागलुङ — बागलुङ नगरपालिका-३ का तीर्थ पौडेल नगरपालिकाको सरसफाइ शाखामा फोहोर संकलनको काम गर्थे। नगरपालिकाबाट उपदान पाएको झन्डै ३५ लाख रुपैयाँ इमेज बचत तथा ऋण सहकारीमा राखेका थिए। उक्त पैसाको १८ प्रतिशत व्याज आउने आस थियो ।
दुई चार महिना व्याज पनि खाए । तर २०७९ वैशाख ६ गते तरलता अभाव भन्दै सहकारीको गेटमा ताला लागेपछि उनको होस् हवास उड्यो। आफ्नो जीवनभरको दुःख गरेको पैसा सबै डुब्यो । दुई वर्षदेखि पीडितले बचत फिर्ताको माग गर्दै आन्दोलन गरे।
त्यही आन्दोलनमा उनी पनि पछि-पछि हिँड्थे। पीडितले डेढ अर्ब बचत ठगी भएको विषयमा राज्यको ध्यानाकर्षण गराइरहे। १ हजार ५ सय ४७ जना पीडितले सहकारी ठगीको मुद्दा समेत दर्ता गरे । सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पक्राउ परे।
उनी गत असोजदेखि जिल्ला कारागारमा छन्। उनी पक्राउ नपरुन्जेल धेरैलाई रकम फिर्ता पाउने आस थियो । तर उनी जेल परेपछि भने त्यही आशा पनि झन् निराशामा परिणत भएको छ। अदालतको आदेशले अध्यक्ष नेपालीसहित सहकारीका सबै सञ्चालक कारागार चलान भएका छन्। तर अब पीडितको ठगिएको रकम के हुने भन्ने अन्योल छ। उनीहरू ठगिएको रकम कहिले पाइन्छ ? भन्दै कौतुहलता लिएर हिडिरहेका छन्।
जीवनभर फोहोरमा काम गरेका पौडेल अहिले पैसा डुबाएर फेरि चिन्तामा डुबेका छन्। ‘बुढेसकालमा मिठो मसिनो खाएर खुसी हुने बेलामा दुःख र पिर मात्रै बोक्नु परेको छ,’ उनले भने, ‘हामीलाई न्याय कहिले मिल्ला ?’ बिरामी भएर उपचार गर्न पनि पैसा नभएको उनले गुनासो गरे। नेपाली जेल परेर मात्र न्याय नहुने उनले बताए । बरु ठगिएको रकम फिर्ता पाए मात्र न्याय हुने पीडितको भनाइ छ ।
बागलुङकै हरिशंकर रोडमा प्लास्टिकका सामाग्रीको पसल गरेका कृष्ण र सरिता कँडेल अहिले आफ्नो पैसा सम्झेर रुन्छन्। व्यवसाय घटेको बेला आफ्नो कमाएको पैसा जति सबै डुबेको सरिताले गुनासो गरिन् । सरिताले जीवनभर व्यवसायबाट कमाएको २ करोड रुपैयाँ सहकारीमा जम्मा गरेकी थिइन्। त्यतिले नभएर बहिनीको पैसा समेत ल्याएर आकर्षक व्याजको आसमा जम्मा गराएकी थिइन्। यो पैसा डुबेपछि उनीहरूको अवस्था पनि कमजोर बनेको छ।
आर्थिक रूपमा समस्या त भोगेकै छन्, सरिता शारीरिक र मानसिक रूपमा पनि समस्यामा छिन् । 'रातमा निद्रा लाग्दैन, दिनमा भोक लाग्दैन,' उनी भन्छिन्। सहकारी पीडितहरूको रकम फिर्ता गराउन सकिन्छ की भन्दै उनी दुई वर्षदेखि सडक सङ्घर्षमा होमिएकी छिन् उनी।
‘हामीलाई कानुनी न्यायले पुग्दैन, राहत चाहिएको छ’ उनले भनिन्, ‘देवकुमार जतिवर्ष जेल बसे पनि हाम्रो पैसा फिर्ता आएन भने हामीलाई के न्याय भयो र?’ त्यसका लागि कानुन व्यवसायी, न्यायाधीश समेतले आफूहरूको पीडा बुझ्नुपर्ने उनी बताउँछिन्। अधिकांश बचतकर्ताले व्याज नखोजेको, बरु कुल बचतको पनि ८० प्रतिशतसम्म भए पनि फिर्ता चाहेको उनले बताइन् ।
कानुनअनुसार ठगी मुद्दामा बिगो रकम तिर्ने र केही वर्ष जेल बस्नुपर्ने प्रावधान छ । तर पीडितलाई त्यसले न्याय नहुने उनले बताइन् । पीडितलाई न्याय दिलाउन बचत रकम फिर्ता हुनुपर्ने पीडितहरूको माग छ । ५ सय ४५ जना बचतकर्ताले सहमति गरेपछि नेपालीको तर्फबाट तीन महिना अघि १ लाख भन्दा थोरै बचत गरेकाहरूको रकम फिर्ता गरिएको छ ।
घरसारमा रकम पाएको सहमतिपछि उनीहरूले मुद्दा फिर्ता लिएका थिए । ‘हर्नेस कम्पनी’बाट ऋण ल्याएर इमेज सहकारी पीडित संघर्ष समितिले १ लाख रुपैयाँ भन्दा कम रकम बचत गरेकाहरूलाई फिर्ता गराएको समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताए । अधिवक्ता राम शर्माले पीडितको रकम फिर्ता गराउन सहमतिको नयाँ विकल्प ल्याएको बताए ।
‘मेलमिलाप भयो भने नेपाली निस्केर जायजेथा बेचेर रकम चुक्ता गर्न सक्छन्,’ शर्माले भने, ‘उनी जेलमै बसेर पीडितले रकम पाउने बाटो खुल्दैन ।’ उनका अनुसर १ हजार ४ सय ६२ जनाले बिना रकम मेलमिलाप गरेका छन् । उनीहरूले घरसारमा रकम पाउने गरी मिलापत्र गराएका हुन् । सहकारी ठगी मुद्दा चलेकोले सबै जाहेरवालाले फिर्ता नगरेसम्म नेपाली जेलमुक्त हुन भने नमिल्ने उनले बताए ।
२०७९ जेठ ४ गतेदेखि बेपत्ता भएका नेपालीलाई २०८० असोजमा प्रहरीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो। जिल्ला अदालतको आदेशले उनी पुर्पक्षका लागि थुनामा छन् । पोखरास्थित सूर्य दर्शन सहकारीको हकमा भने अदालतले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ। नेपालीलाई इमेज सहकारीमा मात्रै एक अर्ब ५४ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।
उक्त सहकारीको बागलुङ, गलकोट, बुर्तिवाङ र पोखरामा गरी १ अर्ब ५४ करोड रुपैयाँ रकम हिनामिना भएको सहकारी रजिस्ट्रार कार्यालय पोखराको प्रारम्भिक अनुसन्धानमा पनि खुलेको थियो । त्यस बाहेक नेपालीले बागलुङमै रहेको सहकारी बैंक, गरिमा विकास बैंक र ग्लोबल आइएमई बैंक समेतबाट ३५ करोड रुपैयाँ ऋण समेत लगेको भेटिएको छ।
सहकारी ठगीकै मुद्दामा इमेजका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
